Prakash Adhikari August 13, 2026
  • शकील अख्तर
    बीबीसी उर्दू, बोधगया, बिहार

२८ साउन । भारतको बिहार राज्यमा रहेको महाबोधि मन्दिर विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र स्थानहरूमध्ये एक हो। बौद्ध शिक्षाअनुसार बुद्धले यहीँबाट आध्यात्मिक ज्ञान प्राप्त गरेका थिए र यहीँबाट बौद्ध धर्मको जरा गाडिएको थियो ।

तर अहिले बौद्धमार्गीहरूको यो पवित्र स्थान विवादमा परेको छ । मन्दिरको व्यवस्थापन हिन्दूहरूको बाहुल्य भएको समितिद्वारा गरिन्छ।

भारतमा बौद्ध धर्मावलम्बीहरू हिन्दूहरूबाट यस मन्दिरको प्रशासन पूर्ण रूपमा आफ्नो हातमा आओस् भन्ने चाहन्छन्। तर अर्कातर्फ हिन्दूहरूले बुद्धको महाबोधि मन्दिरमा आफ्नो पनि हक लाग्ने दाबी गर्ने गरेका छन् ।

भारतका हजारौँ बौद्धमार्गीहरूले यस विषयमा देशभरि विरोध प्रदर्शन गरिरहेका छन्।

महाबोधि मन्दिरभन्दा अलि टाढा नै धेरै मानिस विगत डेढ वर्षदेखि धर्नामा बसिरहेका छन्। उनीहरू बोधगया ऐन -बीटीए_ खारेज गर्न र मन्दिरलाई पूर्ण प्रशासनिक अधिकार दिन माग गर्छन्।

सन् १९४९ को ऐनअन्तर्गत महाबोधि मन्दिरको व्यवस्थापनका लागि एउटा समिति गठन गरिएको थियो। यसमा चार सदस्य बौद्ध र चार हिन्दू धर्मावलम्बी थिए।

यसको नेतृत्व जिल्ला मजिस्ट्रेटहरूद्वारा गरिन्छ, जो सामान्यतया हिन्दुहरू हुन्छन्। यी सदस्यहरू सरकारद्वारा मनोनीत हुन्छन् र उनीहरूको कार्यकाल तीन वर्षको हुन्छ। परिणामस्वरूप, समिति हिन्दूहरूको नियन्त्रणमा रहेको बौद्ध धर्मावलम्बीहरूले बताएका छन्।

समितिका सचिव रहेका भन्ते प्रज्ञाशील आठ वर्षदेखि मन्दिरका प्रमुख भिक्षु हुन्।

बोधि विहार बौद्धमार्गीको धरोहर भएको उनको भनाइ छ।

“सारा विश्वलाई यो ठाउँ बौद्धमार्गीको हो भन्ने थाहा छ। अहिलेसम्म कसैले पनि यो बौद्ध मन्दिर होइन, भनेका छैनन्। हामी यसलाई बौद्धमार्गीहरूले व्यवस्थापन गर्न चाहन्छौँ,” उनले भने।

“जोकोही पनि इमानदार मुख्यमन्त्री वा प्रधानमन्त्रीले संविधानअनुसार न्याय गर्नैपर्छ। जुन कुरा जोसँग सम्बन्धित छ, उसैलाई दिनुपर्छ। आज, भोलि वा पर्सि, जहिले दिए पनि उनीहरूले दिनैपर्नेछ। यो बेइमानी निरन्तर रहन सक्दैन।”

यो मन्दिरको इतिहास कति पुरानो हो?

बिहार राज्यको राजधानी पटनाबाट लगभग १०० किलोमिटर टाढा रहेको यो मन्दिर पाँचौँ र छैटौँ शताब्दीमा निर्माण गरिएको थियो। विभिन्न शासकहरूको शासनकालमा यसको जीर्णोद्धार र विस्तार गरिएको थियो।

इसापूर्व तेस्रो शताब्दीमा सम्राट् अशोकको शासनकालमा धेरै स्तूप र बौद्ध मन्दिरहरू निर्माण गरिएका थिए। तर यो मन्दिरको सबैभन्दा महत्त्वपूर्ण पक्ष मन्दिरसँगै जोडिएको पिपलको रूख हो, जसलाई गौतम बुद्धले पूजा गर्थे र यहीँबाट उनले आध्यात्मिक ज्ञान पाएका थिए।

सम्राट् अशोकले आफ्ना प्रारम्भिक वर्षहरूमा बौद्ध धर्म अपनाए र पछि बौद्ध धर्मको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेले।

त्यहाँ पाली भाषामा लेखिएको शिलालेखअनुसार अशोकले आफ्नो शासनको दशौँ वर्ष इसापूर्व २५९ मा बोधगयाको भ्रमण गरेका थिए। उनीहरूले पिपलको रूखमुनि सिंहासन बनाएका थिए र त्यसको वरिपरि ढुङ्गाको बार पनि बनाएका थिए। त्यहाँ एउटा ठूलो स्तूप पनि बनाइएको थियो।

अशोकले आफ्ना छोरा महेन्द्र र छोरी सङ्घमित्रलाई बौद्ध धर्मको प्रचार गर्न श्रीलङ्का पठाए। सङ्घमित्रले पिपलको रूखको हाँगा पनि श्रीलङ्का लगेकी थिइन्।

सातौँ शताब्दीको सुरुमा बङ्गालका एक हिन्दू राजा शशाङ्कले बोधगयाको पिपलको रूख उखेलेका बताइन्छ।

केही बौद्ध परम्पराअनुसार काटिएको रूखको ठाउँमा पछि श्रीलङ्काबाट एउटा हाँगा ल्याइएको थियो।

महाबोधि विहार अहिले संसारभरिका लाखौँ बौद्ध मार्गीहरूका लागि पवित्र स्थानहरूमध्ये एक हो। यद्यपि यहाँ थुप्रै हिन्दू मन्दिरहरू पनि बनेका छन्।

यहाँ हिन्दूको प्रभुत्व कसरी स्थापित भयो?

प्राचीन पाली र प्राकृत भाषाका विज्ञ तथा इतिहास र संस्कृतिका विद्वान् डाक्टर राजेन्द्रप्रसाद सिंहका अनुसार १० औँ र ११ औँ शताब्दीमा यो क्षेत्रमा हिन्दू धर्मको पुन:प्रभुत्व बढ्दै गयो।

“बौद्ध धर्म बिस्तारै खस्किँदै गयो र बौद्ध भिक्षुहरूले यो स्थान छोड्दै गए। लामो समयसम्म बुद्ध मन्दिर सुनसान रह्यो र समय बित्दै जाँदा यो झाडी र जङ्गलले भरिन पुग्यो।”

डाक्टर राजेन्द्र सिंहले भने, “एक हिन्दू भिक्षु घमण्डी गिरिले सन् १५९० मा बौद्ध मन्दिरनजिकै एउटा हिन्दू मन्दिर निर्माण गरेका थिए, जुन आज पनि त्यहीँ छ।

“पछि धेरै हिन्दू मन्दिरहरू बनाइए र तिनमा पूजा गरियो,” उनले भने।

केही मन्दिरमा बुद्धको मूर्तिलाई पनि हिन्दू देवता भनी व्याख्या गरिएको छ।

उन्नाइसौँ शताब्दीमा ब्रिटिश शासनकालमा बौद्ध मन्दिरको जीर्णोद्धार गरिएको थियो। त्यस बेला महाबोधि मन्दिर र यसको वरपरका स्तूपहरूको मर्मत गरिएको थियो।

तर समय बित्दै जाँदा बौद्ध मन्दिर परिसरमा रहेका हिन्दू मन्दिरका महन्तहरूले पनि व्यवस्थापनमा हकदाबी गरे र विवाद फेरि बढ्यो।

यो विवाद सुल्झाउन बिहार विधानसभाले सन् १९४९ मा बोधगया मन्दिर ऐन लागू गरेको थियो। यो ऐनअन्तर्गत पूजाका लागि व्यवस्थापन समितिले एक आधिकारिक हिन्दू पुजारी पनि नियुक्त गरेको थियो।

मूल बुद्ध मन्दिरको अगाडि भत्किएको स्तम्भ भएको ठाउँमा बुद्धको मूर्ति रहेको छ भने त्यही ठाउँलाई अहिले हिन्दू देवता शिवको स्थान भनिएको छ।

बौद्ध धर्मावलम्बीहरूले बुद्धको पवित्र स्थलमा हिन्दू देवीदेवताका मन्दिरहरूको प्रभुत्व हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

धर्नामा बसेका सङ्घरत्न भिक्षुले बौद्ध मन्दिरभित्र एउटा सानो खाल्डो रहेको बताए।

“हिन्दूहरूले यसलाई हिन्दू देवता शिव भन्छन्। यो चिन्ता केवल हाम्रा लागि होइन, बरु पूरै धर्मका लागि हो। बुद्ध धर्मावलम्बीहरूको चासो बढेको छ। बुद्धको मूर्ति हटाएर हिन्दू देवता विष्णुको मूर्ति स्थापना गरिँदै छ।”

‘बुद्धसँगै शिवको पनि पूजा भइरहेको छ’

बोधगयाका प्रमुख महन्त विवेकानन्द गिरि बौद्ध मन्दिरलाई पूर्ण नियन्त्रणमा लिने बौद्धमार्गीहरूमाथिको अभियानको कुनै अर्थ नभएको बताउँछन्।

उनले व्यवस्थापन समितिका हिन्दू सदस्यहरू पनि बुद्धका अनुयायी भएको र बुद्ध मन्दिरभित्र शिवपूजाको कुरा गर्दा बुद्धभन्दा पहिलेदेखि नै यो पूजा हुँदै आएको बताए।

“सम्राट् अशोकको पालादेखि वा त्योभन्दा पहिले नै यहाँ भगवान् बुद्धको पूजा हुँदै आएको कुरामा हामीलाई कुनै शङ्का छैन। भगवान् बुद्धसँगै यहाँ सुरुदेखि नै भगवान् शिवको पूजा हुँदै आएको छ। यदि तपाईँ धार्मिक पुस्तकहरूमा हेर्नुहुन्छ भने तपाईँले पाँचौँ र छैटौँ शताब्दीमा यसको बारेमा धेरै प्रमाणहरू पाउनुहुने छ।”

“यी प्रमाणका अनुसार यो मन्दिरमा भगवान् शिवको पूजा हुँदै आएको छ। हालै बौद्ध गुम्बालाई बक्तियार खिल्जीले ध्वस्त पारेका हुन्। बाह्रौँ शताब्दीपछि यहाँको हिन्दू समाज र बोधगया मठका महन्तले यसको रेखदेख गर्न थालेपछि भगवान् बुद्ध र भगवान् शिवको समान पूजा हुन थाल्यो।”

भन्ते प्रज्ञाशील आठ वर्षदेखि मन्दिरका प्रमुख भिक्षु हुन्। बौद्ध विहार विश्वभरिका बौद्ध धर्मावलम्बीको धरोहर भएको उनको भनाइ छ।

“बुद्ध धर्मावलम्बीको सबैभन्दा पवित्र स्थान बौद्ध धर्मलाई नदिनु ठूलो अन्याय हुने छ।”

सरकार के भन्छ?

बिहारको अल्पसङ्ख्यक मामिला तथा संस्कृतिमन्त्री जमान खानले बीबीसीसँग बोल्दै भने, “आन्दोलन र विरोध आफ्नै ठाउँमा छन् तर म यस विषयमा कुरा गर्न तयार छु। उनीहरूको मेरो विभागसँगको कुनै पनि काम रोकिने छैन। यदि ठूलै कुरा छ वा हामी यो पार लगाउन सक्दैनौँ भन्ने मलाई लाग्यो भने हामी हाम्रा मुख्यमन्त्रीसँग कुरा गर्छौँ।”

बौद्ध आन्दोलनका नेता करुणा करणले सरकारसँग थुप्रै पटक विगतमा वार्ता भएको तर अहिलेसम्म कुनै प्रगति नभएको बताए।

“हाम्रा प्रतिनिधिहरूले थुप्रै पटक भेट गरिसकेका छन्। बिहार सरकारलाई अनुरोध पनि बुझाइसकिएको छ।”

उनले बोधि विहारलाई स्वतन्त्रता नदिइएसम्म विरोध र आन्दोलन जारी रहने बताए।

‘हामी कुनै धर्मविरोधी होइनौँ’

भारतमा थुप्रै बौद्ध सङ्गठनहरूले महाबोधि महाविहार मुक्ति आन्दोलन नामक अभियान विगत डेढ वर्षदेखि देशभरि चलाइरहेका छन्। दिल्लीसहितका भारतीय सहरहरूमा विभिन्न खाले कार्यक्रम भइराखेका छन्।

उक्त आन्दोलनको नेतृत्व अल इन्डिया बुद्धिस्ट फोरमका प्रमुख डाक्टर आकाश लामाले गरिरहेका छन्।

अगस्ट १० तारिखमा दिल्लीको जन्तरमन्तरनजिकै भएका प्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, “हामी अब थप दबिन सक्दैनौँ, हामी कुनै धर्मविरुद्ध छैनौँ।”

‘सम्राट् अशोकले बनाएको हाम्रो पवित्र भूमि जहाँ बुद्धले बुद्धत्व प्राप्त गरेका थिए, बोधगयामा अन्य धर्महरूले के गरिरहेका छन्? यदि तपाईँको यो सोच हो भने अयोध्यामा भएको राममन्दिरमा किन बुद्धको मूर्ति छैन?’

उनले सन् १९४९ को बोधगया ऐन असंवैधानिक भएको दाबी गर्दै यो खारेज भएको घोषणा गर्नुपर्ने माग गरेका छन्।

दिल्लीपछि अगस्ट २३ तारिखमा पटनामा धर्नाको कार्यक्रम हुने छ।

भारतको सर्वोच्च अदालतमा बोधि विहार व्यवस्थापन समितिमा बौद्ध प्रतिनिधित्वको प्रश्नमा पनि एउटा निवेदन विचाराधीन रहेको छ।

बौद्ध समुदाय भारतको एउटा सानो समुदाय हो।

भारतमा करिब ९० लाख मानिसहरू यो समुदायमा पर्छन्। यो भनेको देशकै जनसङ्ख्याको एक प्रतिशतभन्दा कम हो।

Share Now