काठमाडौं, २९ साउन । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतबाट न्याय पाउने कुरामा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
शुक्रबारबाट सुरु भएको पार्टीको नियमित महाधिवेशन तथा वृहत्तर एकता पक्षीय नेता तथा कार्यकर्ताहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।
‘अहिले लामो इतिहास बोकेको नेपाली कांग्रेस पार्टीभित्र चरम विवाद बढेको छ । विशेष महाधिवेशनको नाममा पार्टीलाई कमजोर बनाउनेगरी विधि, विधान र पद्धति मिच्ने काम भएको छ,’ नेता देउवाले भन्नुभयो, ‘यो विषय सर्वोच्च अदालतबाट पुनरावलोकनको अवस्थामा रहेकाले थप टिप्पणी गर्न चाहन्नँ । तर सर्वोच्च अदालतबाट हामीलाई न्याय हुने कुरामा म पूर्ण विश्वस्त छु ।’
नेता देउवाले आफूले विद्यार्थी कालदेखि नै अदालतको न्याय पाएको पनि उल्लेख गर्नुभयो ।
उहाँले आफूले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई प्रजातन्त्रको खिलाफमा आफू जान नसक्ने भन्दै चुनौती दिएको पनि खुलासा गर्नुभयो।
उहाँले तात्कालीन राजाको इच्छा अनुरुप आफू प्रजातन्त्रको खिलाफमा नगएपछि जेल हालिएको बताउनुभयो।
‘पूर्वराजा ज्ञानेन्द्रका धेरै कुरा आएको छ। मैले भनेकै हो। सरकार हुकुम मान्न तयार छु। म प्रजातन्त्रको खिलाफमा जान सक्दिन भनेकै हो। त्यसपछि मलाई जेल हाल्यो,’ तात्कालीन प्रधानमन्त्री समेत रहनुभएका देउवाले भन्नुभयो, ‘त्यति बेला मलाई न्यायालयले जिताएको हो। मलाई न्यायालयप्रति अटुट विश्वास छ।अहिले पनि अदालतबाट न्याय पाउँछु भन्ने विश्वास छ। ’








