काठमाडौं, ३ भाद्र। कालिकोट जिल्ला भएर बग्ने तिला नदीमा बन्ने ४४० मेगावाट क्षमताको ‘तिला–१’ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भएको छ ।
एससी पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यस आयोजनामा एनएमबी बैंकको नेतृत्वमा विभिन्न वाणिज्य तथा विकास बैंकहरूले ऋण लगानी गर्ने सम्झौता भएको छ ।
एनएमबी बैंकको अगुवाइमा भएको यस वित्तीय व्यवस्थापनमा ग्लोबल आईएमई, प्रभु र हिमालयन बैंकले सहनेतृत्व गरेकाछन् । परियोजनामा नबिल, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एनआईसी एसिया र कृषि विकास बैंक तथा ज्योति विकास बैंक, सांग्रिला विकास बैंक, मुक्तिनाथ विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र आईसीएफसी फाइनान्सले पनि यसमा सहवित्तीयकरण अन्तरगत ऋण लगानी गर्ने भएका छन्।
मंगलबार होटल र्याडिसनमा भएको वित्तीय व्यवस्थापन संझौतामा हस्ताक्षर गर्ने कार्यक्रममा दिइएको जानकारी अनुसार यो आयोजनामा
एनएमबी बैंकले १० अर्ब, ग्लोबल आईएमई बैंकले ७ अर्ब, प्रभु बैंकले ७ अर्ब, हिमालयन बैंकले ७ अर्ब, नबिल बैंकले ३ अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २ अर्ब,कृषि विकास बैंकले १ अर्ब ५० करोड, मुक्तिनाथ विकास बैंकले १ अर्ब ५० करोड,
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब ५० करोड, सांग्रिला डेभलपमेन्ट बैंकले १ अर्ब २५ करोड, ज्योति विकास बैंकले १ अर्ब, एनआईसी एसिया बैंकले १ अर्ब र आईसीएफसी फाइनान्सले ८० करोड रुपैया लगानी गर्नेछन् ।
आयोजनाको कुल क्षमता ४४० मेगावाट भए पनि हाल नेपाल विद्युत् प्राधिकरणसँग २९८.७५ मेगावाटका लागि मात्र विद्युत् खरिद सम्झौता (पीपीए) भएकोले त्यतिका लागि आवश्यक लगानी सुनिश्चित गरिएको हो ।
यद्यपि जलविद्यु्त आयोजनाका इलेक्ट्रोमेकानिकल बाहेक अन्य पूर्वाधार ४ सय ४० मेगावाट क्षमताकै लागि बन्नेछ । आयोजनाको प्रबर्धक कम्पनीले आयोजनाको क्षमता अभिवृद्धिको प्रक्रिया सुरुगरिसकिएको बताएको छ ।
यो आयोजनामा २९८ मेगावाट निर्माणका लागि मात्रै करिब ५९ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाको कुल ४ सय ४० मेगावाट नै निर्माण गर्दा भने करिब ७० अर्ब रुपैयाँ लागत लाग्ने छ । यसमा प्रवर्द्धकहरूले १४ अर्ब रुपैयाँभन्दा बढी स्वपुँजी (इक्विटी) लगानी गर्नेछन् भने बाँकी रकम बैंक ऋणबाट जुटाइनेछ ।
हाल ५९ अर्ब ४० करोड रूपैयाँमध्ये बैंकहरूले ४४ अर्ब ५५ करोड रूपैयाँ लगानी सुनिश्चित गरेका छन् ।
विद्युत् विकास विभागले २०७५ भदौ ८ गते नै यस आयोजनाका लागि अनुमतिपत्र (लाइसेन्स) जारी गरेको थियो ।
एक दिन अगाडि मात्रै ४२० मेगावाट क्षमताको तिला–२ जलविद्युत आयोजनाका लागि लगानी सुनिश्चित भएको थियो । ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्द्धित यस आयोजनाका लागि एभरेष्ट बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबीच लगानी सम्झौता (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो ।
तिला २ को कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ रहने अनुमान गरिएको छ । जसमध्ये कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूबाट ऋणका रूपमा जुटाइनेछ ।
सो सहवित्तीयकरणमा एभरेष्ट बैंक मुख्य नेतृत्वकर्ता रहेको छ । तिला–२ जलविद्युत आयोजना अर्धजलाशययुक्त प्रकृतिमा निर्माण हुनेछ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा बाँध निर्माण गरिनेछ भने खाँडाचक्र नगरपालिकामा विद्युत गृह रहनेछ ।
आयोजनाबाट वार्षिक कुल २३१८.७९ गिगावाट आवर विद्युत उत्पादन हुनेछ । आयोजनाले २०७५ भदौ ७ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरेको छ । त्यस्तै, नेपाल विद्युत प्राधिकरणसँग २०८१ कात्तिक ७ गते विद्युत खरिद(बिक्री सम्झौता समेत सम्पन्न भइसकेको छ ।
तिला २ को मुख्य प्रबर्द्धकहरूमा स्ट्रीम इन्भेष्टमेन्ट, ऊर्जा इम्प्याक्ट फण्ड, रबिन्स यूएसए लगायतका विभिन्न संस्थागत तथा व्यक्तिगत लगानीकर्ताहरू रहेका छन् ।








