Prakash Adhikari August 25, 2026
  • सञ्जय ढकाल
    बीबीसी न्यूज नेपाली

काठमाडौं, ९ भाद्र । आम चुनावबाट स्पष्ट बहुमतको जनमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा गत चैत १३ गते नयाँ सरकार गठन हुनुभन्दा अघिल्लो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक २९५० रहेको थियो।

चुनाव भएको झन्डै छ महिना अनि बालेन सरकार बनेको झन्डै पाँच महिना पुग्दै गर्दा सोमवार उक्त परिसूचक २५९३ मा ओर्लिएको छ। देशको वित्तीय अर्थतन्त्रको सूचक (ब्यारोमिटर) पनि भनिने नेप्से परिसूचकले यो अवधिमा बजार पुँजीकरणको मूल्यमा ६ खर्ब रुपैयाँभन्दा धेरै गुमाइसकेको छ।

लगानीकर्ता तथा जानकारहरू यसलाई सरकारको नीति तथा कार्यशैलीप्रति ‘रातो बत्ती’ देखाइएको रूपमा बुझ्नुपर्ने बताउँछन्।

उतारचढावका पाँच महिना

देशको एकमात्र स्टक एक्सचेन्ज नेप्से केही वर्ष यतादेखि नै सुस्ताइरहेको थियो।

विसं २०७८ सालको भदौ २ गते नेप्से हालसम्मकै उच्च बिन्दु ३१९८ सम्म पुगेको थियो।

तर त्योभन्दा माथि उक्लन त परै जाओस्, अचेल नेप्से लगातार ओरालो लागिरहेको देखिन्छ।

बालेन सरकारले सत्ता सम्हालेको बेला नेप्सेको बजार पुँजीकरण वा उक्त एक्सचेन्जमा सूचीकृत सबै शेअरको कुल मूल्य ५० खर्ब रुपैयाँ नाघेको थियो।

तर सोमवार उक्त मूल्य ४४ खर्बजतिमा ओर्लियो।

यो अवधिमा परिसूचक ३५६.८५ अङ्कले घटिसकेको देखिन्छ।

गत वर्षको जेन जी आन्दोलन र विध्वंसका कारण खस्किएको निजी क्षेत्र तथा लगानीकर्ताको मनोबल अझै उस्तै रहेको जानकारहरूले बताएका छन्। गत वर्षको भदौ २४ गते नेप्से परिसूचक २६७२ थियो। दश दिनपश्चात् शेअर बजार खुल्दा एकै दिन १६० अङ्कले परिसूचक घटेको थियो।

नयाँ सरकार आएपछि परिसूचकमा सुधार आउने ठानिए पनि अहिले यत्रो ठूलो परिमाणमा परिसूचक घट्नुलाई जानकारहरूले लगानीकर्ताहरूमा पलाउन नसकेको विश्वासलाई कारण मान्छन्।

के भन्छन् लगानीकर्ता?

“अहिले लगानीकर्ताहरूमाझ आत्मविश्वास नै छैन,ू शेअर लगानीकर्ता गोपीकृष्ण थापाले बताउनुभयो।

“अहिले ब्याङ्कमा १४ खर्ब रुपैयाँको हाराहारीमा रकम थुप्रिएको छ। इतिहासकै सस्तो ब्याजदर छ। सर्सर्ती हेर्दा हाम्रो शेअर बजार अहिले ४०००-५००० अङ्कमा पुग्नुपर्ने थियो। तर दुर्भाग्य नै भनौँ सरकारले परिपक्व काम गर्न सकेन”, थापाले बताउनुभयो।

नेपाल पुँजीबजार लगानीकर्ता सङ्घकी अध्यक्ष राधा पोखरेल पनि अहिलेको परिस्थितिबाट चिन्तित हुनुहुन्छ।

“आश्वासनले मात्र चल्दैन। कुनै ठोस सुधार र स्थायित्व भएन। नीतिगत स्पष्टता पनि छैन”, उहाँले वर्तमान अवस्थाको चित्रण गर्दै भन्नुभयो।

बजेटले पुँजीगत लाभ कर बढाइदिएको विषयलाई पनि उहाँले एउटा कारण रहेको बताउनुभयो।

“यति धेरै तरलता भए पनि उद्योगधन्दा विस्तार हुन सकेको छैन। त्यसले समग्र अर्थतन्त्रलाई असर पारेको छ। अर्थतन्त्रलाई असर पर्नु भनेकै पुँजीबजारलाई असर गर्नु हो”, पोखरेलले बताउनुभयो, “सरकारको नीति प्रभावकारी भएको भएदेखि उद्योगधन्दा फस्टाउँथे अनि पुँजीबजार पनि बलियो हुन्थ्यो।”

लगानीकर्ताका एक प्रतिनिधि थापा सरकारले लगालग व्यवसायीहरूलाई पक्राउ गरेका कारण पनि अहिले नेप्सेमा गिरावट देखिएको ठान्नुहुन्छ।

“सम्पत्ति शुद्धीकरणको विषयमा व्यापारीहरूलाई थुन्ने कामले गर्दा ठूला लगानीकर्ता बिच्किएको देखिन्छ। हाम्रो पुँजीबजारलाई तिनै ठूला लगानीकर्ताहरूले चलायमान गर्थे। ठूला लगानीकर्ता हच्किएको बेला साना लगानीकर्ता पनि डराएका हुन्छन्”, उहाँले भन्नुभयो “यस्तो विषयमा सरकारले अलि परिपक्व किसिमले काम गर्नुपर्थ्यो।”

शेअर बजार निरन्तर ‌ओरालो लागिरहँदा प्रधानमन्त्री शाहले करिब एक महिनाअगाडि आफ्नो कार्यालयमा शेअर बजारका मुख्य सरोकारवालाहरूलाई डाकेर छलफल गर्नुभएको थियो।

साउन ४ गते भएको उक्त छलफलपश्चात् प्रधानमन्त्रीको सचिवालयले लामो विज्ञप्ति समेत जारी गरेको थियो। त्यसमा ‘प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजीबजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पार्नुभएको’उल्लेख थियो।

प्रधानमन्त्रीले पुँजीबजारमार्फत् उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य सरकारको मुख्य प्राथमिकतामा रहेको बताएको त्यसमा उल्लेख थियो।

उहाँले व्यवसायीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै नेपालको पुँजी बजारलाई व्यावसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिनुभएको थियो।’राम्रो काम गर्नेलाई सरकारले सधैँ प्रोत्साहन गर्ने तर गल्ती गर्नेहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने’ उहाँले बताउनुभएको थियो।

गिरावटले दिएका तीन सङ्केत

अर्थविद् प्राध्यापक रामप्रसाद ज्ञवाली अहिले नेप्सेमा देखिएको गिरावटले तीन वटा सङ्केत दिइरहेको ठान्नुहुन्छ।

“मुख्य कुरा त, ब्याङ्कहरूमा अधिक तरलता र ऐतिहासिक स्तरमै सस्तो ब्याजदर हुँदा पनि कर्जा प्रवाह हुन सकेको छैन। त्यसले व्यवसायीहरूमा आत्मविश्वास गुमेको देखाउँछ”, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागका पूर्वप्रमुखसमेत रहेका प्राध्यापक ज्ञवालीले भन्नुभयो।

“दोस्रो चाहिँ, वर्तमान सरकारप्रति समेत व्यवसायीहरूको खासै विश्वास नरहेको सङ्केत यसले दिन्छ।”

“अनि, नयाँ पुस्ताका व्यवसायीहरू देशै छाडेर बाहिर जाँदै छन् भन्ने हल्ला सुनिन्छ। भएका शेअरहरू बेचबिखन गर्ने अनि आफूहरू चाहिँ बाहिरै लगानी गर्ने तयारी हो कि भन्ने लाग्छ।”

नेपालको शेअर बजारले समग्र अर्थतन्त्रको यथार्थ चित्र प्रस्तुत गर्न नसके पनि वित्तीय क्षेत्रको केही छनक भने यसले दिने प्राध्यापक ज्ञवाली बताउनुहुन्छ।

“यहाँ सीमित क्षेत्रका सीमित व्यक्तिले बजार चलायमान गराएको देखिन्छ। तथापि वित्तीय बजारको भने यो एक प्रमुख परिसूचक हो नै।”

वित्तीय बजारको एउटा प्रमुख पाटो अनि निजी क्षेत्रको आत्मविश्वास झल्कने एउटा माध्यम पनि भएकाले नेप्सेको परिसूचकमा भइरहेको गिरावटलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उहाँले सुझाव दिनुभयो ।

हाल नेपालमा शेअर कारोबारका लागि लिइएका डिम्याट वा हितग्राही खाताको सङ्ख्या करिब ७० लाख रहेको धितोपत्र बोर्डको पछिल्लो वार्षिक प्रतिवेदनमा देखिन्छ। त्यस्तै धितोपत्र बजारमा अनलाइन कारोबारका निम्ति ‘यूजरनेम’ लिने लगानीकर्ताहरूको सङ्ख्या २८ लाख रहेको प्रतिवेदनमा उल्लेख छ।

तर सक्रिय रूपमा शेअर कारोबार गरिरहनेहरू भने ४-५ लाखको सङ्ख्यामा मात्र रहेको जानकारहरू बताउँछन्।

Share Now