काठमाडौं, १० भाद्र । नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आज रसुवाको भोटेकोशी र त्रिशुली खोलामा आएको बाढीबाट प्रभावित नागरिकहरुको खोजी र उद्धारमा जुट्न पार्टी कार्यकर्ताहरुलाई अनुरोध गर्नुभएको छ ।
आज बिहान चीनको सीमावर्ति क्षेत्रबाट रसुवागढी हुँदै नेपाल पसेको बाढीले रसुवा जिल्लाको टिम्बुरे लगायत त्रिशुल नदिका किनाराका बस्तीहरु, पुलहरु, जलविद्युत आयोजनाहरुमा ब्यापक क्षति पुर्याएको छ।
कांग्रेस नेता एवम् पूर्वप्रधानमन्त्री देउवाले त्यस क्षेत्रमा बसोबास गर्ने सबै दाजुभाइ तथा दिदिबहिनीहरुमा उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहनुहुन अनुरोध गर्नुभएको छ।
उहाँले रसुवादेखि नुवाकोट, धादिङ, चितवन लगायतका त्रिशूली नदी किनार क्षेत्रमा असर पुग्न सक्ने भएकाले समयमै सुरक्षित रहनुहुन अनुरोध गर्नुभएको छ । उहाँले राज्यका सम्पूर्ण सुरक्षा निकायहरूलाई द्रुत उद्धारमा परिचालन गर्न सरकारसंग पनि आग्रह गर्नुभएको छ।
नेता देउवाले यस विपत्तिमा नेपाली कांग्रेसका कार्यकर्तासहित सबै दलका पार्टी पंक्ति, युवा तथा नागरिक समाजलाई स्थानीय प्रशासनसँग समन्वय गरी आआफ्नो क्षेत्रमा उद्दारमा खटिनुहुन पनि अनुरोध गर्नुभएको छ।
मानवीयता देखाउन कार्यकर्तालाई अनुरोध
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले रसुवा बाढी प्रभावितको खोजी,उद्धार,उपचार र राहत तथा पुनस्थापनामा सहयोग पुर्याउन कार्यकर्ताहरुमा अपिल गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,” भोटेकोशी हुँदै त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन जिल्लाका नदी तटीय र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अपनाउनु आवश्यक छ । खोज, उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा अगाडि बढाउन नेपाल सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई अनुरोध गर्दछु।”
“संकटको यस घडीमा नागरिकको जीवन रक्षा नै सबैभन्दा ठूलो प्राथमिकता हो। संयमित, सचेत र सुरक्षित रहौँ। एकअर्कालाई सहयोग गरौँ र मानवीय एकताको परिचय दिऔँ”, नेता डा.कोइरालाले भन्नुभएको छ ।








