Prakash Adhikari August 26, 2026

काठमाडौं, १० भाद्र । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् र संकटका बेला सबै राजनीतिक दल एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

सानेपामा सुरु भएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकलाई सम्बोधन गर्दै सभापति थापाले विपद्को समयमा सरकारलाई सहयोग गर्नु कांग्रेसको परम्परा र स्वभाव नै रहेको बताउनुभयो ।

उहाँले विपद्को सामना गर्न सरकारले अघि बढाउने सबै काममा राजनीतिक दलहरूले सहयोग गर्नुपर्ने पनि बताउनुभयो ।

सभापति थापाले घटना भएलगत्तै कांग्रेसले सरकारसँग समन्वय गरेर उद्धार तथा राहतका काममा पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्नुभयो ।

‘घटना हुनासाथै तत्कालै पार्टीको तर्फबाट दलका नेता भीष्मराज आङ्देम्बे र प्रभावित क्षेत्रका सांसद मोहन आचार्यलगायतका साथीहरू सरकारले बोलाएको बैठकमा उपस्थित भएर पार्टीको तर्फबाट सरकारले गर्ने सम्पूर्ण काममा साथ र सहयोग रहन्छ भन्ने पार्टीको पोजिसन राखिसक्नुभएको छ,’ उहाँले भन्नुभयो ।

सभापति थापाले संकटको घडीमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर नागरिकको उद्धार र राहतलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उनले बाढी प्रभावितको उद्धार र राहतका लागि खटिनु पर्ने भएकाले सानेपामा पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरिएको पनि बताउनुभयो ।

‘आज हाम्रो ४ बजे प्रतिष्ठानको कार्यक्रम थियो । त्यो कार्यक्रम हामीले स्थगित गरेका छौं,’ उहाँले भन्नुभयो, ‘भोलि यहाँ महिला उद्यमीहरूको ठूलो सम्मेलन थियो । त्यो कार्यक्रम पनि हामीले स्थगित गरेका छौं ।’

उहाँले अबको केही दिन सबै ध्यान राहत र उद्धार हुने पनि बताउनुभयो।

Share Now