काठमाडौँ, १६ भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा पेर मृत्यु भएकामध्ये १ हजार ६८ जनाको शव फेला परेको छ । बाढीमा परी अझै ४ हजार ६ सय ६ जना सम्पर्कविहीन रहेका नेपाल प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार आजसम्म फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २ सय ३२ महिला, ३ सय ७१ पुरुष र ४ सय जना आंशिक अङ्गसहितका रहेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ४ सय ५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । नुवाकोटमा २ हजार ४ सय ६६, धादिङमा २ सय ६०, रसुवामा ३ सय ९८ र काठमाडौँमा ३ सय २९ जना होल्डिङ सेन्टरमा छन् ।
बाढीपछि उद्धार गरिएकामध्ये ३ हजार २ सय १४ पुरुष, एक हजार ५ सय ३० महिला र पहिचान नखुलेका १४ जना रहेका छन् । बाढीपछि उद्धार कार्यलाई तीव्र बनाइए पनि अझै मानिस सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवको व्यवस्थापनसमेत भइरहेको छ । हालसम्म ५८ वटा शव सम्बन्धित परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको छ । प्रवक्ता काफ्लेका अनुसार शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया पनि सँगसँगै अघि बढाइएको छ ।
सम्पर्कविहीनको विवरणमा २ हजार ३ सय १५ स्वदेशी पुरुष, ३ सय ६८ स्वदेशी महिला, २ सय ५१ विदेशी पुरुष, ३ सय ३० विदेशी महिला, अन्य दुई तथा फोनबाट टिपाइएका १ हजार ३ सय ४० गरी ४ हजार ६सय ६ जना रहेका प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिनुभयो ।
बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, शव व्यवस्थापन तथा सम्पर्कविहीनको विवरण सङ्कलनलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ । भोटेकोशीमा आएको आकस्मिक बाढीबाट रसुवासहित नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीपछि विभिन्न सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायको समन्वयमा उद्धार, राहत तथा प्रभावितको व्यवस्थापन कार्य सञ्चालन भइरहेको छ ।