काठमाडौँ, १८ भदौः विभिन्न सरकारी निकाय एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाले बाढी प्रभावितहरूका लागि संयोग जारी राखेका छन् । बाढी प्रभावित समुदायका लागि युरोपेली सङ्घ (इयू)ले थप रु आठ करोड ९० लाख मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
इयूले आज प्रेस विज्ञप्ति जारी गरी र बाढी तथा विपद्का लागि इयूको कुल आपत्कालीन सहायता रु ४४ करोड ५० लाखभन्दा बढी पुगेको जनाएको छ । उक्त रकम करिब २५ लाख युरो बराबर हो । इयूका अनुसार नयाँ सहयोग अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासङ्घ (आइएफआरसी)को विपद् प्रतिकार्य आपत्कालीन कोष (डिआरइएफ)अन्तर्गतको अभियानमा परिचालन हुनेछ । अभियानको नेतृत्व नेपाल रेडक्रस सोसाइटीले गर्नेछ ।
मकवानपुर वाणिज्य सङ्घको रु ३९ लाखको राहत सामग्री
हेटौँडा : मकवानपुर उद्योग वाणिज्य सङ्घले रसुवा र नुवाकोटका बाढीपीडितका लागि करिब रु ३९ लाख बराबरको राहत सामग्री आज प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई हस्तान्तरण गरेको छ ।
जिल्लाका व्यवसायी तथा विभिन्न वस्तुगत सङ्घसंस्थाबाट सङ्कलित करिब आठ टन राहत सामग्री जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत नुवाकोट पठाइएको सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाटले जानकारी दिनुभयो । सङ्घले यसअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख पाँच हजार ५५५ जम्मा गरिसकेको छ ।
म्याग्देको रु २५ लाख ७५ हजार सहयोग
दमौली : रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि तनहुँको म्याग्दे गाउँपालिकाले रु २५ लाख ७५ हजार १६६ सहयोग गरेको छ । गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
बाढीपीडितका लागि गाउँपालिकाको कार्यालय, जनप्रतिनिधि तथा कर्मचारी र शिक्षकका तर्फबाट सहयोग गरिएको छ । कार्यालयका तर्फबाट रु पाँच लाख, जनप्रतिनिधि तथा कर्मचारीका तर्फबाट रु आठ लाख २३ हजार ९१७ र शिक्षकका तर्फबाट रु १२ लाख ५२ हजार ४९ सहयोग गरिएको छ ।
त्यसैगरी, व्यास नगरपालिका–४, दमौलीस्थित दमौली मुस्लिम समाजले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख ५०० सहयोग गरेको छ । कमिटीका सचिव मन्सुर अहमदले पीडितको विपद्को यस घडीमा सबैले सकेको सहयोग गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी, नेपाली कांग्रेस भिमाद नगर सभापति अरविन श्रेष्ठले रसुवा बाढीपीडितका लागि एक लाख ५० हजार ७८० सहयोग गर्नुभएको छ । श्रेष्ठले आज तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीलाई सहयोग रकमको भौचर हस्तान्तरण गर्नुभयो ।
तीज कार्यक्रम स्थगित गरेर आर्थिक सहयोग
गण्डकी : पोखरा, लामाचौरको नवआदर्श सामुदायिक विकास समाजले २८औँ संस्करणको लामाचौर तीज महोत्सव–२०८३ तथा लामाचौर कप खुला पुरुष र अन्त माध्यमिक विद्यालय छात्रा भलिबल प्रतियोगिता स्थगित गरी प्रधामन्त्री दैवी प्रकोष उद्धार कोषमा रु एक लाख ११ हजार १११ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।
पोखरामा महिला पर्यटन व्यवसायीहरूको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले तीज कार्यक्रम स्थगित गरी प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक लाख २१ हजार १०१ जम्मा गरेको मञ्चका अध्यक्ष ममता न्यौपानेले जानकारी दिनुभयो । प्रबुद्ध युवा समूह, बागलुङले आगामी साता आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगन गरी उक्त कार्यक्रमका लागि सङ्कलित रु एक लाख बाढी प्रभावितको राहतमा खर्च गरेको छ ।
गलकोट समाज, पोखराले पनि तीजको दरखाने र सांस्कृतिक कार्यक्रम स्थगित गरेर त्यसमा हुने खर्चबापतको रु दुई लाख ७५ हजार ५५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
हंसपुर नगरपालिकाबाट करिब ३६ लाख रूपैयाँ सहयोग
जनकपुर : धनुषाको हंसपुर नगरपालिकाले करिब रु ३६ लाख सहयोग गर्ने भएको छ । आज नगर कार्यपालिकाको बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३५ लाख ७५ हजार ४१६ जम्मा गर्ने निर्णय गरेको हो ।
भोटेकोशीको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना तथा उद्धार, राहत एवं पुनस्र्थापनाका लागि आर्थिक सहयोग गर्ने नगरपालिकाको बसेको बैठकले सो निर्णय गरेको छ । नगरपालिकाले आज प्रेस विज्ञप्तिमर्फत यही भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति हंसपुर नगरपालिका गहिरो दुःख व्यक्त गरेको छ ।
आमा समूहद्वारा बाढीपीडितलाई आर्थिक सहयोग
वालिङ : यहाँका महिला दिदीबहिनीहरूले तीजको दरखाने कार्यक्रमलाई स्थागित गरी उक्त रकम बाढी पीडितलाई सहयोग गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१ को समन्वयमा वडाभित्रका विभिन्न टोलमा आबद्ध टोलवासी तथा आमा समूहले नगद सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा जम्मा गरेका हुन् ।
वडाका विभिन्न टोलमा महिला दिदीबहिनीहरूले दर खाने तथा तीज गीत प्रतियोगिताहरू सञ्चालनका लागि खर्च गर्ने रकम वडा कार्यालयको पहलमा एकमुष्ट सङ्कलन गरी पाँच लाख ५५ हजार ५५५ कोषमा जम्मा गरेको वडाअध्यक्ष एवम् वालिङ नगरपालिकाका नगर प्रवक्ता पदमराज गुरुङले जानकारी दिनुभयो ।
गोरखाका स्थानीय तहको साढे २८ लाख
गोरखा : भोटेकोशी बाढीपीडितहरूका लागि जिल्लाका स्थानीय तह एवं विभिन्न सङ्घसंस्थाहरूले आर्थिक सहयोग गरेका छन् । बारपाक सुलिकोट गाउँपालिकाले बाढी पीडितहरूलाई रु २८ लाख ५९ हजार सहयोग गरेको छ । पालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतबाट संयुक्त रूपमा रकम सङ्कलन गरी सहयोग जुटाएको पालिकाको भनाइ छ ।
बाढीपछि बेपत्ता भएका बारपाक सुलिकोटका ६ जनाको परिवारलाई पनि पालिकाले राहत स्वरूप ३५ हजारका दरले सहयोग गर्ने अध्यक्ष विष्णु भट्टले बताउनुभयो । सहिद लखन गाउँपालिकाले भोटेकोशी बाढी पीडितहरूलाई रु ३० लाख ७५ हजार रूपैयाँ सहयोग गर्ने पालिका अध्यक्ष रमेश थापाको भनाइ छ । बाढी परेर सहिदलखनका सात जना बेपत्ता छन् ।
आरुघाट गाउँपालिकाले बाढीबाट प्रभावित नागरिकहरूलाई रु ११ लाख ३३ हजार सहयोग गर्ने त्यहाँका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका जनप्रतिनिधिहरूको १० दिन, अधिकृतस्तरका कर्मचारीहरूको सात दिन, सहायकस्तर कर्मचारीको पाँच दिन र अन्य कर्मचारीहरूको दुई दिनको पारिश्रमिकबापत हुन आउने रु ११ लाख ३३ हजार ३२४ सहयोग गर्न लागेको उहाँको भनाइ छ ।
बाढीमा परेर आरुघाटका दुईजना सम्पर्कविहीन बनेका छन् । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले बाढीपीडितका लागि रु सात लाख ५० हजार सहयोग गरेको छ । गाउँपालिकाको जनप्रतिनिधि र कर्मचारीहरूले मिलेर रकम सङ्कलन गरेको अध्यक्ष निमा लामाले बताउनुभयो । सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको उहाँले जानकारी दिनुभयो ।
बाढीपीडितलाई गोरखाको आरुघाट युवा क्लवले आठ लाख सात हजार सहयोग गरेको छ । आरुघाट युवा क्लब र काठमाडौँ गुठी समाज आरुघाटको संयुक्त पहलमा रकम जम्मा गरेर पीडितका लागि पठाइएको क्लबका उपाध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो ।
गोरखाका उद्योगी, व्यापारी सम्बद्ध सङ्घसंस्थाहरूले बाढीपीडितका लागि रु एक लाख ८३ हजार सहयोग गरेको छ । ती सङ्घसंस्थाहरूले जिल्ला प्रशासन कार्यालय गोरखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम पठाएका छन् । कांग्रेस गोरखाले भोटेकोशी बाढी पीडितहरूलाई रु पाँच लाख सहयोग गरेको छ ।
डिभिजन वन कार्यालय गोरखाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५३ हजार जम्मा गरेको कार्यालय प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिनुभयो । कार्यालय मातहतका कर्मचारीहरूको एक दिनको तलब सङ्कलन गरेर सहयोग गरेको उहाँको भनाइ छ ।
बाढीपीडितको सहयोगार्थ १११ जनाद्वारा रक्तदान
पर्सा : भोटेकोशी बाढीपीडितको सहयोगार्थ वीरगञ्जमा आयोजित रक्तदान कार्यक्रममा १११ जनाले रक्तदान गरेका छन् । वीरगञ्ज बैङ्कर्स ग्रुपले यहाँ आज आयोजना गरेको रक्तदान कार्यक्रममा दस जना महिलासहित १११ जनाले रक्तदान गरेका हुन् ।
ग्रुपका अध्यक्ष रोहिणी आचार्यले बैङ्क तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई सामाजिक उत्तरदायित्व तथा मानवीय सेवामा जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको जानकारी दिनुभयो ।
यसैबीच बाढी–पहिरो प्रभावितका लागि पर्सामा राहत सङ्कलन केन्द्र स्थापना गरिएको छ । केन्द्रीय सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले खाद्यान्न, लत्ताकपडालगायत आवश्यक राहत सामग्री सङ्कलन गर्ने कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी भोला दहालले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार रसुवाको विनाशकारी बाढी–पहिरोका क्रममा पर्साबाट ४६ जना व्यक्ति सम्पर्कविहीन भएकोमा ६ जना परिवारको सम्पर्कमा आएका छन् । अझै ४० जना सम्पर्कविहीन छ्न ।
तुलसीपुरका कैदीबन्दीद्वारा आर्थिक सहयोग
दाङ : भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि तुलसीपुर कारागारका कैदीबन्दीहरूले रु ६० हजार २० रूपैयाँ सहयोग गरेका छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी निञ्चलराज पाण्डेको उपस्थिति कारगारका प्रमुख गिरबहादुर सिजवाललाई सो सहयोग हस्तान्तरण गरेका हुन् ।
रास्वपा चितवनको एक लाख ७० हजार सहयोग
नारायणगढ (चितवन) : बाढी प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), चितवनले रु एक लाख ७० हजार ६०० प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।
रास्वपाले आयोजना गर्न लागेको तीज कार्यक्रम स्थगन गरी सो रकम देशमा परेको प्रकोपमा सहयोग गर्नुपर्छ भनेर कोषमा जम्मा गरिएको रास्वपा जिल्ला सभापति ई. मिनीमाधव खनालले बताउनुभयो । उहाँले बाढी आएदेखि नै चितवनका रास्वपा कार्यकर्ताहरू सुरक्षाकर्मीहरूसँगै स्वयंसेवकका रूपमा अहोरात्र खटिरहेको जानकारी दिनुभयो ।
समन्वय समिति खोटाङको रु एक लाख
खोटाङः जिल्ला समन्वय समिति खोटाङका जनप्रतिनिधि एवम् कर्मचारीले भोटेकोशी बाढीपीडितका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका नौँजना जनप्रतिनिधि र एघार जना कर्मचारीले आफ्नो सेवा सुविधाबापतको रकम कटाएर रु एक लाख ८४९ सहयोग गर्ने निर्णय गरेको हो ।
जनप्रतिनिधिको पाँच तथा कर्मचारीको राज्यले तोकेअनुसारको रकम सहयोग गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले जानकारी दिनुभएको छ । जनप्रतिनिधि तथा कर्मचारीबाट सङ्कलित राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ ।
यस्तै, खोटाङ यातायातले भोटेकोशी बाढीपीडितका लागि रु ५५ हजार ५०० रकम सहयोग गरेको छ । खोटाङ यातायात प्रा.लि.ले उपलब्ध गराएको सहयोग रकमको चेक प्रा.लि.का महासचिव रामकुमार हिङमाङ र कोषाध्यक्ष गोविन्द कटुवालले प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई हस्तान्तरण गर्नुभएको थियो ।
यसैगरी, माउन्ट एभरेष्ट बोर्डिङ स्कूल दिक्तेलले रु ८१ हजारसहयोग गरेकोे छ । विद्यार्थीले आफ्ना खाजा खर्च जम्मा गरेर रु १७ हजार ६००, शिक्षकहरूको एक दिनको तलब काटेर रु ४० हजार ६५० र विद्यालय व्यावस्थापन समितिले रु २२ हजार ७५० जम्मा गरेर सहयोग गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष समुन्द्रप्रसाद जोशीले जानकारी दिनुभएको छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिक–५ लफ्याङस्थित श्री मावि बाँसबोटेका कक्षा–६ देखि १२ सम्मका विद्यार्थीले एक दिनको खाजाको खर्च जम्मा गरेर रु पाँच हजार ७७० सहयोग गरेको छ । विद्यार्थीले सङ्कलन गरेको रकम जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषम पठाइएको हो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित शान्ति निकेतन मिनाकर्ण मा.वि सापातेलका कक्षा–४ देखि १० सम्मका विद्यार्थीले खाजा खर्च जम्मा गरेर रु चार हजार ८६० जम्मा गरेका छन् । विद्यार्थीलाई घरबाट खाजा खानका लागि अभिभावकले दिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिएको विद्यालयले जनाएको छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले रु २८ हजार १०० उपलब्ध गराएको थियो । जिल्ला कार्यसमिति खोटाङको संयोजनमा २५ जना दाताबाट सङ्कलन गरिएको नगद रकम प्रमुख जिल्ला अधिकारी कँडेलमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।
रावल दम्पतीको एक लाख सहयोग
लमजुङ : बेँसीसहर नगरपालिका–७ हाई स्कुल चोक निवासी समाजसेवी भरत रावल र उहाँकी श्रीमती पार्वती रावलले बाढीपीडितको राहतका लागि रु एक लाख एक सय सहयोग गर्नुभएको छ ।
रावल दम्पतीले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरी प्राप्त भौचर लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको हो । रावलले लामो समयदेखि बेँसीसहरमा दिनेश ट्रेडर्स सञ्चालन गर्दै आउनुभएको छ ।
माङसेबुङ गाउँपालिकाद्वारा २२ लाख सहयोग
इलाम : बाढी प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि इलामको माङसबुङ गाउँपालिकाले रु २२ लाख सात हजार ३९५ सहयोग गर्ने निर्णय गरेको छ । माङसेबुङ गाउँपालिकाले गाउँपालिका विपद् कोष, जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक र महिला लक्षित कार्यक्रमअन्तर्गत तीज विशेष कार्यक्रमबाट प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो ।
माङसेबुङले गाउँपालिका विपद कोषबाट रु पाँच लाख, जनप्रतिनिधिहरूको १५ दिनको सेवासुविधाबाट रु एक लाख ५४ हजार २५०, कर्मचारी र शिक्षकहरूबाट रु १३ लाख ५३ हजार १४५ र महिला लक्षित कार्यक्रमअन्तर्गत तीज विशेष कार्यक्रमबाट रु दुई लाख प्रधानमन्त्री दैवीप्रकोप उद्घार कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
भोटेकोशी बाढीपीडितका लागि ३३ लाखआर्थिक सहयोग
डोटी : डोटीको जोरायलगाउँपालिकाले बाढीपीडितका लागि रु ३३ लाख २८ हजार ६४१ सहयोग गर्ने घोषण गरेको छ ।
भोटेकोशी–त्रिशूलीनदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै जिल्लाको जोरायल गाउँपालिकाले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु ३३ लाख २८ हजार ६४१ सहयोग गर्ने निर्णय गरेको छ ।