
सानेपा(ललितपुर), २८ असोज । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आईतबार बसेको आकस्मिक बैठकले नेपाली कांग्रेसका नेता एवं पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा पूर्व राजदूत चक्रप्रसाद बाँस्तोलाको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
कांग्रेसको आकास्मिक बैठकले दिवंगत नेता चक्रप्रसाद बाँस्तोलाको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट मौन धारण गर्ने निर्णय गरेको थियो । कांग्रेसले दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गरेको छ ।
दिवंगत नेता चक्रप्रसाद बाँस्तोलाप्रति उच्च सम्मान प्रकट गर्दै कांग्रेसले तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयहरुमा झण्डा आधा झुकाउने तथा शोक÷श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरु सबै कार्यक्रमहरु स्थगित गर्ने निर्णय पनि गरकेो छ ।कांग्रेसले असोज २९ गते सोमबारका दिन केन्द्र तथा मातहतका सबै कार्यालयहरु बन्द गर्ने, तेह्रो दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र
१३ औं दिनमा केन्द्र र सबै जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाको आयोजनामा भोलि असोज २९ गते दिनको २ः०० बजे झापाको पवित्र नदी कन्काईमाईमा नेता बाँस्तोलाको अस्तुकलश प्रवाह गर्नै कार्यक्रम छ ।
नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, नेपाल सरकारको गृह, परराष्ट्र लगायत विभिन्न मन्त्रालयका पूर्व मन्त्री एवं भारतका लागि नेपालका पूर्व राजदूत चक्रप्रसाद बाँस्तोलाको २०७५ असोज २७ गते राति ललितपुर खुमलटार स्थित उहाँकै निवासमा उपचारकै क्रममा निधन भएको छ । वि.सं. २००३ मंसिर ११ गते जन्मनु भएका स्वर्गीय बाँस्तोला २०६९ पुस १४ गते एक सार्वजनिक कार्यक्रममा गम्भीर मस्तिकघात भई अचेत हुनु भएको थियो । त्यसपछि उहाँको चेत फर्केन ।
विद्यार्थी जीवनदेखि नै बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिक यात्रा प्रारम्भ गर्नु भएका दिवंगत नेता बाँस्तोलाको नेपाली कांग्रेसको तरुण संगठन प्रजातान्त्रिक समाजवादी युवा लिग (म्क्थ्ी) गठन देखि नेपाली कांग्रेसको नेतृत्वमा भएका हरेक आन्दोलन र संघर्षमा अग्रणी भूमिका रहेको थियो । उहाँ बी.पी. कोइरालाको निर्वासित जीवन शुरु भएपछि सशस्त्र संघर्षको तयारीमा संलग्न हुनुहुन्थ्यो । २०३६ सालको आममाफी पश्चात स्वदेश फर्कनु भएका नेता बाँस्तोलाले नेपाली कांग्रेसको संगठनलाई सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । नेपालमा प्रजातन्त्रको पुनस्र्थापनामा नेतृत्वदायी भूमिका खेल्नु भई जेल जीवन र लामो समय प्रवासमा व्यतित गर्नु भएका नेता बाँस्तोलाको नेपाली कांग्रेसको नेतृत्वमा तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी) बीच १२ वुँदे समझदारी निर्माण गर्ने पृष्ठभूमि तयार गर्नमा समेत महत्वपूर्ण भूमिका रहेकोे थियो ।
नेपाली कांग्रेसले उहाँको निधनबाट नेपाली राजनीतिले एक वौद्धिक, निष्कलंक, प्रखर र क्रान्तिकारी नेतालाई गुमाएको बताउदै उहाँका निधनबाट नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलन र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको बताएको छ ।
कांग्रेसले भनेको छ, जीवनका कठिन घडीमा पनि अदम्य साहस प्रदर्शन गर्न सक्ने अनुकरणीय र साहसी नेताको रुपमा उहाँ हाम्रो स्मृतिमा रहिरहनु हुनेछ । नेता बाँस्तोलाको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ ।