Prakash Adhikari September 8, 2026
काठमाडौँ, २३ भदौः रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको छ भने अनुमानित ४ हजार ९ सय ९४ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार रसुवामा १ सय ६९, नुवाकोटमा १ सय ९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३ सय ६३, नवलपरासी पूर्वमा २ सय २३ र नवलपरासी पश्चिममा २ सय २१ जनाको शव फेला परेको छ ।
हालसम्म ९८ वटा शव सनाखत भई परिवारले बुझेकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो । सनाखत हुन बाँकी रहेका शवका लागि डिएनए परीक्षण गर्नुपर्ने भन्दै सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दुई वटा फोटो र नाता प्रमाणितसहित नमूना दिन सकिने उहाँले बताउनुभयो । बाढी प्रभावित क्षेत्रमा हालसम्म १३ हजार ३ सय ९६ जनाको उद्धार गरिएको छ ।
प्राधिकरणका प्रवक्ता महतका अनुसार ४ हजार ९ सय ९४ जना अझै सम्पर्कविहीन रहेका छन् । तीमध्ये सबैभन्दा बढी नुवाकोटबाट २ हजार ३ सय ४० र रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त अद्यावधिक विवरणअनुसार १ हजार ९ सय ६७ जना रहेका छन् । सम्पर्कविहीन हुनेको सङ्ख्या ठूलो रहेकाले खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले जनाएको छ । बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म ६ हजार ६ सय ७६ जनाले उपचार सेवा लिएका छन् ।
विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका प्राधिकरणले जनाएको छ । भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् ।
Share Now