Prakash Adhikari September 9, 2026

काठमाडौं, २४ भाद्र । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकारको टुंगो लगाएको छ ।

क्यानका महासचिव पारस खड्काले जारी गर्नुभएको प्रेस विज्ञप्ति अनुसार एनपीएलको वर्ल्ड वाइड ओटीटी अधिकारको टेण्डर नेटटीभी प्रा लिले जितेको छ । उसले रु. १८ करोड ४ लाखमा सो प्रशारण अधिकार जितेको हो ।

त्यस्तै नेपाल भरको लिनियर टेलिभिजन अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रा लिले पाएको छ । उसले रु १४ करोड ६४ लाखमा सो प्रशारण अधिकार पाएको हो ।

यस्तै टिकटिङ अधिकार इसेवा लिमिटेडले पाएको छ । उसले ८५ लाख रुपैयाँमा सो अधिकार पाएको हो । सहमति भएका व्यावसायिक शर्तहरू अनुसार टिकटिङबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानलाई र ५ प्रतिशत इसेवालाई प्राप्त हुनेछ।

नेपाल क्रिकेट संघले सम्बन्धित अधिकार प्राप्त गर्ने नेटटीभी, हिमालय टेलिभिजन तथा इसेवालाई बधाई ज्ञापन गर्दै एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन सबै साझेदारहरूसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग आउदो अक्टोवर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ ।

प्रतियोगितामा विराटनगर किंग्स्, जनकपुर बोल्टस्, काठमाडौं गुर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स् सहभागी हुनेछन् ।

सिंगल राउण्ड रोविन्सको आधारमा हुने यो प्रतियोगितामा समूह चरणपछि शीर्ष चारमा रहने टीमहरु प्लेअफमा पुग्नेछन् । प्रतियोगितामा ३२ खेल खेलिने छ ।

खेलका लागि खेलाडीहरुको अक्सन समेत सम्पन्न भईसकेको छ ।

Share Now