Prakash Adhikari September 16, 2026

अशोक दाहाल
बीबीसी न्यूज नेपाली

काठमाडौं, ३१ भाद्र । भोटेकोशी त्रिशूली बाढीपछि खोज, उद्धार तथा राहतको समन्वय गरिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले खोजी अभियानलाई टुङ्ग्याउने योजनामा छलफल भइरहेको जनाएको छ।

बाढीको २२ औँ दिनसम्म पनि उद्धारकर्मीहरू विभिन्न जलविद्युत् आयोजनाका सुरुङजस्ता संरचना तथा भूमिगत विद्युत्‌ गृहमा फसिरहेको ठानिएका मानिसहरूको खोजी गरिरहेका छन्।

विपद् प्राधिकरणले नदीको तटीय क्षेत्र तथा बाढीले क्षति पुर्‍याएका घर, विद्यालय, कार्यालयजस्ता संरचनाहरूमा भने खोजी करिब सकिएको जनाएको छ।

उद्धार टोली हालसम्म पनि रसुवामा रहेको चिलिमे जलविद्युत् आयोजनाको भूमिगत पावरहाउससम्म पुग्न सकेको छैन। नेपाली सेनाले अहिले भारतीय विशेषज्ञहरूसहितको टोलीसँग मिलेर उक्त विद्युत्‌गृहसम्म जाने सुरुङमा बाटो बनाइरहेको छ।

बुधवारसम्म चिलिमेको विद्युत्‌गृहसम्म उद्धार टोली पुग्ने ठानिएको संलग्न अधिकारीहरूले बताएका छन्।

सुरुङ संरचनामा खोजी सकिएपछि यो अभियान पनि अन्त्य गर्ने योजनामा छलफल हुने प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले जानकारी दिनुभयो।

“नेपाली सेनाको नेतृत्वमा भइरहेको सुरुङको खोजी अब पूरा भयो भन्ने खालको सूचनालाई पनि आधार मान्छौँ। त्यसपछि खोजी र उद्धारका अन्तर्राष्ट्रिय मान्यताहरू छन्, त्यसलाई पनि र स्थानीय परिस्थितिलाई पनि आधार मानेर अघि बढ्ने भन्ने कुरा भएको छ”, उहाँले भन्नुभयो,”आजको मितिसम्म हामीले कुनै निर्क्योल निकालेको अवस्था चाहिँ होइन। यसमा हामी काम गर्दै छौँ र सायद एकदुई दिनमा केही आउँछ होला।”

जलविद्युत्‌ आयोजनाका सुरुङमा जारी खोजीकार्यले अझै केही दिन निरन्तरता पाउन सक्ने प्राधिकरण प्रमुखको भनाइ छ।

“केही आशाका साथ काम भइरहेका सुरुङको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दै छौँ”, उप्रेतीले बीबीसी न्यूज नेपालीसँग भन्नुभयो।

सम्पर्कविहीनबारे केही दिनभित्र निर्णय लिइने

खोजी अभियानको अन्त्यसँगै बाढीपछि सम्पर्कविहीन रहेका मानिसहरूलाई मृत घोषणा गर्न सकिनेबारे छलफल भइरहेको प्राधिकरण प्रमुख उप्रेतीले जानकारी दिनुभयो ।

“हराएको र मृतक घोषणा गर्ने विषयमा पनि हाम्रो छलफल जारी छ। अहिलेको कार्यविधि र नियमावलीमा संशोधन गरेर जाने र हराएका वा बेपत्ता भएका व्यक्तिको सामान्य प्रक्रियाभन्दा फरक तरिकाले हेर्ने कि भन्ने कुरा पनि छलफलमा आएको छ”, उहाँले भन्नुभयो।

उहाँका अनुसार स्थानीय सरकारको प्रमाणीकरण, जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित परिवारको स्वघोषणामा त्यस्तो निर्णय लिनेबारे छलफल जारी छ।

“सीधै भन्दा पनि स्थानीय तहबाट आएको पत्र वा सम्बन्धित परिवारको स्वघोषणा, जिल्ला विपद् व्यवस्थापन समितिबाट आएको पत्रृलगायते सबैलाई आधार मानेर निर्णय लिने भन्ने छ”, उप्रेती भन्नुहुन्छ ।

अबको केही दिनभित्रै यसबारे निर्णय लिइने उहाँले बताउनुभयो ।

प्राधिकरणका अनुसार हालसम्म ५ हजार १ सय ३० जना मानिसहरू बाढीपछि सम्पर्कविहीन छन्। बाढीमा ज्यान गुमाएका १ हजार ४ सय ३ जनामध्ये करिब १०० जनाको मात्रै शव पहिचान भएको छ।

सुरुङमार्गको खोजीमा प्रगति के छ?

खास गरी सुरुङ संरचना भएका जलविद्युत् आयोजनाहरूमा खोजीकार्यको नेतृत्व गरिरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेत सरकार र सम्बन्धित आयोजनाहरूको निर्णयका आधारमा खोजीकार्य अन्त्य हुने बताउँनुहुन्छ।

“हामीले नेपाल सरकारको निर्देशनबमोजिमको काम गरिरहेका छौँ। सम्बन्धित आयोजनाको प्राविधिकसँगको समन्वयमा काम भइरहेको छ”, बस्नेत भन्नुहुन्छ,”आयोजनाले पनि सरकारलाई त्यहीअनुसारको सिफारिस दिन्छ नि।”

अहिले उद्धार अभियानको पहिलो उद्देश्य चिलिमे आयोजनामा विद्युत्‌गृहसम्म पुग्ने रहेको बस्नेतले बताउनुभयो ।

बाढीको २१ दिनसम्म पनि उद्धारकर्मीहरू करिब २५० मिटर लामो सुरुङभित्र रहेको यो आयोजनाको विद्युत्‌गृह रहेको स्थानसम्म पुग्न सङ्घर्ष गरिरहेका छन्।

उद्धारस्थलमा रहेका आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार मङ्गलवार उद्धारकर्मीहरू १७५ मिटर भित्रसम्म पुगेका छन्।

“त्यहाँभन्दा भित्रको सुरुङ पानीले भरिएको भएर अगाडि बढ्न सक्नुभएन”, उहाँले भन्नुभयो, “भित्र कति पानी छ भन्ने कुरा अझैसम्म थाहा भएको छैन। अलिकति उकालो भएको भएर त्यहाँभन्दा उता सहज होला भन्ने अपेक्षा छ।”

नेपाली सेनाले रसुवागढी जलविद्युत् आयोजना, अपर त्रिशूली १, अपर त्रिशूली ३ ए, अपर त्रिशूली ३ बी र लाङटाङ जलविद्युत् आयोजनास्थलबाट सम्पर्कविहीन मानिसहरूको खोजीमा आफ्नो जनशक्ति र स्रोत साधन केन्द्रित गरेको छ।

सैनिक प्रवक्ता बस्नेतका अनुसार रसुवागढीमा विद्युत्‌गृहको छैटौँ तलामा रहेको नियन्त्रण कक्षसम्म उद्धारकर्मीहरू पुगे पनि त्यसभन्दा तल बाढीले पुरेका तलाहरूबाट हिलो र भग्नावशेष हटाउने प्रयास भइरहेको छ।

बाढीको ११औँ दिनमा त्रिशूली ३ एको पुरिएको पावरहाउस क्षेत्रबाट दुई जना मानिसहरूको जीवितै उद्धार भएको थियो। त्यहाँसम्म पुग्न उद्धार टोलीले बाढीले पुरेको ठाउँ करिब ४० फीटसम्म खनेर प्रवेशमार्ग पहिल्याएको थियो।

दुई जनाको उद्धार सकिएपछि पहिरोले पुनः पुरेको उक्त मार्गलाई पन्छाएर पावरहाउसका अन्य क्षेत्रमा खोजी गर्ने प्रयास भइरहेको नेपाली सेनाका प्रवक्ताले बताएका छन्।

त्रिशूली ३ बीको विद्युत्‌गृहसहितका संरचना बाढीले पुरेका कारण त्यसलाई करिब ३० फीटसम्म खनेर मानिसहरूको खोजी गर्ने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ।

“त्यसमा खोतलेर जगहरू पनि फेला परिसकेको छ। अरू केही फेला परेको छैन”, सैन्य प्रवक्ता बस्नेत त्रिशूली ३ बीबारे भन्नुहुन्छ ।

सबैभन्दा लामो सुरुङ संरचना रहेको अपर त्रिशूली १ मा मानिसहरू जान नसकिएका ठाउँमा ड्रोनको सहायतामा समेत खोजीकार्य चलिरहेको सेनाले जनाएको छ।

Share Now