Prakash Adhikari September 17, 2026

काठमाडौं, १ असोज । बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ।

यस दिन नेप्से परिसूचक ११.९३ अंक बढेर २६२४.३६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.०७ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक बढेको छ।

 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। बुधबार ५ अर्ब ३८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३९ स्टकको ५१ हजार ७२८ पटकको कारोबारमा ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार रुपैयाँबराबरको १ करोड ३६ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १२.४३ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन सिद्धार्थ बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३३ करोड ६२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको कारोबार रकम २७ करोड रुपैयाँ नाघेको छ भने सोलु हाइड्रोपावरको करिब २४ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ। कारोबारमा आएको लगानी र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Share Now