Prakash Adhikari September 18, 2026

काठमाडाैं,२ असोज। रसुवास्थित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली जलविद्युत आयोजना-१ को सुरुङभित्रबाट ६ जनाको शव बाहिर निकालिएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको लेदोसहितको विनाशकारी बाढीका क्रममा आयोजनाभित्र थुनिएर ज्यान गुमाएका उनीहरूको शव नेपाली सेनासहितको उद्धार टोलीले फेला पारेको हो।

नेपाली सेना र आयोजनाका प्रतिनिधि सम्मिलित संयुक्त टोलीले खोजी गर्ने क्रममा आयोजनाको अडिट-३ सुरुङभित्र ढलानका लागि बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको थियो।

अप्ठ्यारो संरचनाका कारण ग्रिण्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु जस्ता प्राविधिक उपकरणहरूको प्रयोग गरी ती शवहरू बाहिर निकालिएको सेनाले जनाएको छ।

सुरुङभित्र बाक्लो हिलो र लेदोमा छोपिएको अवस्थामा अन्य पनि शवजस्तै आकृतिहरू देखिएकाले उद्धार टोलीले थप खोजी कार्यलाई निरन्तरता दिइरहेको छ।

यसअघि बाढी आएको २२ औं दिनमा उद्धारकर्मीहरूले चिलिमे जलविद्युत आयोजनाको सुरुङ तथा पावरहाउस क्षेत्रबाट पाँच जनाको शव र एउटा मानव अङ्ग (खुट्टा) बाहिर निकालेका थिए।

भोटेकोशीको भीषण बाढीका कारण माथिल्लो त्रिशुली-१, चिलिमे, तथा माथिल्लो त्रिशुली-३ ‘बी’ लगायतका जलविद्युत आयोजनाहरूमा ठूलो भौतिक तथा मानवीय क्षति पुगेको छ। बाढीका बेला आयोजना स्थलमा कार्यरत कयौँ श्रमिक तथा कर्मचारीहरू सम्पर्कविहीन भएका थिए।

अहिले नेपाली सेना, स्थानीय प्रशासन, प्राविधिक तथा वैदेशिक उद्धार टोलीसमेतको सहकार्यमा विशेष उपकरण, पम्प र तालिमप्राप्त कुकुरको प्रयोग गरी सुरुङभित्र हराइरहेकाहरूको तीव्र खोजी भइरहेको छ।

Share Now