Prakash Adhikari October 27, 2018

 

‘काठमाडौं, १० कार्तिक । वर्ल्ड टूर’मा रहेको आईसीसी एकदिवशीय विश्वकपको ट्रफी शुक्रबार नेपाल आइपुगेको छ ।

सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकप क्रिकेटअघि ट्रफीलाई विश्व भ्रमण गराउने क्रममा ट्रफी नेपालमा चार दिनका लागि ल्याइएको हो ।

आईसीसी मुख्यालय दुवईबाट शुक्रबार आइपुगेको  विश्वकप ट्रफी बेलुका स्वयंभू लगेर फोटो सूट गरिएको थियो ।

शनिवार सो ट्रफीलाई पोखरा रंगशालामा प्रदर्शनीमा राखिने आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् ।

नेपालका सबै क्रिकेट खेलाडी र क्रिकेटप्रेमी दर्शकहरु पोखरामा भैरहेको पोखरा प्रिमियर लिग क्रिकेटमा सरिक भएकोले आईसीसी ट्रफी पनि पोखरा लान लागिएको हो ।

आइतबार ट्रफी काठमाडौं ल्याइनेछ र दिनभर बसन्तपुर क्षेत्रमा सर्वसाधारणको अवलोकन तथा निरीक्षणको लागि राखिनेछ ।

आईसीसीको आधिकारिक भारतीय इभेन्ट म्यानेजमेन्ट कम्पनी इकम्पावर्सले ट्रफीको भ्रमण, सुरक्षा लगायत सबै बन्दोबस्त गरेको घिमिरेले जानकारी दिइन् ।

ट्रफीको चन्द्रागिरी, स्वयम्भू र बसन्तपुर क्षेत्रमा विशेष फोटोशुट पछि सोमबार दुवई लगिनेछ ।

तीन महिनाभन्दा लामो विश्व भ्रमणमा रहेको ट्रफी ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश लगिसकिएको छ । नेपालबाट भारत, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवाण्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स र जर्मनी हुँदै बेलायत लगिनेछ । यसबीचमा ट्रफीले २१ देशका ६० शहर भ्रमण गर्नेछ ।

फिफाले विश्वकप हुनुअघि ट्रफी टूर सुरु गरेसँगै क्रिकेटमा पनि आईसीसीले यस्तो सुरुआत गरेको हो । फुटबल विश्वकपको ट्रफी सन् २०१३ मा नेपाल ल्याइएको थियो ।

आइसीसी विश्वकप क्रिकेट सन् २०१९ मा वेल्स र इंग्ल्याण्डमा हुने भएको छ ।

Share Now

Leave a comment.