काठमाडौं, १० कार्तिक । दशैपछिको दोस्रो कारोबार दिन नेपालको शेयर बजार उकालो लाग्ने सिंढीमा चढेर बन्द भएको छ ।
यस दिन शेयर बजारको अवस्था मापक धितोपत्र बजार परिसूचक ०.९४ अंक बढेर २६३०.७६ विन्दुमा बन्द भएको छ।
बजारले उकालो लाग्ने संकेत मात्र गरे पनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो दिन अर्थात सोमबार ४ अर्ब रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ६० स्टकको १ करोड ५३ लाख ४६ हजार कित्ता शेयर खरिदबिक्रीबाट ५ अर्ब ७९ करोड ९३ लाख ३० हजार रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन बेनी हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६० रुपैयाँ ८० पैसा बढेर ४ सय ६६ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरमूल्य १२ प्रतिशत बढेको छ भने दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन कारोबार बढेका अन्य कम्पनीहरुमा सुपरमादी,सोलु हाइड्रो,पिपल्स हाइड्रो,सिर्जनशील लघुवित्त, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, शिखर पावर र हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड रहेका छन् ।
यस दिन कारोबारमा आएको यूनिलिभर नेपालको शेयरमूल्य यस दिन सबैभन्दा बढी ४.९१ प्रतिशत घटेको छ।यस दिन शेयर मूल्य घटेका अन्य कम्पनीहरुमा एभरेष्ट बैंक डिबेञ्चर८५, नबिल बैंक डिबेञ्चर ८९, राष्ट्रिय बाणिज्य बैंक फोकस ४०, सनराईज फस्र्ट म्युचुअल फण्ड, कुमारी बैंक डिबेञ्चर ८९, एनएमबी ऊर्जा बण्ड ९३।९४,लक्ष्मी उन्नति कोष,सिद्धार्थ र्बैक लिमिटेड डिबेञ्चर ९१ र सानिमा डिबेञ्चर ८५ रहेको छन् ।
कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ५८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको साढे २४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २१ करोड रुपैयाँ नाघेको छ।अन्य उच्च रकमको कारोबार भएका कम्पनीहरुमा लिबर्टी इनर्जी कम्पनी, ग्रीन भेञ्चर्स लिमिटेड, हिमालयन डिष्टिलरी,अपि पावर,सोलु हाइड्रो, बलेफी हाइड्रो र शिवम् सिमेन्ट्स रहेका छन् ।
यस दिन नेपाल धितोपत्र विनिमय कम्पनीमा सूचीकृत भई वर्गीकरण भएका १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६५ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक यस दिन सामान्य बढेको छ।







