Prakash Adhikari October 30, 2018

काठमाडौं, १३ कार्तिक (बीबीसी)। चीनमा बाघको हड्डी र गैंडाको खागको आन्तरिक प्रयोगमा रहेको प्रतिबन्ध फुकुवा भएपछि नेपालमा संरक्षण गरिएका बाघ र गैंडाको चोरी शिकारको जोखिम बढ्ने भन्दै वन्यजन्तु विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्।

उनीहरूले केही वर्ष यता चोरी शिकार शून्यमा पुगेको गैंडा र सङ्ख्या बढ्दै गएको बाघको संरक्षणमा नेपालले थप प्रभावकारी कदम चाल्नु पर्ने खाँचो औंल्याए।

विभिन्न समयमा समातिएका संरक्षित वन्यजन्तुका अङगहरु चीनतर्फ निकासी गर्न लागिएका विगतका उदाहरणहरु छन्।

नेपालको वन्यजन्तु संरक्षणमा यसबाट केही न केही चुनौती थपिन्छ। बजार चीनतिरै धेरै छ, त्यसको स्रोत हामीसँग छ त्यसैले चीनको निर्णय पछि संरक्षणमा अझै बढी ध्यान केन्द्रित गर्नु पर्ने अवस्था आउँछ
घनश्याम गुरुङ, वन्यजन्तु संरक्षणविज्ञ

यस्तो बेला चीनले वैज्ञानिक, चिकित्सा र सांस्कृतिक प्रयोगका लागि भन्दै बाघको हड्डी र गैंडाको खागको प्रयोग खुला गरेको छ।

तिनको प्रयोगमा रहेको प्रतिबन्ध आन्तरिक प्रयोगका निम्ति भनेर हटाइए पनि त्यो माग अन्य देशबाट पूरा गर्नुपर्ने अवस्था हुनसक्ने भन्दै चीनसँग सीमा जोडिएका देश बढी जोखिममा रहने विज्ञहरुको औंल्याएका छन्।

वन्यजन्तु संरक्षणविज्ञ घनश्याम गुरुङले भने, “नेपालको वन्यजन्तु संरक्षणमा यसबाट केही न केही चुनौती थपिन्छ। बजार चीनतिरै धेरै छ, त्यसको स्रोत हामीसँग छ त्यसैले चीनको निर्णय पछि संरक्षणमा अझै बढी ध्यान केन्द्रित गर्नु पर्ने अवस्था आउँछ।”

चोरी शिकारी

केही वर्ष पहिले बर्दिया राष्ट्रिय निकुन्जमा लगिएका ८४ वटा गैंडामध्ये धेरै जसो चोरी शिकारीका कारण मारिएको बताइन्छ।

चितवन निकुन्जका गैंडा पनि बेला बेला त्यसरी नै निशानामा पर्ने गरेका थिए।

हाल सम्म हाम्रो जानकारीमा आएको छैन। यदि त्यस्तो निर्णय भएको हो भने वन्यजन्तु संरक्षणमा नयाँ सुरक्षा रणनीति लागु गर्ने छौं। संरक्षणलाई प्रभावकारी बनाउन सक्यौं भने कुनै पनि देशको निर्णयले हामीलाई असर गर्ने छैन
मनबहादुर खड्का, महानिर्देशक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

पछिल्लो समय गैंडाको चोरी शिकारी पूर्णरुपमा रोकिएको छ भने बाघको संख्या बढेको छ।

वन्यजन्तु संरक्षणविज्ञ फणिन्द्र खरेल थपिएको चुनौती रोक्न थप सर्तकता आवश्यक हुने बताउँछन्। उनले भने, “कालो बजार खुल्नासाथ कालाबजारीयाहरु पनि सक्रिय हुन्छन। त्यसलाई नियन्त्रण गर्न सरकार सक्रिय हुनु पर्यो। प्रहरी छ, सेना छ, संरक्षणका निकायहरु छन्। अब थप समस्या हुनसक्छ भनेर सतर्क हुनु पर्यो। आफ्नो चिज जोगाउन आफै सतर्क हुनै पर्छ।”

सुरक्षा योजना

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले भने चीनको पछिल्लो निर्णयबारे जानकारी नभएको जनाएको छ।

विभागका महानिर्देशक मनबहादुर खड्काले भने, “हाल सम्म हाम्रो जानकारीमा आएको छैन। यदि त्यस्तो निर्णय भएको हो भने वन्यजन्तु संरक्षणमा नयाँ सुरक्षा रणनीति लागु गर्ने छौं। संरक्षणलाई प्रभावकारी बनाउन सक्यौं भने कुनै पनि देशको निर्णयले हामीलाई असर गर्ने छैन।”

सुरक्षा निकायदेखि निकुन्ज विभाग लगायतका सबैको साझेदारीका कारण वन्यजन्तु संरक्षण प्रभावकारी भएको बताउने वन्यजन्तु विज्ञहरु सहकार्यलाई अझै मजबुत बनाउनु पर्ने बताउँछन्।

पछिल्लो गणना अनुसार नेपालमा विभिन्न निकुञ्जका गरी २ सय ३५ वटा बाघ छन्। त्यस्तै एक सिङगे गैंडाको संख्या ६ सय ४५ छ।

Share Now

Leave a comment.