वाशिंड.टन डीसी(संयुक्त राज्य अमेरिका), १८ कार्तिक(बीबीसी) । डोनल्ड ट्रम्पको बाँकी राष्ट्रपतीय कार्यकालको दिशा तय गर्ने ठानिएको अमेरिकाको मध्यावधि निर्वाचनको मतदान सकिँदै गर्दा डेमोक्र्याटहरूले तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) र माथिल्लो सदन (सीनेट)मा उल्लेख्य सफलता हात पारेको प्रक्षेपण गरिएको छ।
ट्रम्पको राष्ट्रपतीय कार्यकालका बाँकी दुई वर्षमा उहाँलाई नियन्त्रणमा राख्न आवश्यक सङ्ख्या आफूहरूसँग पुग्ने अपेक्षा उक्त दलभित्र बढ्दै गएको छ।
प्रारम्भिक नतिजाहरूले डेमोक्र्याटहरूले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको देखाएका छन् जसले राष्ट्रपति ट्रम्पलाई धक्का दिएको रूपमा हेरिँदै छ।
हाल अमेरिकाका आधाभन्दा बढी राज्यहरूमा मतगणना भइरहेको छ।
सीनेटमा नियन्त्रण कायम गर्ने महत्त्वपूर्ण प्रतिस्पर्धामा डेमोक्र्याटहरूले १८ वर्षयता पहिलो पटक नर्थ क्यारोलाइना जितेका छन् जहाँ रोय कूपरले रिपब्लिकनहरूबाट उक्त सीट खोस्नुभएको छ ।।
त्यसका साथै डेमोक्र्याटहरूले सिनेटका अन्य केही सीटहरू पनि आफ्नो पक्षमा पार्ने दिशामा अघि बढेको देखिन्छ।
ड्रेमोक्र्याटहरूसँग ‘आशावादी हुने कारण’
राष्ट्रपति ट्रम्पले आफ्ना सामाजिक सञ्जाल पोस्टहरूमा निराशाका सङ्केतहरू देखाउन थाल्नुभएको छ।
यस मध्यावधि निर्वाचनमा तल्लो सदनका सबै ४ सय ३५ सीटहरू, माथिल्लो सदनका १०० मध्ये ३५ सीटहरू र गभर्नरहरूसहित पदका लागि चुनावी प्रतिस्पर्धा छ।
मतदाताहरूको मनोदशा डोनल्ड ट्रम्प र रिपब्लिकनहरूको विपक्षमा गएको देखिए तापनि अहिले नै यसबारे केही भन्न हतार हुने बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थनी जर्चर बताउनुहुन्छ।
“तर यस चरणमा डेमोक्र्याटहरूसँग आशावादी हुने बलिया कारणहरू देखिन्छन्”, उहाँ भन्नुहुन्छ ।
सिनेटका मुख्य प्रतिस्पर्धामा डेमोक्र्याटिक सिनेटर जोन ओसफ जोर्जामा पुनः निर्वाचित हुनुभएको छ।
ओसफलाई सन् २०२८ को सम्भावित राष्ट्रपति पदको उम्मेदवारको रूपमा व्यापक रूपमा हेरिन्छ।
उहाँले समर्थकहरूलाई सम्बोधन गर्दै मतदाताहरूले ट्रम्पको भ्रष्टाचार र अक्षमतालाई अस्वीकार गरेको बताउनुभयो ।
सीबीएस साझेदारहरूको पछिल्लो मूल्याङ्कनमा साउथ क्यारोलिना सम्भवतः डेमोक्र्याटको भएको छ र टेक्सस डेमोक्र्याट झुकावमा छ।
आयोवा, क्यान्सस र मिशिगन ूटस अपू राज्यहरू बाँकी छन् जहाँ कुनै पनि पार्टीले जित्न सक्छ।
सदन नियन्त्रण गर्ने प्रतिस्पर्धा
यस चुनावी नतिजाले कङ्ग्रेसमा कुन दल (ट्रम्पको रिपब्लिकन पार्टी वा विपक्षी डेमोक्र्याटिक पार्टी)को नियन्त्रण रहने छ भन्ने कुरा निर्धारण गर्ने छ।
अमेरिकी कङ्ग्रेस दुई सदन मिलेर बनेको छः तल्लो सदनलाई ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ भनिन्छ भने माथिल्लो सदनलाई ‘सिनेट’ भनिन्छ।
तल्लो सदनमा बहुमत प्राप्त गर्न कुनै पनि दललाई २ सय १८ सीट आवश्यक पर्छ। सिनेटमा स्पष्ट बहुमतका लागि ५१ सिट चाहिन्छ।
रिपब्लिकन पार्टीको हाल तल्लो सदन (हाउस)र माथिल्लो सदन (सीनेट) दुवैमा नियन्त्रण छ। र तल्लो सदनमा बहुमत ल्याउन थप तीन सीटको आवश्यकता छ।
तर, यदि माथिल्लो सदनमा सिट संख्या ५०-५० को बराबरीको अवस्थामा पुगेमा उपराष्ट्रपतिले निर्णायक मत दिन पाउने व्यवस्था छ, जसले गर्दा उक्त सदनमा रिपब्लिकनहरूको दलको नियन्त्रण कायम हुन्छ सक्छ।
शेअर बजारमा प्रभाव
डेमोक्रेटिक पार्टीको जित हुने सम्भावनाले शेअर मूल्यमा गिरावट आएको छ।
विश्लेषकहरूका अनुसार यसको एउटा कारण उक्त पार्टीले डेटा सेन्टर परियोजनाहरू र आर्टिफिशल इन्टेलिजन्स (एआई) पूर्वाधारमा हुने खर्चका विषयमा कडा नीति अपनाउन सक्ने हुनु हो।
जापानमा मुख्य ‘निक्केई’ सूचकाङ्क करिब तीन प्रतिशतले घटेको छ भने अमेरिकी बजार बन्द रहे तापनि ‘स्टक फ्युचर्स’ कम मूल्यमा कारोबार भइरहेका छन्।
अमेरिकी डलरको मूल्यमा पनि गिरावट आएको छ र जापानी येनको तुलनामा यो कमजोर बनेको छ।







