Prakash Adhikari November 4, 2026
वासिङ्टन, १८ कात्तिक (रासस/एपी) : अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटिक पार्टीले रिपब्लिकनका महत्त्वपूर्ण सिट खोस्दै कङ्ग्रेसका दुवै सदनमा नियन्त्रण प्राप्त गर्ने सम्भावना बलियो बनाएको छ । दक्षिण क्यारोलिनामा एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई पराजित गर्नुभएको छ । उहाँ उक्त राज्यबाट सिनेटमा निर्वाचित हुने पहिलो महिला तथा दुई दशकभन्दा बढी समयपछि सिनेट सिट जित्ने पहिलो डेमोक्रेट बन्नुभएको छ ।
उत्तरी क्यारोलिना र न्यु जर्सीमा पनि डेमोक्रेटहरूले प्रतिनिधिसभाका सिट जितेका छन् । जर्जियामा सिनेटर जोन ओसोफ र न्यु ह्याम्पसायरमा क्रिस पप्पास विजयी हुनुभएको छ । सिनेटमा बहुमतका लागि डेमोक्रेटहरूलाई चार सिटको खुद लाभ आवश्यक छ भने प्रतिनिधिसभामा तीन सिट जित्नुपर्नेछ ।
चुनावमा उच्च मूल्यवृद्धि, जीवनयापनको लागत र सरकारी भ्रष्टाचार मतदाताका प्रमुख चासो बनेका छन् । एसोसिएटेड प्रेसको सर्वेक्षणअनुसार करिब तीन चौथाइ मतदाता देशको वर्तमान अवस्थाप्रति असन्तुष्ट छन् । त्यति नै सङ्ख्याले अर्थतन्त्र राम्रो नभएको वा कमजोर रहेको बताएका छन् । करिब १० मध्ये आठ मतदाताले मूल्यवृद्धिका कारण आफ्नो परिवारले आर्थिक कठिनाइ भोगिरहेको जनाएका छन् । १० मध्ये छ मतदाताले राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको बताएका छन् ।
ट्रम्पले मुद्रास्फीति समाधान भएको दाबी गर्नुभए पनि अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य एक वर्षअघिको तुलनामा ३.६ प्रतिशत बढेको थियो । चुनावलाई उहाँको दोस्रो कार्यकालको जनमतसङ्ग्रहका रूपमा हेरिएको छ । मङ्गलबारअघि पाँच करोड ९० लाखभन्दा बढी मतदाताले प्रारम्भिक मतदान गरिसकेका थिए ।
रिपब्लिकनहरूले निर्वाचन क्षेत्र पुनः निर्धारण गरेर सिट जोगाउने प्रयास गरे पनि फ्लोरिडामा चार नयाँ सिट जित्ने उनीहरूको अपेक्षा कमजोर देखिएको छ । टेक्सास र उत्तरी क्यारोलिनामा ट्रम्पले समर्थन गरेका उम्मेदवारले पनि चुनौती सामना गर्नुपरेको छ । सिनेटका अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा ओहायो, अलास्का र मिशिगन छन् । यसैबीच, ३६ राज्यमा गभर्नरका लागि भएको चुनावमा पेन्सिलभेनिया, इलिनोइस, मेरिल्यान्ड, म्यासाचुसेट्स र न्युयोर्कका डेमोक्रेटिक गभर्नर पुनः निर्वाचित भएका छन् । जर्जियामा केइशा ल्यान्स बटम्स निर्वाचित भए अमेरिकाको पहिलो अश्वेत महिला गभर्नर बन्नुहुनेछ ।
चुनावी नतिजाले ट्रम्पको कार्यकालका अन्तिम दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्नेछ । रिपब्लिकनको नियन्त्रणमा रहेको कङ्ग्रेसले यसअघि उहाँका अधिकांश योजनालाई समर्थन गरेको थियो । तर डेमोक्रेटहरूले प्रतिनिधिसभा वा सिनेटमध्ये कुनै एक सदनको नियन्त्रण लिए राष्ट्रपति प्रशासनमाथि छानबिन र सम्भावित महाभियोग प्रक्रिया अघि बढाउन सक्नेछन् । रक्षामन्त्री पीट हेगसेथ र ट्रम्पका पूर्वसल्लाहकार तथा प्रविधि उद्यमी एलन मस्क पनि सम्भावित छानबिनका विषय हुन सक्नेछन् ।
प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले पार्टीले नियन्त्रण प्राप्त गरे जीवनयापनको लागत घटाउने र ट्रम्प प्रशासनमाथि निगरानी बढाउने लक्ष्यसहित पहिलो १०० दिनको कार्ययोजना अघि सार्नुभएको छ । उहाँ सभामुख निर्वाचित हुनुभए अमेरिकी इतिहासमा उक्त पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति बन्नुहुनेछ । डेमोक्रेटहरूको बलियो प्रदर्शनले आगामी राष्ट्रपतीय चुनावका लागि पार्टीभित्रका सम्भावित उम्मेदवारलाई बलियो बनाउनुका साथै उपराष्ट्रपति जे.डी. भान्सलगायत ट्रम्पनिकट रिपब्लिकन नेताहरूको राजनीतिक यात्रालाई चुनौती दिन सक्छ ।
यस्तो छ सिट समीकरण
चुनावअघि सिनेटका कुल १०० सिटमध्ये रिपब्लिकनसँग ५३ र डेमोक्रेटसँग ४७ सिट थिए । सिनेटको नियन्त्रण लिन डेमोक्रेटहरूले कम्तीमा चार सिटको खुद लाभ हासिल गर्नुपर्ने थियो । प्रतिनिधिसभाका सबै ४३५ सिटमा भएको चुनावमा बहुमत प्राप्त गर्न उनीहरूले कम्तीमा तीन सिट आफ्नो पक्षमा पार्न आवश्यक थियो ।
प्रतिनिधिसभाका डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले देश ‘दिशाको नाटकीय परिवर्तनको सँघारमा’ रहेको बताउनुभएको छ ।
डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत हासिल गरे ट्रम्पका विधायी योजनाहरू अवरुद्ध गर्न र इरानसँगको युद्ध, आप्रवासी निष्कासन तथा कथित भ्रष्टाचारबारे प्रशासनको छानबिन गर्न सक्नेछन् । सिनेटमा पनि नियन्त्रण हासिल गरे न्यायाधीश तथा वरिष्ठ प्रशासनिक अधिकारीको नियुक्ति रोक्न सक्नेछन् । यसले ट्रम्पको कार्यकालका अन्तिम दुई वर्षमा शासन सञ्चालन गर्ने क्षमतामा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ ।
मतदाताका लागि जीवनयापनको बढ्दो खर्च प्रमुख चिन्ताको विषय बनेको छ । लस एन्जलसका २४ वर्षीय मतदाता टेलर कुकले भाडा, खाद्यान्न, उपयोगिता सेवाका बिल र सम्पत्ति कर बढिरहेको बताउँदै यी खर्च घटाउन काम गर्ने प्रतिनिधि कङ्ग्रेसमा चाहिएको एएफपीलाई बताउनुभयो ।
मङ्गलबार अन्तिम टेलिभिजन उपस्थितिका क्रममा ट्रम्पले भन्सार शुल्क, आप्रवासन नियन्त्रण र इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्नुभएको थियो । ‘हामीले अमेरिकालाई महान् राख्नुपर्छ । अहिले हामी महान् छौँ । दुई वर्षअघि हामी भयावह अवस्थामा थियौँ’, ८० वर्षीय ट्रम्पले फक्स न्युजसँग भन्नुभएको थियो ।
यसैबीच, मियामीका ७० वर्षीय रिपब्लिकन मतदाता मारु रेस्ट्रेपोले डेमोक्रेटहरू ‘अत्यधिक समाजवादी’ बनेको टिप्पणी गर्नुभएको थियो । यसले चुनावी अभियानमा देखिएको वैचारिक विभाजनलाई प्रतिबिम्बित गरेको छ ।
प्रतिकूल चुनावी परिणाम ट्रम्पले स्वीकार गर्नुहुने हो वा होइन भन्ने विषयमा पनि अनिश्चितता कायम छ । उहाँले यसअघि चुनावमा धाँधली भएको अप्रमाणित दाबी गर्दै सन् २०२० को राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउने प्रयास गर्नुभएको थियो ।
सोमबार सार्वजनिक पोडकास्टमा ट्रम्पले डेमोक्रेटहरूले कङ्ग्रेसको नियन्त्रण लिए आफूले सबै विषयमा भिटो प्रयोग गर्ने बताउनुभएको थियो । यद्यपि, उहाँले अन्ततः सहमतिका लागि वार्ता गर्न सक्ने सम्भावना पनि व्यक्त गर्नुभएको थियो ।
Share Now