Prakash Adhikari November 6, 2026

 

काठमाडौं । आगामी मंसिर २३ र २४ गते राजधानीमा आयोजना हुन लागेको ‘नेपाल पूर्वाधार समिट’मा कुल २४ खर्ब ५३ अर्ब रुपैयाँ बराबरका २३ वटा ठूला तथा रणनीतिक पूर्वाधार आयोजना शोकेस (प्रस्तुत) गरिने भएको छ।

नेपाल पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघ (एफसीएएन)को संयुक्त आयोजनामा हुने सम्मेलनमा ऊर्जा, सुरुङमार्ग, द्रुतमार्ग, नागरिक उड्डयन, आधुनिक प्रविधि तथा औद्योगिक क्षेत्रका आयोजनाहरूलाई लगानीका लागि अघि सारिएको हो।

यस पटकको संशोधित सूचीमा जलविद्युत् र यातायात पूर्वाधारका केही नयाँ तथा रणनीतिक आयोजनाहरू थपिएका छन्। कुल २४ खर्ब ५३ अर्ब रुपैयाँको प्रस्तावित लगानीमध्ये आधाभन्दा बढी हिस्सा ठूला जलाशययुक्त जलविद्युत् आयोजनाको छ।

जसमा ४ खर्ब रुपैयाँको बुढीगण्डकी बहुउद्देश्यीय, ३ खर्ब ८१ अर्बको दुधकोशी जलाशययुक्त, २ खर्ब ८ अर्बको अपर अरुण र २ खर्ब रुपैयाँको तमोर जलाशययुक्त जलविद्युत् आयोजना रहेका छन्। ऊर्जा प्रसारणतर्फ कर्णाली र भेरी करिडोरमा २५/२५ अर्ब रुपैयाँका एचभीएसी प्रसारण लाइन समावेश छन्।

यातायात र कनेक्टिभिटी क्षेत्रमा माझिटार–शक्तिखोर सुरुङमार्ग (२ खर्ब ६० अर्ब), चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेसवे (२ खर्ब २१ अर्ब), निजगढ अन्तर्राष्ट्रिय विमानस्थल (१ खर्ब ६२ अर्ब), बुटवल–पोखरा एक्सप्रेसवे (८० अर्ब), कोहलपुर–सुर्खेत एक्सप्रेसवे (६७ अर्ब), दाउन्ने सुरुङमार्ग (१० अर्ब) र धरान–लेउती सुरुङमार्ग (६ अर्ब) प्रस्ताव गरिएका छन्।

सहरी विकास तथा सूचना प्रविधितर्फ महेशफाँट स्याटेलाइट आईटी सिटी (५५ अर्ब), ग्लोबल कन्भेन्सन एन्ड डिजिटल हब (५० अर्ब), छहरे स्याटेलाइट लजिस्टिक सिटी (५० अर्ब) र मनाङमा स्थापना हुने एआई डेटा सेन्टर (५० अर्ब) रहेका छन्।

औद्योगिक र पर्यटन विकासतर्फ धौवादी फलाम खानी (५१ अर्ब), मानेदोभान इको टाउन (४५ अर्ब), शक्तिखोर औद्योगिक पार्क (४० अर्ब), मुस्ताङ एकीकृत स्याउ खेती (३० अर्ब), खप्तड इको टुरिजम (२७ अर्ब) र नौबस्ता औद्योगिक पार्क (१० अर्ब) लाई लगानीयोग्य परियोजनाका रूपमा प्रस्तुत गर्न लागिएको छ।

Share Now