Prakash Adhikari November 6, 2026
असुनसियोन, २० कात्तिक (रासस/एएफपी) : बैङ्किङ सङ्कटमा करिब ३० लाख निक्षेपकर्ताको बचत रकम रोकिएपछि चर्किएको जनआक्रोश र महाभियोगको दबाबबीच पाराग्वेका राष्ट्रपति सान्टियागो पेनाले राजीनामा दिनुभएको छ । संसद्ले राजीनामा स्वीकृत नगरेकाले उहाँ पदमै रहनुभएको छ भने महाभियोग प्रक्रिया अघि बढाइएको छ ।
पाराग्वेको केन्द्रीय बैङ्कले गम्भीर पुँजी अभाव देखिएपछि पेनासँग सम्बन्धित युएनो बैङ्क नियन्त्रणमा लिएको थियो । त्यसपछि पेन्सनभोगीसहित लाखौँ निक्षेपकर्ता आफ्नो रकम निकाल्नबाट वञ्चित भएका थिए । घटनापछि राजधानी असुनसियोनमा हजारौँ नागरिकले संसद् भवनबाहिर प्रदर्शन गर्दै रकम फिर्ता गर्न माग गरेका छन् । यसअघि प्रहरीसँग भएको झडपमा अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरिएको थियो ।
बैङ्कमा पेनाको स्वार्थको द्वन्द्व र पदको दुरुपयोग भएको आरोपमा सांसदहरूले उहाँविरुद्ध सर्वसम्मतिले महाभियोग प्रक्रिया अघि बढाएका हुन् । राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत जनतासँग माफी माग्दै निक्षेपकर्ताको बचत सुरक्षित राख्नु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।
विवाद समाधानका लागि केन्द्रीय बैङ्कका अध्यक्ष कार्लोस कार्भालोको राजीनामा र निक्षेप फिर्ताका लागि पाँच दिनको समयसीमा तोकिए पनि जनआक्रोश मत्थर हुन सकेन । संसद्ले शुक्रबारदेखि महाभियोग सुनुवाइ गर्ने तयारी गरेको छ । राष्ट्रपति पद रिक्त भए उपराष्ट्रपति पेड्रो एलियानाले नेतृत्व सम्हाल्नुहुनेछ ।
–––
Share Now