पोखरा(कास्की), १५ कार्तिक । पोखरा प्रिमियर लिग अन्तर्गत बिहिबार सम्पन्न खेलमा नेपालका राष्टिय टीमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजले ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाण्डौ रोयल्सलाई पराजित गर्दै प्रतियोगिताको दोश्रो जित निकालेको छ।
पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४९ रन बनायो । पहिलो विकेटका लागि हरिशंकर शाह र अनिल शाहबीच ५४ रनको साझेदारी भयो । जसमा अनिलले २७ रनको योगदान गरे ।
त्यसपछि टिमको स्कोर ७९ रन हुँदा चितवनका कप्तान पारस १४ रनमा पेभेलियन फर्किए । धनगढी विरुद्ध अर्धशतक प्रहार गरेका हरिशंकरले आजपनि ६० रनको योगदान गरे । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । यस्तै स्मिथ पटेलले ३१ रन र सन्नी पटेलले १३ रनको योगदान गरे ।
बलिङ तर्फ बसन्त रेग्मीले दुई तथा पवन र्सर्राफ र नन्दन यादवले एक एक विकेट लिए ।
चितवन राइनोज्ले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको काठमाण्डौले सम्पूर्ण ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो र खेलमा १३ रनले पराजित हुनपुग्यो।
काठमाण्डौका लागि अघिल्लो दुई खेलमा दुई अर्धशतक बनाएका गौरव तोमारले ३९ रनको पारि खेले भने ज्ञानेन्द्र मल्लले ३० रन, पवन सर्राफले २८ रन र जयकिशन खोल्सावालाले १८ रनको योगदान गरे ।
बलिङ्गतर्फ करण केसीले अमित श्रेष्ठ, ज्ञानेन्द्र मल्ल र अमरसिंह रौटेलालाई आउट गर्ने क्रममा ४ ओभरमा ३४ रन खर्चिए भने पारस खड्काले २ विकेट लिए। त्यस्तै सन्नी पटेल, स्मिथ पटेल र भुवन कार्कीले १र१ विकेट लिए। शक्ति गौचनले बलिङ्ग गर्ने मौका पाएनन्।


















