पोखरा(कास्की), १५ कार्तिक । पोखरा प्रिमियर लिग अन्तर्गत बिहिबार भएको खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ । यससंगै प्रतियोगिताको अंक तालिका रोमाञ्चक मोडमा पुगेको छ । विराटनगर बाहेकका पाँच टीमको समान अंक ४ भएको छ ।
Pokhara Premier League
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| BB | 4 | 2 | 2 | 4 | 0.888 |
| PP | 3 | 2 | 1 | 4 | 0.873 |
| CR | 4 | 2 | 2 | 4 | 0.579 |
| HKR | 3 | 2 | 1 | 4 | 0.187 |
| ED | 4 | 2 | 2 | 4 | -0.563 |
| BT | 4 | 1 | 3 | 2 | -1.644 |
पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा ४ विकेट गुमाउदै १ सय ६१ रन बनायो । १४ रनमा पहिलो विकेट गुमाएको धनगढीले ३९ रनमा ३ विकेट खेर फालेको थियो । जसमा दिपिल नाथ र सुविन्धु पाण्डे १०–१० रनमा आउट भएभने विदेशी खेलाडी पिटर ट्रेगो पनि १४ रनमा पेभेलियन फर्किए ।
तर चौथो विकेटका लागि कप्तान दिपेन्द्र ऐरी र डेन लरेन्सले शतकीय साझेदारी गरेपछि धनगढीको पारी सम्हालिएको हो । उनीहरुले १ सय ८ रनको साझेदारी गरे । जुन पीपीएलको हालसम्मको खेलमा सबैभन्दा ठूलो साझेदारी हो । लरेन्स ५२ रनमा आउट हुँदा धनगढीले १ सय ४७ रनमा चोथौ विकेट गुमायो । दिपेन्द्रले अविजीत ५६ रन बनाए भने अन्तिम सौरभ खनालले ४ बलमा १३ रन थपे । बलिङ तर्फ विपिन खत्रीले दुई विकेट लिए ।
जवाफमा बुटवल २० ओभरमा ६ विकेट गुमाउदा १ सय ४१ रनमा रोकियो । सुरुवातदेखि नै लडखडाएको बुटवलले ८ रनमा पहिलो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको बुटवलले ६४ रन बनाउदा ५ विकेट गुमाएको थियो ।
उसका रोहन मुस्तफा २० रनमा आउट भए भने सागर पुनले मात्र एक रन जोडे । यस्तै भिम शार्की ५ रनमा पेभेलियन फर्किदा शंकर रानाले खाता खोल्न सकेनन् । यस्तै सिद्धान्त लोहनी १२ रनमा आउट भए । बुटवलका लागि चिराग सुरीले अविजीत ७९ रन बनाए ।


















