Prakash Adhikari November 8, 2026
  • गीता पाण्डे
    सामाजिक मामिला सम्पादक, भारत

नयाँदिल्ली(भारत), २२ कार्तिक । दुई वर्षअघि नै निर्माण सम्पन्न भए पनि सिनेमा हलसम्म पुग्न दुई वर्ष लागेको एक वृद्ध दम्पतीको कोमल प्रेम र शान्त एक्लोपनमा आधारित चलचित्रले अहिले भारतभरि नै समीक्षक र दर्शकहरूको मत जितिरहेको छ।

टेलिभिजन पत्रकारबाट चलचित्र निर्माता बनेका विनोद काप्रीले निर्देशन गरेको १ सय ११ मिनेट लामो चलचित्र पाएरले बसाइँसराइको गम्भीर समस्यालाई उजागर गरेको छ। यो समस्याका कारण हिमालय क्षेत्रका सयौँ सुन्दर गाउँहरू खाली भएका छन् र ती गाउँहरू भूत बस्तीमा परिणत भएका छन्। यसका साथै जलवायु परिवर्तनका कारण यो क्षेत्रको मौसम झन् कठोर बन्दै गएको विषयलाई पनि चलचित्रले प्रस्तुत गरेको छ।

सामाजिक सञ्जालमा धेरै भारतीयहरूले चलचित्र हेरेर हलबाट आँसु झार्दै बाहिर निस्किएका दर्शकहरूको भिडिओ शेयर गरेका छन्। अरू कतिपयले लामो समयदेखि कुनै चलचित्रले आफूलाई यति धेरै भावुक नबनाएको प्रतिक्रिया दिएका छन्।

चलचित्रका मुख्य कलाकारहरू पनि प्रशंसाका पात्र बन्नुभएको छ। उहाँहरू साधारण गाउँले हुनुहुन्छ जसले यसअघि कहिल्यै क्यामरा देख्नुभएको थिएन। बलिवुडका प्रतिष्ठित व्यक्तिहरू नसीरूद्दिन शाह र अनुपम खेरलगायतले पनि उहाँहरूको अभिनयको तारिफ गर्नुभएको छ ।

पाएरका मुख्य पात्रहरू पदम सिंह (काप्रीका काका पदम सिंहले अभिनय गरेका गर्नुभएको छ) र तुलसी )हीरा देवीले अभिनय गर्नुभएको छ। उहाँहरूलाई स्थानीय भाषामा बुबु र आमा भनिन्छ जसको अर्थ हजुरबुवा र हजुरआमा हो। यो वृद्ध दम्पती भारतको उत्तरी राज्य उत्तराखण्डको पहाडी क्षेत्रमा रहेको एउटा सानो घरमा बस्नुहुन्छ।

त्यहाँ मानिसको उमेरलाई इतिहासका महत्त्वपूर्ण घटनासँग तुलना गरेर मापन गरिन्छ। सिंह दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा दुई वर्षअघि जन्मिनुभएको थियो भने तुलसी जापानमा परमाणु बम खसालिएको वर्ष ।

त्यहाँ सडक र बिजुलीको सुविधा छैन। दम्पतीलाई प्रायः सहयोग आवश्यक परिरहन्छ किनभने तुलसीलाई बारम्बार अस्पताल लगिरहनुपर्छ र लैजाँदा पदम सिंहले परम्परागत लामो बाजा बजाएर छिमेकीहरूलाई बोलाउँनुहुन्छ। उनीहरूको सहयोगको बदलामा पदम सिंहले बाख्रा दिने गर्नुहुन्छ।

एकजना पात्रले भन्छन्, “यहाँ केही पनि छैन केवल पहाडहरू मात्रै छन्। त्यसैले युवाहरू राम्रो अवसर र सुखद भविष्यको खोजीमा गाउँ छोडेर बाहिर जान्छन्। सुन्दर भए पनि विभिन्न समस्याले ग्रस्त यो ठाउँलाई छोडेर जानेहरू प्रायः कहिल्यै फर्केर आउँदैनन्।”

निर्देशक काप्रीका अनुसार उहाँको चलचित्र मुख्य रूपमा वृद्ध दम्पतीको जीवनको अन्तिम दिनहरूमा आधारित हृदयस्पर्शी प्रेमकथामा केन्द्रित छ।

“उहाँहरूले ६५ वर्षसम्म सँगै जीवन बिताउनुभएको छ । पछिल्ला २८ वर्षदेखि उहाँहरू कामको खोजीमा मुम्बई गएको आफ्नो छोरा हरिया फर्किने पर्खाइमा हुनुहुन्छ। यो साथ, एक्लोपन र प्रतीक्षाको कथा हो।”

यति लामो समयपछि अचानक छोराको एउटा पत्र आउँछ। पत्रमा उसले आफू भेट्न आउने मिति उल्लेख गरेको हुन्छ। योसँगै उहाँहरूको प्रतीक्षाको व्यग्रता बढ्छ।

बाबुआमा छोरा आउने दिनको प्रतीक्षा गरिरहेका हुन्छन्। तर उहाँहरूको वरिपरि रहेका थोरै गाउँलेहरू पनि एकपछि अर्को गर्दै गाउँ छोडेर जान्छन्। अन्ततः पहाडी भूभागको बीचमा रहेको यो वृद्ध दम्पती पूर्ण रूपमा एक्लिन पुग्छन्।

“तपाईँ र तुलसी पनि सकेसम्म चाँडै यहाँबाट जानुपर्छ। नभए तपाईँहरूको मृत्यु हुँदा अन्तिम संस्कारका लागि तपाईँको शव पहाडबाट तल लैजान चारजना मानिस पनि हुनेछैनन्”,एक गाउँलेले गाउँ छोडेर जाने बेला पदम सिंहलाई भन्छन्।

सहयोगका लागि बोलाउन कोही पनि बाँकी नरहेपछि पदम सिंहले आफ्नो घरको ठिक बाहिर एक अर्काको छेउमा दुई वटा चिताको व्यवस्था गर्नुहुन्छ ।। एउटा आफूलाई र अर्को श्रीमतीका लागि।

तुलसीले त्यसबारे सोध्दा उहाँ भन्नुहुन्छ, “यदि तिमी मर्‍यौ भने मैले कसरी बोकेर तलसम्म लैजाने होला?”

यो चलचित्रको विषयवस्तु गम्भीर र निराशाजनक भए पनि यसमा हास्यरस छ। यसका दुई पात्र निकै रमाइला छन्। लामो समयदेखि वैवाहिक जीवन बिताएका धेरै दम्पतीजस्तै उनीहरू पनि एक अर्कासँगको भनाभनलाई प्रेम व्यक्त गर्ने एउटा माध्यमका रूपमा लिन्छन्।

उत्तराखण्डका काप्रीले सुन्दर पहाडी गाउँ मुन्सियारीमा ८४ वर्षका एक वृद्धलाई सन् २०१८ मा भेटेपछि यो चलचित्र बनाउने प्रेरणा आएको थियो।

“फेसबुकमा उहाँको तस्बिर देखेपछि भेट्न पुगेको थिएँ। उहाँको अनुहारका चाउरीहरूले मलाई निकै आकर्षित गरेको थियो। उहाँको अनुहार एकदमै फरक र विशिष्ट थियो”, काप्रीले भन्नुभयो।

उहाँले त्यो दम्पतीलाई सबैभन्दा ठूलो चिन्ता के हो भनेर सोध्नुभयो।

“उहाँले, /म पहिला मरेँ भने उसको ख्याल कसले गर्ला भन्ने छ? भन्नुभएको थियो।’ अनि श्रीमतीले ले भन्नुभएका थियो ,’उहाँलाई कसरी पकाउने थाहा छैन। त्यसैले म पहिला मरेँ भने कसले पकाएर उहाँलाई खुवाउलार’ त्यो मेरालागि मनछुने कुरा थियो।”

सुरुमा काप्रीले वास्तविक दम्पतीलाई लिएर नै चलचित्र बनाउन खोजेका थिए तर सम्भव नहुने स्पष्ट भएपछि एक सातापछि त्यो त्याग्नुभयो ।

त्यसपछि उहाँले वास्तविक जीवनमा पनि दम्पती रहेका नसीरूद्दीन शाह र रत्ना पाठकलाई भन्नुभयो।

शाहलाई चलचित्रको पटकथा निकै मन परेको थियो तर आफू र पाठक त्यस क्षेत्रका बासिन्दा नभएकाले पात्रहरूलाई न्याय गर्न कठिन हुने धारणा व्यक्त गर्नुभयो।

काप्रीले त्यसपछि आफ्नै परिवारभित्र पदम सिंह भेटाउनुभयो। आफ्ना काका जो अवकाशप्राप्त सैनिक हुनुहुन्छ र उहाँलाई अभिनयमा रुचि पनि थियो।

उहाँले तुलसी पात्र अर्को गाउँमा भेट्नुभयो। हीरा देवी एक वयस्क विधवा हुनुहुन्छ जसले भैँसी पालेर घाँस काटेर र वर्षौँ खेती गरेर सन्तानहरूलाई हुर्काउनुभएको थियो।

पदम सिंह र हीरा देवीले बीबीसीसँग कुरा गर्दै आफूहरूले बितेका वर्षहरूमा गाउँ रित्तो भएका, सन्तानहरू गाउँ छोडेर हिँडेका, आमाबुवालाई छोडेर हिँडेका कथाहरू देखिरहेको बताउनुभयो। तर पाएरले दर्शकहरूबाट खिचेको ध्यानले आफूहरू अचम्मित भएको बताउनुभयो।

सन् २०२४ यता उक्त चलचित्र विश्वका ठूला महोत्सवहरूमा प्रदर्शन भयो। उक्त चलचित्रले १८ वटा अवार्ड पाइसकेको छ जसमा तीन उत्कृष्ट चलचित्रको र १२ दर्शकको चयनमा परेको चलचित्रका रूपमा।

महोत्सवहरूमा सफल भए पनि वितरक बिना आफूले दुई वर्ष बिताउनुपरेको काप्रीले बताउनुभयो। ओटीटी प्लेटफर्महरूले पनि चलचित्र प्रदर्शनीका लागि स्वीकृत गरे तर चलचित्र हलमा तब मात्रै पुग्न सक्यो जब काप्रीका निर्माता साथीले आफ्नै लगानीमा प्रदर्शनीका लागि कदम उठाए।

तर अक्टोबर ३० तारिखमा ७० वटा हल पाएपछि त्यसले उचित समीक्षा पायो। टिकटको माग बढेसँगै शोहरू पनि बढ्दै गए।

हीरा देवीले आफ्ना सन्तानहरू र समाजले चलचित्र हेरेपछि के भन्लान् भनेर आफू चिन्तित बनेको सुनाउनुभयो।

अहिले हिरादेवी र पदम सिंह दुवैजना चलचित्र आलोचकहरूले दिएको सकारात्मक समीक्षाबाट खुसी हुनुहुन्छ र दर्शकहरूको पनि माया पाइरहनुभएको छ।

उहाँहरूले थुप्रै हलहरूमा आँसुले भिजेका आँखाहरू देख्नुभयो। धेरैले उहाँहरूको खुट्टा छुन खोजे र अँगालो मारे। कतिले गाउँ, सहरमा कुरिरहेका आफ्नै आमाबुवा र हजुरबुवा हजुरआमा सम्झिएको बताए।

“हामीले असाध्यै खुसी महसुस गर्‍यौँ। हामीले धेरै माया र प्रेरणा पायौँ जुन हामीले कहिल्यै कल्पना पनि गरेका थिएनौँ”, पदम सिंहले भन्नुभयो।

तर सबैभन्दा उत्कृष्ट क्षण त्यति बेला आयो जब उहाँले मुम्बईमा नसीरुद्दीन शाहलाई भेट्नुभयो।

“उहाँले पूरै चलचित्र हेर्नुभयो र आँखाभरि आँसु पार्नुभयो। मलाई अँगालो मार्नुभयो। उहाँले भन्नुभयो, ुबुबु, तिमीले जुन भूमिका देखायौ, मैले सात जुनीमा पनि त्यस्तो गर्न सक्दैन थिएँ।”

हीरा देवी चलचित्रले भनेजस्तै ‘वास्तविकतामा पनि, हाम्रा गाउँहरू त्यस्तै छन्’ भन्नुभयो।

“भारतभरिका गाउँहरूमा वृद्धहरूमात्रै छन्। कसैका पनि सन्तान गाउँमा बस्दैनन् र सबै आमाबुवाको अवस्था उस्तै छ। उनीहरू आफ्ना छोरा र बुहारीको पर्खाइमा छन् जो नाति नातिनीहरू आफूलाई भेट्न आएर केही दिन बसुन् भन्ने चाहन्छन्। त्यो एक्लोपन सहनै नसकिने छ।”

पदम सिंहले उत्तराखण्ड र बाँकी भारतका युवा पुस्ताका लागि आफूसँग एउटा सन्देश भएको बताउनुभयो।

“म उनीहरूलाई भन्न चाहन्छु कि उनीहरूले आफ्नो जन्मभूमिलाई त्याग्नु हुँदैन”, उहाँले भन्नुभयो।

“म सरकारलाई पनि मानिसहरू जहाँ छन् त्यहीँ शिक्षा र रोजगारी पुर्‍याउन अपिल गर्छु ताकि उनीहरू अन्यत्र टहल्नु नपरोस्। त्यसो भयो भने आमाबुवा पनि रेखदेख नपाएर बस्नुपर्दैन।”

Share Now