
प्रकाश अधिकारी
काठमाडौ, १७ कार्तिक । मुलुकको विकासको बाधकको रुपमा रहेको भ्रष्टाचार र बेथितिलाई निर्मूल पार्ने संकल्पसहित विभिन्न क्षेत्रमा सक्रिय नागरिकहरुको भेलाले शनिवार काठमाडौंबाट नयाँ राष्ट्रिय अभियानको थालनी भएको घोषणा गरेको छ ।
काठमाडौंको कान्तिपथस्थित होटल यलो प्यागोडामा भएको भेलाले नेपालका लागि नेपाली भन्ने अभियानको घोषणा गरेको हो । यो अभियानमा प्राध्यापक,शिक्षक, वरिष्ठ अधिवक्ता,पत्रकार,निजामति सेवाकोविशिष्ट श्रेणीबाट सेवानिवृत भएका पूर्व सचिवहरु, सुरक्षा निकायको उपल्लो श्रेणीबाट निवृत भएका राष्ट्रसेवकहरु, माओवादी जनयुद्धमा लागेर यथार्थबोध भएका पूर्व लडाकूहरुसहित विभिन्न पेशामा संलग्न व्यवसायीहरुको सहभागिता रहेको छ ।
अभियानले शनिवार आफ्नो सल्लाहकार समिति र कार्य सञ्चालन समिति सार्वजनिक गरेको छ ।
अभियानको औचित्य
सल्लाहकार समिति र कार्य सञ्चालन समितिसहित अभियानको घोषणा कार्यक्रममा यसका अगुवाहरुले देशमा भएको पछिल्लो परिवर्तनपछि पनि जनतामा निराशा पैदा भएको र सामान्य नागरिकको जनजीवन कष्टप्रद हुँदै गएकोले देशमा मौलाएको भ्रष्टाचार निर्मूल गरी देशमा सुशासन कायम गर्न नागरिकहरुको पहलमा नयाँ अभियान थालिएको दावी गरेका छन् ।
उनीहरुका अनुसार पञ्चायतकालदेखि हालसम्म सार्वजनिक ओहोदामा बसेका जिम्मेवार व्यक्तिहरुले देशको विकास र नागरिकको जीवनस्तर अभिबृद्धिका लागि राज्यकोषबाट निकासा भएका रकम र विदेशी मित्रराष्टहरुले दिएको सहयोग दुरुपयोग गरी व्यक्तिगत लाभ लिएकोले नेपालीको दुर्दशा भएको हो । यसलाई हटाउन जनताको नाममा आएको रकम खाएर अकूत सम्पत्ति कमाउनेहरुको सम्पत्ति छानवीन गरी पैतृक सम्पत्ति र स्वभाविक आय बाहेकको अकूत सम्पत्ति राष्ट्रियकरण गरेर गरिबी निवारणको लागि खर्च गरिने व्यवस्था गर्न उचित प्रबन्ध मिलाउन देशव्यापी दवाव दिइनेछ ।
नागरिक आयोग गठन गर्ने
नेपालका लागि नेपाली नामक यस अभियानले देशमा भएका भ्रष्टाचार र आर्थिक अनियमितताको मुद्दाहरुलाई सम्बन्धित क्षेत्रमा ख्याति कमाएका निष्कलंकित व्यक्तिहरु रहेको आयोगमार्फत छानवीन गराएर सत्यतथ्य बाहिर ल्याउनेछ । अभियानका अगुवा अधिवक्ता डा. सुरेन्द्र भण्डारीले घोषणासभामा दिनुभएको जानकारी अनुसार हालसम्म नेपालको सार्वजनिक खरिदमा भएको सबैभन्दा ठूलो घोटाला भएको वाईडबडी काण्डबाटै यसको शुरुआत हुनसक्नेछ ।
अभियानले ७७ जिल्लामा नै एकैसाथ कामको थालनी गर्ने जनाएको छ । यसका लागि जिल्ला संयोजक तोकेर जिल्लामा भएका विकास निर्माणका कामको फेहरिस्त लिने र तिनमा भएका भ्रष्टाचारको बारेमा जानकारी दिन नागरिकहरुलाई सूचित गर्ने कार्यपद्धति अभियानले बनाउनेछ ।
यस अभियानलाई स्थानीय तहका वडावडासम्म पुर्याउने लक्ष्य अभियानकर्मीहरुले लिएका छन् । केन्द्रको मुहानदेखि स्थानीयतहको चुहानसम्म हुने सबैखालका भ्रष्टाचार,अनियमितता र बेथितिलाई एकसाथ उजागर गर्दै सुशासन कायम गर्न सकिने विश्वास अभियानकर्मीहरुको रहेको छ ।
अभियानकर्मीहरुले नेपाली नागरिकहरुले प्राप्त गरेका लोकतान्त्रिक उपलब्धिहरुको जगेर्ना गर्ने, निर्वाचन पद्धतिमा सुधार ल्याउने,कार्यपालिका,व्यवस्थापिका र न्यायपालिकालाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने, राष्ट्रिय एकता अभिबृद्धि गर्ने, आपसी सद्भाव र सहिष्णुता अभिबृद्धि गर्ने, राष्ट्रियतालाई सबल बनाउने,अपराधीकरण र दण्डहिनताको अन्त्य गर्ने, शिक्षा र स्वास्थ्यजस्ता राज्यले नागरिकलाई दिनुपर्ने आधारभूत सेवामा भएको व्यापारिकरण बन्द गर्ने जस्ता विषयलाई प्राथमिकताकासाथ उठाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
अभियानका प्रस्तावित कार्यक्रम
अभियानको प्रारम्भिक अवधारणापत्रमा जनाइए अनुसार यस अभियानका अगुवाहरुले राष्टिय भेलामा शनिवार जम्मा भएका विभिन्न जिल्लाका प्रतिनिधिहरुको सहकार्यमा जिल्ला जिल्लामा सार्वजनिक भेला र सभा गर्नेछन् र सो अवसरमा जिल्ला जिल्लामा, स्थानीय निकायमा, तिनका वडातहसम्म र आवश्यक परे टोलटोलसम्म शाखाहरु गठन गरिनेछ ।
ती शाखाहरुलाई आफ्नो क्षेत्रभित्र सञ्चालित सरकारी र गैरसरकारी विकास निर्माण वा सेवासम्बन्धी योजना,आयोजना वा कार्यक्रमको बार्षिक बजेट, भएका कामका बारेमा जानकारी लिन लगाइने छ । भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भए सोको अभिलेख राखिनेछ । उपभोक्ता तथा स्थानीय तहमा पनि त्यसको जानकारी गराइनेछ भने अभियान अन्तरगत गठन हुने नागरिक आयोगमा त्यसकाबारेमा छानवीन गर्न निवेदन पनि दिइनेछ । यस्तो भ्रष्टाचार,अनियमितता र ढिलासुस्तीमा संलग्न व्यक्तिहरुको विवरण सार्वजनिक गरि नंग्याइनेछ । आउदा दिनमा राजनीतिक नेतृत्वलिन अग्रसर हुननसक्ने अवस्था सिर्जना गराइनेछ ।
अभियानका अगुवाहरुले आवश्यक परेमा सामाजिक वहिष्करण अभियान पनि सञ्चालन गर्ने बताएका छन् ।
अभियानमा कोको छन ?
शनिवारको भेलामा अभियानकर्मीहरुले २५ सदस्यीय सल्लाहकार समिति र ९ सदस्यीय कार्य सञ्चालन समिति सार्वजनिक गरेका छन् ।
नेपालका लागि नेपाली अभियानमा ऊर्जाविज्ञ रत्नसंसार श्रेष्ठ, पत्रकारद्धय युवराज घिमिरे र आदित्यमान श्रेष्ठ, प्रा.डा. बन्धु कोइराला, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, भ्रष्टाचार विरोधी अभियन्ता भरत जंघम,परामानन्द झा, विनोदविक्रम सिंजापति,पर्यटन व्यवसायी दिलविकास राजभण्डारी, जलस्रोतविद् तथा पूर्व मन्त्री दीपक ज्ञवाली,लक्ष्मीबहादुर निराला,प्रेमसिंह बस्नेत,गणेश मल्ल,देवराज लोहनी,डा. ठाकुरमोहन श्रेष्ठ,डा.हरिप्रसाद प्रधान,पूर्वमहालेखा परीक्षक सुखदेव भट्टराई,मुकुन्द काफ्ले,प्रा.विजयसिंह सिंजापति,अधिवक्ता विद्याकान्त अधिकारी,डा. छिरिड.लामा,दिलमान गुरुड.र डा. राजेश अहिराज रहनुभएको छ । अभियानको सल्लाहकार समितिमा रहने केही पूर्वप्रशासकहरुको नामभने केहीपछि सार्वजनिक गर्ने अभियानले जनाएको छ ।
अभियानले आफ्नो कार्य सञ्चालनको लागि ९ सदस्यीय कार्य सञ्चालन समिति पनि सार्वजनिक गरेको छ । जसमा अजित राई,विना झा,अमृत खरेल, शम्भु घिमिरे,रोजा श्रेष्ठ, नारायण घिमिरे,बालकृष्ण नेउपाने,डा.सुरेन्द्र भण्डारी रहनुभएको छ । सीमान्तकृत समुदायको एक महिलाको स्थान खाली राखिएको छ ।
भ्रष्टाचार सबैको शत्रु
अभियानको घोषणासभामा बोल्ने अगुवाहरुले भ्रष्टाचार सबैको शत्रुभएकोले यसलाई निर्मूल पार्ने अभियानमा सबै नेपालीको सहयोग हुने विश्वास व्यक्त गरेका थिए ।
अभियानको आवश्यकतामाथि प्रकाश पार्न अगुवाहरु अधिवक्ताहरुबालकृष्ण न्यौपाने, डा. सुरेन्द्र भण्डारी,कृष्णप्रसाद भण्डारी,भरत जंगम,डा.बन्धु कोइराला,डा.प्रेमसिंह बस्नेत,सुकेदव भट्टराई,डा.ठाकुरमोहन श्रेष्ठ,पत्रकार तारावराल लगायतले भ्रष्टाचार सामाजिक अपराध नै भएकोले यसकाविरुद्ध सशक्त ढंगले लड्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित पूर्व माओवादी लडाकूहरुमा माओवादीबाट देश र जनतालाई धोका भएकोले नेताहरुको सम्पत्ति छानवीन गरेर राष्ट्रियकरण गर्नुपर्ने माग उठेको थियो ।