Prakash Adhikari November 16, 2018

प्रकाश अधिकारी
काठमाडौं,२९कार्तिक । अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय सेवा विस्तार गरेर नेपालमा पर्यटक भित्र्याउने उद्देश्यले गत असार १४ र साउन १० गते एअर बस निर्मित ३३०—२४३ सेरिजका वाईड बडीका जोडा जहाज भित्र्याएको पूर्ण सरकारी स्वामित्वको नेपाल वायुसेव निगमको वित्तीय अवस्था अत्यन्त दयनीय बन्न पुगेको छ । आफूले लिएको कर्जाको व्याज, साँबाको किस्ता र कर्मचारीको उपदान खर्च पनि व्यहोर्न नसक्ने अवस्थामा पुगेको यो संस्था सरकारले थप पूँजी लगानी गरेन भने बन्दै हुने स्थितिमा पुग्ने देखिन्छ ।

 

नेपाल सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको २४ अर्ब ऋणमा साँढे चार महिना अगाडि एक महिनाको बीचमा दुईवटा वाईड बडीको नयाँ जहाज थपेको निगमले बिहिबार आफ्नै केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर संस्थाको विग्रदो आर्थिक अवस्थाको बारेमा चित्रण गरिएको श्वेतपत्र जारी गर्दै यसको जानकारी दिएको हो ।

ब्याज,साँवाको किस्ता र उपदान दिन पनि मुस्किल

श्वेत पत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सार्वजनिक गर्नुभएको विवरण अनुसार ३० करोडको अधिकृत पूँजी भएको निगमको तिर्नुपर्ने दायित्व करिब ४२ अर्बको छ । यसमा निगमका साहुलाई तिर्नुपर्ने रकम, जहाज खरिद गर्न लिएको कर्जाको साँवाको किस्ता रकम ,कर्मचारी अवकाश कोषको दायित्व र कूल कर्जा समाविष्ट छ ।

निगमले एअरबसका ३२०—२००सेरिजका साँघुरा आकारका दुई जहाज र ३३०—२४३ सेरिजका बाईड बडीका जहाज किन्दा तिनुपर्ने ब्याज दायित्व ४५ करोड ६६ लाख ८० हजार ८ सय ३ रुपैया ७७ पैसा छ । जहाज किनेको कर्जाको ब्याजमात्र निगमलाई मासिक ३२ करोड २ लाख ८४ हजारमाथि पर्दछ । जहाजहरुको खरिदमा लिएको कर्जाको त्रैमासिक किस्ता मात्र निगमले १ अर्ब १४ करोड जति तिर्नुपर्दछ ।

निगम अहिले दैनिक १ करोड भन्दाबढीको नोक्सानीमा छ । यथाअवस्थामा निगमले सो दायित्व शिर्षक अन्तरगतका कुनै पनि रकम तिर्न सक्ने अवस्था देखिदैन । निगमले साहुलाई ९४ करोड २० लाख जति, कर्मचारी अवकाश कोषमा योगदान गर्नुपर्ने ९४ करोड ८६ लाख बढी र ओभर ड्राफ्ट सहितको कूल कर्जा ३९ अर्ब ३९ करोड जति तिर्नुपर्नेछ । निगमको बेडामा एअरबसका ३३०—२४३ सेरिजका बाईड बडीका जोडा विमान थपिनु पहिले निगम मासिक १ करोड २५ लाख ४४ हजार ६ सय ५५ रुपैया २८ पैसा नाफामा थियो । तर वाईड बडीका जहाज सञ्चालन गरेपछि निगम मासिक ३१ करोड ७७ लाख ९८ हजार ८७ रुपैया ७ पैसा नोक्सानीमा गएको छ ।

नेपालको अत्यधिक पर्यटक आवत जावत हुने तथा विदेशमा रहेका नेपाली दशै र तिहार मान्न आउने र फर्केर जाने महिना सेप्टेम्बर,अक्टोबर र नोभेम्बरमा पनि यो प्रवृत्तिमा नाटकीय सुधार आउन सकेन । यसैले यी जहाजहरु हाल सञ्चालन भएका रुटमा नै सञ्चालन गरिएमा निगम थला पर्ने निश्चित जस्तै देखिन्छ ।निगम व्यवस्थापनको निकम्बापनको कारण जहाज खरिद गर्न २०१६ देखि तयारी थालेपनि तिनको लागि थप गन्तव्य तयार पार्न निगम व्यवस्थापन आजसम्म असमर्थ रहेको छ । थपिएका ठूला र नयाँ जहाजहरु पुराना जहाजहरुले सेवा दिइरहेकै गन्तव्यमा उडाउदा साना जहाजको समेत ब्यापार र आम्दानीको हिस्सा घट्न गएको छ ।

निगमले आफ्नो कूल सम्पत्ति ४८ अर्ब ९३ करोड ३४ लाख ६० हजार ४ सय ८ रुपैया ९० पैसा भएको जनाएको छ । यसमा करिब ३८ अर्ब बराबरका जहाज तथा इन्जिन, ७ अर्ब ५९ करोड बढीको भवन तथा जग्गा,७५ करोड बढीका असामी, करिब २१ करोडको बैंक मौज्दात,करिब २ अर्ब ४४ करोड जतिका पार्टपूर्जा,करिब २२ करोड जतिका भूमिस्थ सेवा उपकरण रहेका छन् । निगमले सरकारमार्फत कुनै राहत प्याकेज पाउन सकेन भने ब्याज,पेनाल ब्याज,त्रैमासिक साँबा किस्ताको बक्यौता बढन गएर छिट्टै निगमको कूल सम्पत्ति भन्दा तिर्नुपर्ने दायित्व बढी हुन जाने निश्चित छ । निगमको सम्पत्तिको मूल्यांकन निगम आफैले गरेको हो वा स्वतन्त्र मूल्यांकनकर्ताबाट गरेको हो भन्नेबारेमा निगमका कार्यकारी अध्यक्ष खरेलले बताउनुभएन ।

वाइड बडी सेतो हात्ती

निगमको आर्थिक अवस्थाको पनि कायापलट गर्ने र निगमलाई यस क्षेत्रको उम्दो,भरपर्दो,सुरक्षित वायुसेवाको रुपमा विकसित गर्ने लक्ष्य लिएर नेपाल सरकार जमानी बसेर सरकारी स्वामित्वका दुई संस्थाहरुबाट १२/ १२ अर्ब रुपैया कर्जा लिएर खरिद गरिएका ३३०—२४३ विमान निगमकोलागि अहिले सेतो हात्ती भएका छन् ।

वाइड बडीको जहाज ल्याउनुपूर्व निगमको कर्जा थोरै थियो । तिर्नुपर्ने ब्याज र साँबाको किस्ता रकम थोरै थियो । विदेशमा उडान गर्ने साँघुरा आकारका जहाज पूर्ण क्षमतामा चलेका थिए । निगम मासिक नाफामा जाने गरेको थियो ।

निगमले जारी गरेको श्वेतपत्रको पृष्ठ ५ मा वाईड बडीका जहाज उडाउनु अगाडि र पछाडिको वित्तीय स्थितिको तुलना गर्दै मासिक नगद प्रवाहको स्थिति देखाएको छ , जसमा बाईड बडीका जहाज आउनुपूर्व मासिक १ करोड २५ लाख ४४ हजार ६ सय ५५ रुपैया २८ पैसा वचत हुने निगममा वाईड बडीको जहाज चलेपछि मासिक ३१ करोड ७७ लाख ९८ हजार ८७ रुपैया ७ पैसा नोक्सान भएको उल्लेख छ । पृष्ठ ४ मा भनिएको छ, ‘मिति १ अगष्ट २०१८ बाट ए ३३० जहाजको ब्यवसायिक उडान प्रारम्भ भई १५ सेप्टेम्बर २०१८ सम्ममा ए ३३० जहाजबाट रु २६.४८ करोड आम्दानी भएको छ भने रु ७५.६६ करोड खर्च भई ए ३३० बाट मात्रै ४९.१८ करोडले खर्चभन्दा आम्दानी न्यून भएको छ ।’

वाइड बडीका जहाजको उपयोगिता पनि कम भएको श्वेतपत्रमा उल्लेख गरिएको छ । एक उडानमा निरन्तर १२ देखि १३ घण्टा उड्न सक्ने बाईड बडीका जहाजहरुको उपयोग दैनिक ५ घण्टा २० मिनेटदेखि अधिकतम ८ घण्टासम्ममात्र भएको छ ।

यी जहाजलाई उडान दिनको लागि निगमले विस्थापनको चरणमा पुर्याउन लागेको एसीबी संकेत चिन्हको गण्डकी बोइड.लाई दैनिक ६.९ देखि ६.४ घण्टामा झारिएको छ जबकि यी जहाज आउनुपूर्व गण्डकीले दैनिक ११.४१ घण्टा उडान गर्दै आएको थियो ।

सिट संख्याको आधारमा यात्रुको उपस्थिति पनि वाईड बडीमा न्यून छ । यिनमा न्यूनतम ३३ प्रतिशतदेखि अधिकतम ६६ प्रतिशत सीट अकुपेन्सी पुगेको देखिन्छ ।

श्वेतपत्रमा भनिएको छ, ‘निगमले वाईड बडी ३३० जहाजहरुको आफ्नो व्यवसायिक योजना मुताबिकका लामो दूरीको सेक्टरमा उडान सञ्चालन गर्न नसक्दा दुई नयाँ बाईड बडीका जहाजहरुको औसत दैनिक उपयोग निकै न्यून रहेको देखिन्छ ।’

निगमले तयार पारेको व्यवसायिक योजना र जहाज सञ्चालन हुने संभाव्य गन्तव्यहरुको सूचीमा अष्ट्रेलियाको सिड्नी,मेलबर्न, ब्रिसबेन सहित लण्डनको गेटविक र हेथ्रो, फ्रांकफर्ट, टोकियो, सोल, बेइजिड।,चेन्नाई, मुम्बई, दिल्ली, ओसाका, संघाई, हंगकंग, गोञ्जाउ, क्वालालम्पुर, बैंकक, सिंगापुर, दोहा र दुबाईलाई किटानी गरि ती स्थानको एअरपोर्टको अवस्थिति पनि उल्लेख गरेको थियो । तर जहाज खरिदलाई आधार बनाएर रकम कुम्ल्याउने सपना देखेका निगमका टाउकेहरुले प्राविधिक रुपमा पूरा यात्रु लिएर सीधै अष्ट्रेलिया जान नसक्ने कम अधिकतम उडानभारका विमान निगमलाई भिराएका छन् ।
श्वेतपत्रमा निगमको व्यवस्थापनको खिचातानी पनि स्पष्ट देखिन्छ । पृष्ठ नं ४ को निगमले वाईड बडी ३३० जहाजहरु आफ्नो व्यवसायिक योजना मुताबिकका लामो दूरीको सेक्टरमा उडान सञ्चालन गर्न प्रक्रिया सुरु भएकोमा सञ्चालन स्वीकृति प्राप्त गर्न सकेको छैन र सञ्चालन स्वीकृति प्राप्त गर्न अझै केही महिना लाग्ने देखिन्छ भनिएको छ भने पृष्ठ नं १५ को बूँदा नं ६.४ को दोस्रो अनुच्छेदमा ‘ए ३३० जहाजले जापान कोरिया र रियादमा उडान सञ्चालन गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको र जीएसए छनोट कार्य भैरहेको छ’ भनिएको छ ।

सरकारसंग २० अर्ब माग

दुईवटा वाईड बडीको जहाज खरिद गर्न २४ अर्ब कर्जा लिन जमानी बसेको नेपाल सरकारसंग निगम व्यवस्थापनले चालु पूँजीको लागि २० अर्ब रुपैया निकासा गर्न पर्यटन मन्त्रालयमार्फत अर्थमन्त्रालयमा लिखित प्रस्ताव पेश गरेको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमका उडानहरुलाई सुचारु गर्न थप चालु खर्च अपरिहार्य भैसकेको बताउदै भन्नुभयो, ‘२० अर्ब रुपैया एकैचोटी दिनपर्छ भन्ने छैन, पटक पटक गरेर दिए पनि हुन्छ । मलाई लाग्छ मन्त्रालय र अर्थमन्त्रीले यसको आवश्यकता र मर्म बुझ्नुहुन्छ ।’

वाईड बडीको अनियमितताबारे छिट्टै पत्रकार सम्मेलन गरिने

निगमले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले निगमका दुई वाइड बडीको खरिदका बारेमा उठाएका प्रश्नहरुको जवाफ दिंदै कार्यकारी अध्यक्ष खरेलले यस सम्बन्धमा महालेखा लगायतका संबन्धित निकायले सोधेका प्रश्नहरुको जवाफ दिइएको र सार्वजनिक जानकारीको लागि छिट्टै पत्रकार सम्मेलन आयोजना गरिने बताउनुभएको छ ।

श्वेतपत्र जस्ताको तस्तै हेर्न यसमा क्लिक गर्नुहोस् :

https://drive.google.com/open?id=1DTXFb6VfRaqBoQFg1Du-MJgl08B84qhX

Share Now

Leave a comment.