
काठमाडौँ, २४ चैत : राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले राम नवमीको अवसरमा समस्त नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरु दुवैले मर्यादा पुरुषका रुपमा पूजिने भगवान रामचन्द्रको आदर्शले समाजलाई शदिर्यौदेखि प्रेरित गर्दै आएको विश्वास व्यक्त गर्नुभएको छ ।
ले रामनवमी पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रुपमा ‘राम नवमी’ पर्व धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन भगवान् श्रीरामको विशेष पूजा अर्चना, व्रत अनुष्ठान र जप ध्यान गर्नाले भगवत् कृपा प्राप्त भई आफूले चिताएको सम्पूर्ण कार्य पूरा हुने जनविश्वास रहेको राष्ट्रपति पौडेलले जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ ।
शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले हाम्रो प्राचीन सभ्यताका साथै धर्म र संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । रामनवमी भगवान् श्रीरामको जन्म दिवस मात्र नभई यो दिनलाई समस्त पृथ्वीमा अधर्मको पराजय र धर्मको स्थापना भएको खुसीयालीको दिवसका रुपमा पनि लिइन्छ । यस दिन मुलतः देशको विभिन्न स्थान एवं जनकपुरस्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्दछ ।
“राम नवमीजस्ता सांस्कृतिक तथा ऐतिहासिक पर्वहरूले हाम्रो विविध जातजाति, भाषाभाषी, सांस्कृतिक एवं भौगोलिक क्षेत्रका नेपालीको बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको छु”, राष्ट्रपति पौडेलले सन्देशमा भन्नुभएको छ । नेपालीको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गरी यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावना अभिवृद्धि गर्न उत्प्रेरित गर्न सकोस् भन्ने कामना पनि उहाँले शुभकामना सन्देशमार्फत व्यक्त गर्नुभएको छ ।
श्रीरामको आदर्शलाई आत्मसात् गर्न उपराष्ट्रपतिको जोड
उपराष्ट्रपति रामसहायप्रसाद यादवले रामनवमी पर्वले भगवान् श्रीरामको आदर्श, सत्य, धर्म र मर्यादाप्रतिको आस्थालाई थप सुदृढ बनाउन सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
हिन्दू धर्मावलम्बीको महान् पर्व रामनवमी, २०८१ को आज शुभकामना दिँदै उपराष्ट्रपति यादवले यो पर्वले श्रीरामले आफ्नो कर्तव्यपालन गर्दै समाजमा शान्ति, सद्भाव र न्यायको स्थापना कसरी गर्नुभयो भन्ने ग्रहणयोग्य सकारात्मक सन्देश दिएको बताउनुभयो ।
उपराष्ट्रपति यादवले श्रीरामको आदर्शलाई आत्मसात् गर्दै देश र समाजमा एकता, समृद्धि र प्रगतितर्फ अग्रसरताका लागि प्रण गर्ने अवसरका रूपमा यो पर्वलाई लिन सक्नुपर्नेमा जोड दिनुभएको छ । श्रीराम धर्म र संस्कृतिको अनुपम प्रेरकका रूपमा हिन्दू समाजमा अनादिकालदेखि प्रतिष्ठित हुनुभएको उल्लेख गर्दै उहाँले श्रीरामले शास्त्रसम्मत ज्ञानलाई आफ्नो चरित्रमा उतारेर सिङ्गो संसारलाई धर्मको पथमा हिँड्न सम्भव छ भन्ने सन्देश दिनुभएको छ ।
“श्रीरामझैँ हाम्रो जीवन चरित्र प्रधान हुनुपर्दछ । उहाँको जीवन सत्य, धर्म र नैतिकताको प्रतीक थियो, त्यसलाई हामीले आफ्नो जीवनमा आत्मसात् गर्न सक्नुपर्दछ”, उहाँले सन्देशमा भन्नुभएको छ ।
उपराष्ट्रपतिले रामनवमीका अवसरमा गरिने भजन, कीर्तन र उपासना आमनागरिकलाई भक्ति, आध्यात्मिकताको मार्गतर्फ उन्मुख गर्दै मानिसमा नैतिकता, धार्मिकता, परोपकार एवं जनकल्याणको भावना प्रस्फुटित गराउने प्रयासबाट ओतप्रोत रहेको उल्लेख गर्नुभएको छ ।
“हाम्रा पर्वहरू सद्भावना, जनकल्याण, नैतिकता र सद्चरित्रको अङ्कुरण गराउने माध्यम पनि भएकाले यसलाई सद्भक्ति, अध्यात्मिकता र नैतिकताको सेतुबन्धको रूपमा उपयोग गर्दै यसमार्फत देश र समाजमा शान्ति, मङ्गल र कल्याणका भावनाहरू जागृत गर्ने प्रयासहरूलाई उत्प्रेरित गर्ने अचूक सूत्रका रूपमा आत्मसात् गर्न जरुरी छ”, सन्देशमा उहाँले भन्नुभएको छ ।
उपराष्ट्रपति यादवले मानवकल्याण, देश र समाजमा समृद्धि, सद्भाव, भाइचारा, मैत्रीभावलगायतका सकारात्मकतालाई सबैले अङ्गीकार गर्दै अघि बढ्नु आजको आवश्यकता भएकामा जोड दिनुभएको छ । “रामनवमी उत्सवमात्र होइन, हामीले आफ्नो जीवनलाई श्रीरामको आदर्शहरूसँग जोड्ने एउटा मङ्गलमय अवसर पनि हो”, उहाँले भन्नुभएको छ, “यस अवसरमा श्रीरामझैँ असल र मर्यादित सङ्कल्पका साथ अघि बढ्न सबैलाई प्रेरणा प्राप्त होस् ।”