
काठमाडौं, २४ चैत्र । नेपाल र अफगानिस्तानका १९ बर्ष मुनिका युवा टोली आज पनि मैदानमा भिड्दै छन् । नेपाल भ्रमणमा रहेको अफगानी टोलीले दोस्रो अभ्यास खेलमा टस जितेको छ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिले ब्याटिङ रोजेको छ ।
यसअघि बिहीवार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो।
अफगानिस्तानसँग ३ खेलको अभ्यास सिरिजमा १-० को अग्रता रहेको छ। यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ। यदि आज अफगानिस्तानले खेल जिते यो अभ्यास सिरिज अफगानिस्तानले जित्ने छ।
नेपाल र अफगानिस्तान दुवै राष्ट्र यु १९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । एसिया छनोट अर्को साता नेपालमा नै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन्।
नेपालले सन् २००० मा पहिलो पटक यु १९ विश्व कप खेलेको थियो। सन २००० देखि २०२४ सम्म नेपालले ८ पटक विश्व कप खेलिसकेको छ। अब यो पटक नेपाल नवौं पटक विश्व कप खेल्ने प्रयासमा रहेको छ।