काठमाडौं, ३० कार्तिक । नेपाली किशोर क्रिकेट खेलाडी सन्दीप लामिछाने युनाइटेड अरब इमिरेट्समा आयोजना हुने टि-१० लिग खेल्न आईतबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
यही नोभेम्बर २१ तारिक देखि सुरु हुने टि-१० लिगमा सन्दिप केरला किंग्सबाट खेल्नेछन्। किंग्सले २१ तारिकमा शहिद अफ्रिदी आइकन खेलाडी रहेको पख्तुनको सामना गर्नेछ।
गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनर सन्दीपलाई किंग्सले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा लिएको थियो।
इंग्ल्याण्ड क्रिकेट टिमका कप्तान समेत रहेका अवेन मोर्गन कप्तान रहेकोे केरला किंग्स्मा सन्दीपका अलवा क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्।
केरला किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गर्नेछन्।
गत बर्ष आयोजना भएको टि-१० लिगको पहिलो संस्करणमा केरला किंग्सले पञ्जाब लेजेन्ट्सलाई पराजित गर्दै उपाधि जितेको थियो। पहिलो संस्करणमा पनि मोर्गनले टिमको कप्तानी गरेका थिए र फाइनलमा २१ बलमा ६३ रन बनाएका थिए।
टी-१० लिगमा कुल ८ टिम सहभागी रहेका छन् जसमा मराठा अरबियन्स, पख्तुन्स, पन्जाबी लेजेन्ड्स, कराचियन्स, बङ्गाल टाइगर्स, केरला किंग्स, राजपुत्स, नर्थर्न वारियर्स रहेका छन्। केरला किंग्सको आइकन मोर्गन, मराठाको राशिद खान, पख्तुन्सको शहिद अफ्रिदी, पन्जाबीको शोयब मलिक, कराचियन्सको शेन वाटसन, बेङ्गालको सुनिल नारायण, नर्थर्न वारियर्सको ड्यारेन स्यामी तथा राजपुत्सको ब्रेन्डन म्याकलम रहेका छन्।
लिगको खेलमा १० ओभर प्रति इनिंगको हुनेछ र ९० मिनेटमा खेलनै सकिन्छ। प्रतियोगिताको खेलहरु शारजाह क्रिकेट स्टेडियममा खेलिनेछ।
टि-१० लिगमा सहभागी भएपछि सन्दीप डिसेम्बर ८ देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिग टि-२० खेल्न आउने छन्। इपिएलमा सन्दीप ललितपुर प्याट्रीएट्स टिममा रहेका छन्।
त्यसपछि उनी डिसेम्बर १९ देखि फेब्रुवरी १७ सम्म चल्ने चर्चित अस्ट्रेलियन लिग बिग ब्यास पनि सुरु हुने हुँदा इपिएलमा सन्दिपले पहिलो २ वटा खेल मात्रै खेल्नेछन् । बिग ब्यास लिगकै बीचमा सन्दिप ५ जनवरी ९ फेब्रुवरीसम्म चल्ने बंगलादेश प्रिमियर लिग खेल्न समेत खेल्न जानेछन्।
सन्दिप बिग ब्यास लिगमा मेलबर्न स्टारको लागि तथा बंगलादेश प्रिमियर लिगमा स्यलहेट सिक्सर्सको लागि खेल्नेछन्।
इन्डियन प्रिमियर लिगमा सन्दिप २० लाख भारतीय रुपैयाँमा अनुबन्ध भएर विदेशी क्रिकेट लिगमा प्रवेश गरेका सन्दीप आगामी संस्करणमा पनि दिल्ली डियरडेभिल्सबाटै खेल्ने गरी अनुबन्ध नवीकरण गरेका छन् ।
आईपीएलबाट सुरु भएको उनको विदेशी लिग खेल्ने क्रम आजसम्म निरन्तर चल्दो छ । उनी क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनलाई १५ हजार डलर तथा टि १० लिगमा ३० हजार डलरमा अनुबन्ध गरिएको छ । बिग ब्यास लिगमा सन्दिपले ६० हजार डलर पाउने बताईएको छ।
आईपीएलको पछिल्लो संस्करणमा दिल्लीबाट खेलेका सन्दिपले ३ खेलमा ५ विकेट लिएका थिए भने ग्लोबल टि-२० लिगमा मोन्टरियल टाइगर्सको लागि खेल्ने क्रममा ५ खेलमा ८ विकेट लिएका थिए। यस्तै क्यारेबियन प्रिमियर लिगमा सेन्ट किट्स एण्ड नेभिस पेट्रीएट्सको लागि उनले ५ खेलमा कुल ७ विकेट लिएका थिए। अफगानिस्तान प्रिमियर लिगमा नगरहर लिओपार्डको लागि खेलेको १ मात्र खेलमा सन्दिपले २ विकेट लिएका थिए।


















