इस्लामाबाद(पाकिस्तान), ४ मंसिर । नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तानको लाहोर क्वालान्दर्स टीमबाट पाकिस्तान सुपर लिग (पिएसएल) टि-२० खेल्ने भएका छन् । मंगलबार भएको खेलाडीको अक्सनमा लाहोर क्वालान्दर्सले उनलाई छनौट गरेको हो।
सन्दीप पीएसएलको ड्राफ्टको “गोल्ड” श्रेणीमा रहेका थिए ।
उनको पारिश्रमिक कम्तिमा ५० हजार डलर हुने बताइएको छ।
लाहोर क्वालन्दर्सले ड्राफ्टबाट दक्षिण अफ्रिकाका एबी डे भिलियर्स, मोहम्मद हाफिज, वेष्ट एण्डिजका कार्लोस ब्रेथवाइट, न्यूजिल्याण्डका कोरेए एण्डरसन र सन्दीप लामिछानेलाई चयन गरेको हो ।
२०१९ को फ्रेबुअरीमा आयोजना हुने पाकिस्तान सुपर लिग प्रतियोगितामा कुल ६ वटा टिम सहभागी छन् जसमा लाहोर क्वालान्दर्स, क्वेटा ग्ल्याडिएटर्स, कराँची किंग्स, पेशेवर जाल्मी, इश्मलामाबाद युनाइटेड रहेका छन् भने अर्को १ टिमको निर्क्योल हुन् बाँकी छ।
लिगको २०१८ को उपाधि इश्लामबाद युनाइटेडले जितेको थियो जुन टिम ड्यारेन सामीको कप्तानीमा रहेको थियो।
इन्डियन प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि-२० लिग क्यानडा, अफगानिस्तान प्रिमियर लिगमा खेलिसकेका सन्दीप नोभेम्बर २१ देखि युएईमा आयोजना हुने टि १० लिग खेल्न अहिले यूएईमा छन् भने । उनी डिसेम्बर १९ देखि आयोजना हुने चर्चित अस्ट्रेलियन लिग बिग ब्यास लिग तथा ५ जनवरी देखि आयोजना हुने बंगलादेश प्रिमियर लिग खेल्न समेत छनौट भइसकेका छन्।
इन्डियन प्रिमियर लिगमा दिल्ली डियर डेभिल्समा २० लाख भारतीय रुपैयाँमा अनुबन्धित सन्दीप क्यारेबियन प्रिमियर लिगमा ५ हजार डलर तथा ग्लोबल टि-२० लिग क्यानडामा ४० हजार डलरमा ड्राफ्टबाट छानिएका थिए। यस्तै अफगानिस्तान प्रिमियर लिगमा उनले १५ हजार डलर तथा टि १० लिगमा ३० हजार डलर पारिश्रमिक पाएका थिए। अस्ट्रेलियन लिग बिग ब्यास लिगमा सन्दिपले ६०- ७० हजार डलर पारिश्रमिक पाउने बताइएको छ।
सन्दीपलाई आईपीएलको आगामी संस्करण आईपीएल २०१९ मा पनि दिल्ली डियरडेभिल्सले रिटेन गर्ने निर्णय गरेको छ ।