अयोध्या(भारत),९ मंसिर (बीबीसी) । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा जम्मा भएका दशौं हजार हिन्दूहरूले १६औं शताब्दीको बाबरी मस्जिद रहेको स्थानमा मन्दिर निर्माणको माग गरेका छन्।
सन् १९९२ मा दक्षिणपन्थी हिन्दूहरूको भिडले उक्त मस्जिद भत्काएको थियो र पछिल्ला केही महिनायता त्यहाँ मन्दिर बनाउने चर्चा चल्दै आएको छ।
त्यस्तो माग राख्नेमा धेरैजसो सांसद, मन्त्री र सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)का नेताहरू छन्।
भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेश राज्यले केन्द्रीय संसदमा सबैभन्दा बढी सांसदहरू पठाउँछ।
कारण
देशको आगामी सरकार बनाउन चाहने जुनसुकै पार्टीले उक्त प्रदेशमा ठूलै जित हासिल गर्नुपर्ने हुन्छ।
संवाददाताहरूका अनुसार बीजेपीले पुन: एकपटक उक्त मन्दिर रहेको उत्तर प्रदेश राज्यका हिन्दूहरूलाई धार्मिक रागका आडमा उचाल्न खोजिरहेको छ।
पार्टीको त्यस्तै रणनीतिले सन् २०१४ मा काम गरेको थियो जतिखेर कुल ८० मध्ये बीजेपीले ७१ सीट जितेको थियो।
त्यस्तो लहरले गत वर्षको राज्य स्तरको चुनावमा समेत शानदार विजयसाथ हिन्दू कट्टरपन्थी योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाए तापनि बीजेपीले थुप्रै स्थानीय चुनावमा भने हार बेहोर्यो।
त्यस्तो हारको एउटा कारण खडेरी र कृषि उत्पादन घट्दा सरकारले राहत दिन नसक्नुमा थियो।
अयोध्याबाट बीजेपीले गुमाएको उक्त पकड फिर्ता ल्याउन खोज्नेछ।
इतिहास
बाबरी मस्जिदका लागि हिन्दू र मुस्लिमहरू एक शताब्दी अघिदेखि भिड्दै आएका छन्।
विश्व हिन्दु परिषद् र अन्य हिन्दु समूहरूले १६ औं शताब्दीमा बाबरी मस्जिद रहेकै ठाउँमा हिन्दु मन्दिर बनाउन चाहेका छन्।
हिन्दुहरूले उत्तर प्रदेशस्थित धार्मिक क्षेत्रमा उनीहरूले धेरै मान्ने भगवान रामको जन्म भएको विश्वास गर्छन्।
तर मुसलमानहरूले आफूहरूले त्यहाँ पुस्तौंसम्म प्रार्थना गरेको बताउँछन्।
सन् १९९२ मा हिन्दु मानिसहरूको भिडले त्यहाँ रहेको मस्जिदलाई भत्काइदिएपछि दुई समुदायबीचको तनाब चुलिएको थियो।
विवादहरू बढेपछिका पछिल्ला दशकमा हिन्दु र मुस्लिम पक्षधरहरू थुप्रैपटक अदालतसम्म पुगेका छन्।
भारतको सर्वोच्च अदालतले त्यस्तै एउटा मुद्दामा ज्यानुअरी २०१९ मा सुनुवाईका लागि मिति तय गरेको छ।
तर अलाहवाद उच्च अदालतले भने सन् २०१० मै एउटा फैसला सुनाउँदै मस्जिद रहेको उक्त मुख्य क्षेत्रलाई तीन भागमा विभाजित गरेर दुईतिहाई क्षेत्र हिन्दूलाई र एकतिहाई मुस्लिमलाई दिने फैसला सुनाएको थियो।
उक्त फैसलाले पहिलोपटक त्यस ठाउँ भगवान रामको जन्मस्थल हो भन्ने कुरालाई समेत उल्लेख गरेको थियो।


















