सान्या(चीन),१५ मंसिर । नेपाल सुन्दरी श्रृखला खटिवडा चीनमा हाल जारी मिस वर्ल्ड प्रतियोगिताको हेड टु हेड च्यालेन्ज प्रतियोगितामा शीर्ष २० मा परेकी छन् । उनी समूह विजेता हुँदै शीर्ष २० मा परेकी हुन्।
श्रृखलाले भोटिङमार्फत प्राप्त मतका आधारमा आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई उछिन्दै सो स्थान हासिल गरेकी हुन् ।
यस चरणमा प्रतियोगीहरुलाई २० समूहबाट बाँडेर हरेक समूहबाट एक(एक जना छानिएको हो । यस छनौटमा परेका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि आपसमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
यसैगरी श्रृंखला मल्टिमिडिया अवार्डतर्फ पनि बलियो दाबेदारका रूपमा रहिरहेकी छिन् । मल्टिमिडिया अवार्डको लागि डिसेम्बर ८ सम्म भोटिङ खुल्ला छ । यसमा विजयी भएमा फाइनलमा प्रवेश गर्छिन्।
यसका लागि श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ भने मिस वर्ल्डको आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।
मल्टिमिडिया र हेड टु हेड च्यालेन्जसँगै ‘ब्यूटी विथ प्रपोज’ मा सर्वोत्कृष्ट हुने संभावना पनि नेपाली चेली श्रृंखलाको प्रबल छ ।