काठमाडौँ, १४ मङ्सिर ।राष्ट्रपति विद्यादेवी भण्डारीसंग कम्बोडियाली प्रधानमन्त्री हुन सेन र म्यानमारकी स्टेट काउन्सिलर सु चीले शिष्टाचार भेट गर्नुभएको छ ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेन बीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको भेटवार्तामा नेपालका तर्फबाट राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृत तथा कम्बोडियाका उच्च सरकारी अधिकारीसमेत रहेका थिए ।
शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसंग मित्रराष्ट्र म्यान्मारका स्टेट काउन्सिलर सरकार प्रमुख आड. सान सु चीले पनि शिष्टाचार भेट गर्नुभयो ।
सो अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो ।
एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि क्याम्बोडियाली प्रधानमन्त्री हुन सेन सहितका विशिष्ट अतिथिहरु अहिले काठमाडौं आईपुग्नुभएको छ ।
सम्मेलन शनिबारदेखि काठमाडौंमा आयोजना हुँदैछ । रासस