Prakash Adhikari December 3, 2018

पेरिस(फ्रान्स),१६ मंसिर(बीबीसी) ।फ्रान्समा सयौँले सरकारविरोधी प्रदर्शनहरू गरेको भोलिपल्ट राष्ट्रपति एमानुएल माक्रोँले एउटा आपत्‌कालीन सुरक्षा बैठकको अध्यक्षता गर्दैछन्।

देशमा उत्पन्न परिस्थितिसँग जुझ्न संकटकालको लागू गर्न सकिनेदेखि सबैखाले विकल्पहरू खुला रहेको एकजना सरकारी प्रवक्ताले बताएका छन्।

फ्रान्समा सुरुवातमा इन्धन करमा गरिएको वृद्धिविरुद्ध प्रदर्शनहरू शुरू भएका थिए तर आन्दोलनले चर्को रुप लिँदै गएपछि महँगिदै गएको जीवनशैलीप्रति आक्रोशहरू व्यक्त गरिएका छन्।

चारसय भन्दा धेरै प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

झडप

शनिवार राजधानी प्यारिसमा शान्तिपूर्ण रूपमा केही प्रदर्शनकारीहरूले प्रदर्शन गरेको भएको तर अन्य प्रदर्शनकारीहरूले राष्ट्रिय स्मारक आर्क डी ट्रीओम्फ क्षेत्रमा प्रदर्शन गर्नुका साथै प्रहरीसँग झडपमा उत्रेका थिए।

२३ जना सुरक्षाकर्मीहरूसहित एक सयभन्दा धेरै मानिसहरू घाइते भएको बताइएको छ।

प्रदर्शनका क्रममा थप एकजनाको ज्यान गएको प्रहरीले बताएको छ। फ्रान्समा तीन हप्ताअघि विरोधप्रदर्शनहरू सुरु भएयता अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ।

फ्रान्स विरोध
आर्जेन्टिनामा भएको जी ट्वेन्टी शिखरसम्मेलनबाट फर्किएलगत्तै आइतवार बिहान राष्ट्रपति माक्रोँ क्षतिको निरिक्षण आर्क डी ट्रीओम्फ पुगेका थिए र उनीप्रति विरोध र समर्थन दुवै जनाइएको थियो।

मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा एकको मृत्यु

बैठक
राष्ट्रपति माक्रोँले राष्ट्रपतीय निवासमा प्रधानमन्त्री आन्तरिक मामिला मन्त्री तथा सुरक्षासेवाका उच्च अधिकारीहरूसँग बैठक गर्दैछन्।

बीबीसीका प्यारिस संवाददाता ह्यू स्कोफिल्ड भन्छन्- राष्ट्रपति र उनका मन्त्रीहरूले देशलाई नै स्तब्ध तुल्याउनेगरी भएका हिंसात्मक प्रदर्शनहरूको जवाफस्वरुप कस्तो कदम चाल्ने भनेर अब निर्णय लिनैपर्छ।

आन्दोलनको नेतृत्व खासमा कसले गरिरहेको भनेर स्पष्ट रुपमा भन्न नसकिने तथा सामाजिक संजालमार्फत् सरकारविरोधी आन्दोलन फैलिएरहेको र चरम वामपन्थीदेखि राष्ट्रवादी उग्रदक्षिणपन्थी आन्दोलनमा सहभागी भइरहेको विवरणहरुमा जनाइएको छ।

Share Now

Leave a comment.