कोलम्बो(श्रीलंका),२९ मंसिर(बीबीसी) । श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षले नियुक्त भएको सात हप्तापछि पदबाट राजीनामा दिएका छन्।
अचानक गरिएको उनको नियुक्तिले श्रीलङ्कामा राजनीतिक सङ्कट सिर्जना गराएको थियो।
आफ्नो निवासमा आयोजित एउटा कार्यक्रममा पूर्वराष्ट्रपति समेत रहेका राजापाक्षले राजीनामापत्रमा हस्ताक्षर गरेका थिए।
राजापाक्षका छोरा नमालले देशमा स्थिरता होओस् भनेर आफ्ना बुवाले राजीनामा दिएको बीबीसीलाई बताए।
सत्ता सङ्घर्ष
राजापाक्षको राजीनामाले श्रीलङ्कामा देखिएको करिब दुई महिनादेखिको सत्ता सङ्घर्ष अन्त्य गराउने अपेक्षा गरिएको छ।
गत अक्टोबरमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्कालीन प्रधानमन्त्री रनिल विक्रमसिङलाई बर्खास्त गर्दै राजापाक्षलाई नियुक्त गरेका थिए।
विक्रमसिङले आइतवारदेखि पुनः कार्यकाल सम्हाल्ने अपेक्षा गरिएको थियो।
उनको पार्टीका प्रवक्ता हरिन फर्नाण्डोले बीबीसीलाई भने, “रनिल विक्रमसिङलाई प्रधानमन्त्रीका रूपमा भोलि बिहान १० बजे शपथ ग्रहण गराउन राष्ट्रपति सहमत हुनुभएको छ।”
राजापाक्षको राजीनामाले राजनीतिक गतिरोध अन्त्य हुने भन्दै फर्नाण्डोले ५० दिनअघि शुरू भएको सङ्कटका कारण मुलुक र अर्थतन्त्रले “ठूलो क्षति” बेहोरेको बताए।
गैरकानूनी
यसअघि बिहीवार सर्वोच्च अदालतले संसद् भङ्ग गर्दै समय अगावै चुनावको आह्वान गर्ने राष्ट्रपति सिरिसेनाको कदम गैरकानूनी भएको ठहर गरेको थियो।
बुधवार संसद्ले रनिल विक्रमसिङलाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत दिएको थियो।
श्रीलङ्कामा पूर्वराष्ट्रपति राजापाक्ष लोकप्रिय छन् तर विवादास्पद पनि। उनले नै सन् २००९ मा गृहयुद्धको अन्त्य भएको घोषणा गरेका थिए।
तर तामिल विद्रोहीसँगको युद्ध जित्न अपनाइएका उपायका कारण उनको आलोचना हुने गरेको छ।