कीर्तिपुर(काठमाडौं), २९ मंसिर । एभरेष्ट प्रिमियर लिग अन्तरगत शनिवार भएको खेलमा काठमाडौं किंग्सले भैरहवालाई ७ विकेटले हराएको छ । यो जीतसंगै काठमाडौंले प्लेअफको यात्रा पक्का पारेको छ ।
कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा चार विकेट गुमाउदै १३९ रन बनायो । भैरहवाले खराव सुरुवात गर्दै ८ रनमा २ विकेट गुमायो । उसका ओपनर प्रदिप ऐरीले खाता खोल्न सकेनन् भने हरिशंकर शाह चार रनमा आउट भए । त्यसपछि भैरहवाले ४० रन हुँदा तेस्रो विकेट गुमायो ।
उसका विदेशी खेलाडी रायन टेन डोइच्टे १२ रनमा प्रदिप साहुको बलमा आउट भए । तर त्यसपछि रविइन्दर सिंह र कप्तान शरद भेषवाकरले १ सय ९ःरनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । रविइन्दरले अविजित ८६ रन बनाए भने शरदले ३९ रनको योगदान गरे । बलिङमा जितेन्द्र मुखिया, केभिन ओब्राइन र प्रदिप साहुले एक एक विकेट लिए ।
जवाफमा काठमाडौंले १९ ओभर एक बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । बलियो सुरुवात गरेको काठमाडौंले ६८ रनमा पहिलो विकेट गुमायो । त्यसपछि १ सय १२ रन हुँदा दोस्रो विकेट गुमाएको उसका्े १ सय २७ मा तेस्रो विकेट पतन भयो । उसले १७ रन जोड्दा ३ विकेट खेर फालेको थियो ।
काठमाडौंको जितमा अमित श्रेष्ठले ५१, रोहन मुस्तफाले ३६ तथा सागर पुनले १३ रन बनाए । केविन ओब्राइनले २९ रनको योगदान गरे । यो जितसँगै काठमाडौंले प्लेअफको यात्रा पक्का गरेको छ ।
काठमाडौंको जितले चितवनलाई प्लेअफमा पुग्ने निकै कठिनाई उत्पन्न भएको छ ।