Prakash Adhikari December 15, 2018

 

काठमाडौं,२९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई संसदमा सबैभन्दा ठूलो पार्टी बनाउने बताउनुभएको छ ।

राजधानीमा शनिवारदेखि आरम्भ भएको महासमिति बैठकको उद्धाटन गर्दै सभापति देउवाले सो बाचा गर्नुभएको हो ।

१७ मिनेट लामो लिखित उद्घाटन मन्तब्य दिनुभएका देउवाले अब पार्टी सञ्चालनको गतिविधि चित्त नबुझेर सर्बोच्च नेता गणेशमान सिंहले जस्तै कसैले पनि कांग्रेस पार्टी छोड्नुनपर्ने र पार्टीलाई पुन पहिलो स्थानमा पुर्याउने दावी गर्नुभयो ।

सभापति देउवाले पार्टी कार्यकर्ताहरुलाई आफ्नो विरोध गर्न छोडेर सरकारको विरोध गर्न पनि आग्रह गर्नुभयो । उहाँले सरकारका जनहित विपरीतका काममा एमालेका नेता माधव नेपालले जति पनि कांग्रेसका नेता र कार्यकर्ताले विरोध नगरेकोमा आक्रोश पनि पोख्नुभयो ।

उहाँले देशको शान्ति सुरक्षाको अवस्था दयनीय रहेको हत्या, अपराध, बलत्कार जस्ता जधन्य अपराध बढेर गएको र सरकारले अपराधीलाई संरक्षण दिएको बताउनुभयो ।

समृद्धिको यात्रा कांग्रेसले मात्रै पूरा गर्ने वरिष्ठ नेता  पौडेलको दावी

उहाँले संविधान संशोधनको विषयमा मौन भएको र संघीयतालाई कमजोर बनाउने सरकार आफै लागेको आरोप पनि लगाउनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार गैर जिम्वार भएको बताउनुभयो । उहाँले कम्युनिस्टको हातमा गएको सत्ता देशमा विकास र समृद्धि ल्याउनतिर नभई नयाँ वर्ग जन्माउनेतिर गइरहेको बताउनुभयो । उहाँले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाल’ नारा तय गरे पनि त्यसतर्फ जान नसकेको भन्दै समृद्धिको यात्रा कांग्रेसले मात्रै पूरा गर्ने दावी गर्नुभयो ।उहाँले पार्टीभित्रको कमजोरी हटाउन एकता अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा उहाँले बहुलवादमा आधारित संसदीय लोकतन्त्र, गाउमा अधिकार पुर्‍याउने, ग्रामीण विकासदेखि मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने लगायत काम जननेता वीपी कोइरालाकै चाहना अनुरुपका भएको दाबी उनले गर्नुभयो।

धर्मान्तरण रोक्न महामन्त्रीद्धयको माग

महासमिति बैठकलाई सम्बोधन गर्दै महामन्त्री डा. शसांक कोइरालाले संसारबाट विस्थापित भइरहेको कम्युनिस्टले नेपालमा सरकार चलाएकोमाआश्चर्य प्रकट गर्दै कम्युनिष्ट सरकारमा नारी अस्मिता सुरक्षित नभइरहेको र सरकारमा बसेकाहरू भ्रष्टाचारमा डुबेको आरोप लगाउनुभयो ।

उहाँले नेपालको परम्परामा प्रहार भइरहेकोले अब हिन्दु, बौद्ध र किरात धर्मको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो। उहाँले धर्मान्तरणको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

पार्टीको अर्का महामन्त्री पूर्णबहादुर खड्काले धार्मिक स्वतन्त्रताका नाममा नेपाललाई तहस नहस पार्न खोजिएको बताउनुभयो । उहाँले धार्मिक स्वतन्त्रताको विषय नेपालका लागि चुनौतिको विषय भएको उल्लेख गर्नुभयो ।

आशावादी हुने ठाँउ छ : सहमहामन्त्री डा.  महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीमा अहिले निराशा हुने बेला आइनसकेको बताउनुभयो। राम्रो प्रखर वक्ता नभए पनि तात्कालीन पार्टी सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा देशले ७ दशकको प्रयासको परिणाम स्वरुप संविधानसभाबाट संविधान बनाउने सफलता प्राप्त गरेको उदाहरण दिंदै पार्टीका समस्या र गुनासा समाधान गरेमा पार्टी पुनपूर्वावस्थामा फर्किने बताउनुभयो । उहाँले कम्युनिस्टबाट हामीले संगठन निर्माण गर्न र प्रचार गर्न सिक्नु पर्ने पनि बताउनुभयो ।

गुटउपगुट र भागवण्डा नै समस्याः नेता श्रेष्ठ

अहासमितिको उद्घाटन सत्रमा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले कांग्रेस भागबन्डाकै कारण गुट र उपगुट भएर कमजोर अवस्थामा पुगेको बताउनुभयो । नेता श्रेष्ठले भागबन्डाकै कारण पार्टी कमजोर भएको बताउनुभयो ।

उहाँले एकताको महाधिवेशन भने पनि सभापतिलाई काम गर्न नदिइएको बताउदै विजयी नेताको हातखुट्टा बाधेर राख्न नमिल्ने बताउदै भागबन्डा नमिल्दा, व्यक्तिकोपछि लाग्दा अहिलेसम्म विभागहरू बन्न नसकोको यथार्थ सुनाउनुभयो।

महिलालाई अवसर :  चित्रलेखा यादव

यस्तै चित्रलेखा यादवले आरोप प्रत्यारोपले कहीँ पुग्न नसकिने बताउदै ५२ प्रतिशत महिला जनसंख्या भएको नेपालमा कम्युनिष्टहरुले प्रदेशमा १ जना पनि महिला मुख्यमन्त्री नबनाउँदा कांग्रेसले महिलालाई अवसर दिनुपर्ने बताउनुभयो ।

उहाँले सभामुख र उपसभामुख राष्ट्रपति उपराष्ट्रपतिमध्ये एक महिला हुँदा प्रधानमन्त्री र उपप्रधानमन्त्रीमध्ये एक महिला बनाउन कांग्रेस चुकेको बताउनुभयो ।

दुई तिहाइको सरकार भूमिकाविहीन : नेता  सिंह

कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेस जटिल परिस्थितिबाट गुज्रीरहेको बताउनुभयो। उहाँले दुई तिहाइको सरकार भूमिकाविहीन बन्दा समेत कांग्रेस एकजुट बन्न नसकेको, जनतालाई केन्द्र बिन्दुमा राखेर काम नभएको, देशमा रोजगारी सृजना गर्न उपयुक्त नीति ल्याउने युवाको भविष्य सुनिश्चित गर्ने कार्यक्रम ल्याउने र संगठनलाई बलियो बनाउदै नयाँ विधान कार्यान्वयन गरेर तल्लो तहबाट काम गर्न आग्रह गर्नुभयो ।

उहाँले विधान संशोधनको विषय पनि महासमितिमो पार्टीको जीवनका लागि महत्वपूर्ण चरणमा रहेको पति बताउनुभयो ।

कमजोरीको समीक्षा हुनुपर्दछ : रानाभाट

कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले नेपाली कांग्रेसको वर्तमान अवस्थाको कारण खोज्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले विगतमा राणासँग लडेको नेपाली कांग्रेसको शक्ति क्षीण हुँदै गएको भन्दै त्यसबारे गम्भीर समिक्षा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । मुलुकका ठूला ठूला राजनीतिक परिर्वतनमा ठुलो योगदान रहेको कांग्रेसको वर्तमान अवस्था नाजुक हुँदै गएको भन्दै उहाँले त्यसको गम्भीर समीक्षा गरिनुपर्ने बताउनुभयो।

दुई तिहाईबाट जनता निराशः डा. रामशरण महत

नेपाली कांग्रेसका नेता रामशरण महतले दुई तिहाइको सरकारबाट जनताहरु निरास भएकोले यो कांग्रेसका लागि अवसर भएको बताउनुभयो। उहाँले सरकारका गलत कार्यको कांग्रेसले राम्रोसँग विरोध नगरेपनि नागरिक समाजले राम्रोसँग सरकारको विरोध गरेको बताउनुभयो ।

आन्तरिक एकता अपरिहार्य : नेता केसी
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेसभित्र एकता कायम गर्नुपर्ने बताउनुभयो।

उहाँले पार्टी आन्तरिक रुपमा कमजोर भएकाले सरकारले गरेका गलत कामको पनि विरोध हुन नसकेको बताउदै एकताबद्ध हुनका लागि कांग्रेस नीतिसंगत तरिकाले चल्नुपर्ने बताउनुभयो।

उहाँले अहिले ३३ किलो सुन तस्करी काण्डका सबै आरोपीहरु छुटिरहेको र वाइडबडीमा भएको घोटलामासमेत कांग्रेस बोल्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो। उहाँले गुटमा विभाजित भएर नेताहरुले विवेकलाई धरौटीमा राख्न नहुने पनि उल्लेख गर्नुभयो ।

Share Now

Leave a comment.