Prakash Adhikari December 28, 2018

काडमाडौं, १३ पुस । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुषालले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई खोजी गरि कारबाही गर्न संघीय संसदको प्रतिनिधिसभामा आवाज उठाउनु भएको छ ।

शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसको संसदीय दलकी सचेतक समेत रहेकी भूषालले देशमा शान्ति सुरक्षाको अवस्था विकराल बन्दै गएको आरोप लगाउदै हत्या र बलात्कारका घटनाहरु दिनदिनै बढेको बताउनुभयो ।उहाँले राज्य संयन्त्र शान्ति सुरक्षा दिन र वास्तविक अपराधी पहिल्याएर कारबाही गर्न भन्दा पनि अपराधीलाई संरक्षण गर्न तर्फ केन्द्रीत भएको आरोप लगाउनुभयो ।

उहाँले सामूहिक बलात्कारका घट्नाहरु राजधानीदेखि देशै भर बढ्दै गएको बताउदै नेकपाको नेतृत्वमा नयाँ सरकार बनेपछि अपराधीहरु कानूनसँग पनि डराउन छाडेको र राज्य संयन्त्रसँग पनि डराउन छाडेको बताउनुभयो । ‘

निर्मला पन्तको हत्यारालाई ४ महिनासम्म पनि यो सरकारले पक्रिन नसक्नु सरकारको नालायकीपन हो ’ भन्दै कांग्रेस नेतृ भूषालले प्रश्न गर्नभयो ‘निर्मला पन्तको हत्यामा प्रमाण कसको आदेशमा नष्ट गरियो ? यो खोज्ने हो भने हत्यारा सजिलै पत्ता लाग्छ । तर यसमा सरकारको आँट खोई ?’

मानव अधिकार दिवस मनाईरहँदा उपपधानमन्त्री तथा रक्षामन्त्रीले ‘अपराधी समातिसक्यौं अब सार्वजनिक हुन मात्रै बाँकी छ, प्रतिपक्षले राजनीतिक छाता नओढाए हुन्छ’ भनेर दिएको अभिव्यक्ति कहाँ पुग्यो भन्दै उहाँले सरकारसँग प्रश्न गर्नुभयो ।

उहाँले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तको अनुसन्धानमा केही त्रुटी भएको स्वीकारेको र सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले पनि निर्मला पन्तको घटनामा केही कमजोरी भएको स्वीकारिसकेको अवस्थामा सरकारले यो घटनालाई गम्भीर रुपमा नलिएको भुषालले आरोप लगाउनुभयो ।

सरकारले वास्तविक अपराधी समाउन नसकेपछि निर्दोष व्यक्तिलाई यातना दिएर अपराध स्वीकार गर्न लगाउन थालेको प्रति पनि उनले गम्भीर आपत्ति व्यक्त गर्नुभयो। निर्दोषलाई यातना दिएर अपराध स्वीकार गर्न लगाउँदा अन्तराष्ट्रिय जगतमा नेपालको छवि बिग्रने तथ्यप्रति सरकारलाई सचेत रहन चेतावनी दिंदै नेतृ भूषाले भन्नुभयो। ‘हामी अन्यायमा परेका निर्मला पन्तका परिवारसँगै प्रदीप रावल र विशाल चौधरीका परिवारलाई न्यायको छाता ओढाउन चाहन्छौं ।’

उहाँले साक्षी प्रमाणको रुपमा रहेका बम दिदीबहिनीलाई अनुसन्धान गर्ने भन्दा जोगाउनेतर्फ सरकारको ध्यान केन्द्रित भएकोले पनि यसमा धेरै शंका उत्पन्न भएको बताउदै नेतृ भूषालले दोषीलाई पहिल्याएर कानुनको कठघरामा नल्याए प्रतिपक्ष चुप लागेर नबस्ने चेतावनी समेत दिनुभयो ।

Share Now

Leave a comment.