काठमाडौं,१३ पुस । नेपाली काँग्रेसमा सांसद् गगन थापाले संघीय संसदको प्रतिनिधिसभाका नेपालका निजामति कर्मचारीहरुको सरोकारको विषय बनेको कर्मचारी समायोजनको मुद्दा उठाउनुभएको छ ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुँदा मस्यौदा गरिएको निजमति सेवाको समायोजनसम्बन्धि विधेयक जस्ताको तस्तै नल्याएर सरकारले गल्ति गरेको आरोप लगाउनुभयो ।
उहाँले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले हाल कार्यरत कर्मचारीहरुलाई गोल्डेन ह्याण्डसेक अन्तरगत अवकाश र सेवाको निरन्तरताको अवसर संगै दिएको उल्लेख गर्दै अहिले सरकारले कर्मचारीहरुलाई दण्ड वा नसियत दिने ढंगले अध्यादेश ल्याएकोमा पनि विरोध गर्नुभयो ।
कांग्रेसका सांसद एवम् पूर्वमन्त्री थापाले सरकारले कर्मचारीलाई प्रदेश र स्थानीय तहमा खटाउने नाममा उनीहरुको वृत्ति विकासको अवसर पनि सीमित गर्न खोजको आरोप लगाउनु भयो । संगै लोकसेवा पास गरेर निजामति सेवामा प्रवेश गरेका कर्मचारीहरुमा कसैले सिंगो देशको सचिव र मुख्य सचिव हुन पाउने कसैको वृत्ति स्थानीय तह र प्रदेश तहमा नै सीमित हुने प्रावधान राखेपछि कर्मचारीहरुले कसरी स्वीकार गर्न सक्दछन् ?
शून्य समयमा दिइएको ३ मिनेटको समयमा नेपाली कांग्रेसका सांसद थापाले कर्मचारी समायोजनका बारेमा बोल्दाबोल्दै सभामुख कृष्णबहादुर महराले माईक काट्नुभएको थियो । निर्धारित ३ मिनेटको समय अगावै माईक काटिदिएपछि काँग्रेसले यसमा आपत्ति जनाएको छ ।
नेकपाकी सांसद् रेखा शर्माले बोलिसकेपछि बोलेका सांसद् थापाको साढे २ मिनेटमा नै माईक काटिएको थियो ।