
सिमरा(बारा) १२ माघ । बारामा प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा अधिकारी चढेको स्कार्पियो जीप दुर्घटना हुँदा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्युभएको छ ।
दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् ।
घाइते मध्ये बाराका प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर रहेको छ ।
निजगढस्थित शहीद हिरालाल पार्कमा कर्मचारी मिलन केन्द्र बाराले आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किदा पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक सवारी दुर्घटना भएको थियो ।
बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएर्र उक्त दुर्घटना भएको हो ।
दुर्घटनाका गम्भीर घाइते प्रजिअ भट्टराईलाई भने उपचारका लागि काठमाडौं पठाउने तयारी छ भने दुर्घटनामा ज्यान गुमाएका एसपी पोखरेलको शव अल्पाइन अस्पताल सिमरामा राखिएको छ ।