Prakash Adhikari December 24, 2017

काठमाडौं, ९ पौष । सरकारले पठाएको राष्ट्रियसभा सम्वन्धी अध्यादेश तत्काल जारी गर्न संघीय समाजवादी फोरम नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सुझाव दिएका छन् ।

अध्यादेश जारी गर्ने सम्बन्धमा दलहरुसँग परामर्शमा रहेकी राष्ट्रपति भण्डारीले आइतबार फोरम अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग छलफल गरेकी थिइन् । राष्टपति कार्यालय शीतल निवासमा भएको भेटमा फोरम नेताहरुले भने अध्यादेश नरोक्न सुझाव दिएका छन् ।

भेटपछि नेता श्रेष्ठले जति दिन अध्यादेश रोक्यो, त्यति नै वर्तमान सरकारको आयु नयाँ सरकार गठनको मार्ग अवरुद्ध हुने बताए ।

राष्ट्रपति भण्डारीले चुनाव प्रणालीबारे दलहरुबीच विवाद देखिएको भन्दै फोरमको धारणा मागेकी थिइन् ।

जवाफमा फोरम नेताहरुले भने कांग्रेस र एमालेले नाफाघाटा हेर्दा यो अवस्था आएको बताएका छन् । फोरमले संविधानको अक्षर भावना अनुरुप राष्टिय सभाको गठन हुने मार्ग अबलम्बन गर्न अध्यादेश जारी गर्नुको विकल्प नरहेको बताएको छ ।

छलफलका क्रममा एकल संक्रमणीय मत प्रणालीलाई त संविधानले चिन्दैन भन्ने तर्क पनि आएको थियो । तर, फोरम नेताहरुले एकल संक्रमणीय पनि समानुपातिक प्रणाली भएको भन्दै सरकारले अघि सारेको अध्यादेशको समर्थन गरेका छन् ।

फोरम नेता द्धयले राष्ट्रिय सभाको चुनाव गरेपछि मात्र प्रतिनिधिसभाले पूर्णता पाउने र सरकार गठनको बाटो खुल्ने प्रष्ट पार्र्दै ‘संसारकै उत्कृष्ट संविधान बनाएको दावी गर्र्ने कांग्रेस र एमालेको अहिलेको विवादले संविधान संशोधनको अपरिहार्यतालाई पुष्टी गरेको बताएका थिए ।

Share Now

Leave a comment.