जावलाखेल(ललितपुर), ७ पुस । गैरआवासीय नेपाली संघ, (एनआरएनए)ले नेपालको पुंजीबजारमा लगानी गर्न संघका सदस्यहरु व्यग्र भएको बताएको छ ।
पुँजी बजारमा लगानीका शर्त र नियमहरुका बारेमा जानकारी लिन नेपाल धितोपत्र बोर्डको जावलाखेलस्थित कार्यालयमा पुगेका संघका निर्वाचित पदाधिकारीहरुले बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसंग छलफलका क्रममा यस्तो व्यग्रता प्रकट गरेका हुन।
छलफलका क्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले विदेशमा ठूलो संख्यामा छरिएर रहेका एनआरएनहरुले नेपालको पुंजी वजारमा संस्थागतरुपमा लगानी गर्न इच्छुक रहेको बताएका थिए। उनले शुरुवातमा नै १० अर्ब लगानी गर्ने जानकारी दिएका थिए।उनले एनआरएनएको लगानीलाई सहज बनाउन आवश्यक नीतिगत व्यवस्था गरिदिन बार्डका अध्यक्ष डा. कार्कीलाई अनुरोध गरे।
जवाफमा बोर्डका अध्यक्ष डा. कार्कीले एनआरएनएलाई पुंजीबजारमा भित्र्याउन आवश्यक नीतिगत व्यवस्था अघि बढिसकेको जानकारी गराए। अध्यक्ष डा. कार्कीले हालसालै पुंजीबजारमा पूर्ण स्वचालित कारोवार, सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण, विदेशी वित्तीय संस्थाहरुले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न सक्ने कानुनी व्यवस्था र बजार विस्तार तथा पहुंचमा बृद्धि जस्ता संरचनात्मक सुधार कार्यहरु भई धितोपत्र बजार लगानीका लागि बढी आकर्षक हुदै गएको बताए।
बोर्डका अध्यक्ष डा. कार्कीले एनआरएनका लागि धितोपत्रको दोस्रो बजार खुला गर्ने सम्बन्धमा बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थमन्त्रालयका प्रतिनिधि तथा विज्ञ सम्लग्न समिति गठन भई अध्ययन र प्राथमिक बजारमा लगानी अवसर उपलब्ध गराउने सम्बन्धमा बैकल्पिक लगानी साधन सम्बन्धी नियमावलीको मस्यौदा कार्य भइरहेको स्पष्ट पारे।
साथै कार्कीले एनआरएनले बोर्डबाट के कस्तो अपेक्षा गरेको हो लिखितरुपमा जानकारी गराउन तथा उपयुक्त व्यवस्था सम्बन्धमा सुझाव समेत पेश गर्न आग्रह गरेको कुरा बोर्डले जनाएको छ ।
कार्कीले एनआरएनएलाई पुंजीबजारमा भित्र्याउने सम्बन्धमा निरन्तर छलफल तथा भेटघाट गर्दै जाने तथा प्राप्त सल्लाह तथा सुझावहरुको सम्बन्धमा अध्ययन गरी आवश्यकता अनुसार उपयुक्त कदम चाल्दै जाने बिश्वास दिलाए।
भेटघाट कार्यक्रममा एनआरएनका पूर्व अध्यक्ष जिवा लामिछाने तथा वोर्ड उच्च पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो ।