
धनगढी(कैलाली),२९ माघ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत दोश्रो दिन मंगलबार भएको दोश्रो खेलमा रुपन्देही च्यालेन्जर्सले बिराटनगर किंग्सलाई ५ विकेट ले पराजित गरेको छ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिड. रोजेको बिराटनगर किंग्सले दिएको ९४ रनको लक्ष्य रुपन्देही च्यालेन्जर्सले १३.१ ओभरमा ५ विकेट गुमाएर हासिल गर्यो।
रुपन्देही च्यालेन्जर्सकालागि पुनित मेहराले ४६ रनको पारी खेले। २६ बलको सामना गरेका उनले २ चौका र ४ छक्का प्रहार गरेका थिए।
खराब सुरुवात गरेको रुपन्देहीले मात्र १९ रनमा ३ विकेट गुमाएको थियो। सन्दीप सुनार खाता नखोलीकन आउट भए भने प्रदिप ऐरी २ रनमा पेभिलियन फर्के । त्यस्तै बिनोद भण्डारी ७ रनमा मैदान छोड्न बाध्य भए भने २३ बलमा १ चौका र १ छक्का सहित १७ रन बनाएका बाबर हयात पनि सस्तैमा आउट भए।
जितको लागि पुनित मेहरा आउट हुँदा १३ रन आबश्यक रहेका बेला कप्तान बसन्त रेग्मी र भिम सार्कीले ५ बलमा १४ रन (१ छक्का, १ चौका) को साझेदारी गर्दै खेल जिताए। बसन्त रेग्मी अविजित ८ रन (५ बल, १ छक्का) र भिम सार्की अविजित १२ रन (१३ बल, १ चौका) बनाएका थिए।
बलिंगतर्फ अभिनास यादवले १६ रन खर्चेर २ विकेट लिए। सुशन भारी, संसाद शेख र करण केसीले १। १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिंग गरेको बिराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो।
खराब सुरुवात गरेको उसले मात्र १३ रनमा दुवै ओपनर गुमायो। हरिशंकर शाह डकआउट हुँदा आसिफ शेख ८ बलमा ८ रन बनाएर आउट भए।
त्यसपछि बिदेशी खेलाडी असाद पठान १६ रन, पृथु बास्कोटा ४ रन, सुवास ऐर ९ रन, संसाद शेख १० रन, कुशल भुर्तेल १२ रन, अभिनास यादव ७ रन र करण केसी २ रन बनाएर आउट भए।
सुबास ऐर प्रतियोगिताकै सबैभन्दा कान्छा खेलाडी हुन्। १५ बर्षीय उनले ट्यालेन्ट हन्ट मार्फत विराटनगरको टिममा स्थान बनाएका थिए।
८० रनमा नबौ विकेट गुमाएको बिराटनगरका राजेश पुलामीले अन्तिम ओभरमा १२ रन बनाए। उनले ललित भण्डारीको पहिलो बलमा छक्का तथा अन्तिम ३ बलमा प्रत्येक बलमा २ रन जोडे। पुेलामी अविजित १७ रन (१४ बल, १ छक्का) मा रहे। सुशान भारीले २ बलको सामना गरे।
बलिंगतर्फ पुनित मेहराले ३ विकेट लिन ४ ओभरमा २० रन खर्चिए। बसन्त रेग्मी र ललित भण्डारीले २ । २ विकेट लिए। बिक्रम सोभ र कृष्ण कार्कीले १ । १ विकेट लिए।
यो संगै रुपन्देहीले लगातार २ खेलमा जित निकाल्यो भने बिराटनगरले पहिलो खेलमा हारको सामना गर्यो।
रुपन्देही च्यालेन्जर्सले हिजो भएको खेलमा महेन्द्रनगर युनाइटेडलाई २ रनले पराजित गरको थियो।