Prakash Adhikari February 14, 2019

सानेपा(ललितपुर),१ फागुन । नेपाली कांग्रेसले विद्यार्थीतर्फको आफ्नो भातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गर्ने भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार पार्टी कार्यालय सानेपालमा बसेको बैठकले यो निर्णय गरेको हो । बैठकले पार्टी सभापति शेरबहादुर देउवालाई आवश्यक परामर्श गरि तदर्थ समिति गठन गर्ने अधिकार दिएको छ ।

बेुुधबारको बैठकमा पार्टीका उपसभापति विमलेन्द्र निधिद्वारा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको तर्फबाट महासमितिको बैठकमा प्रस्तुत राजनीतिक प्रस्ताव महासमितिबाट प्राप्त सुझाव सहित परिमार्जन गरी बैठकमा पेश गरिएको थियो । त्यस्तै नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघ र शुभेच्छुक संस्था प्रजातान्त्रिक वन प्राविधिक संघ–नेपालद्वारा स्वीकृतिका लागि पठाइएको विधान छलफलका लागि बैठकमा पेश भएको थियो ।

बुधबारको बैठकमा केन्द्रीय सदस्यहरु बालकृष्ण खाण, रमेश रिजाल, महेन्द्र यादव, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, बहादुर सिंह (लामा) तामाङ, लक्ष्मी परियार, अमृत अर्याल र अतहर कमाल मुसलमानले आ–आफ्नो धारणा राख्नु भएको बैठकपछि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ फाल्गुण ९ गते दिउँसो १ः०० वजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने बताइएको छ ।

Share Now

Leave a comment.