धनगढी(कैलाली), २ फागुन । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणको चौथो दिनको पहिलो खेलमा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्ससमक्ष १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको अत्तरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२१ रनको योगफल तयार पार्यो।
सीवाईसीका लागि कप्तान ऐरीले ६७ रनको महत्त्वपूर्ण पारि खेले। १० चौका र १ छक्का सहित ५० बलको सामना गर्दा ऐरीले रित गौतमसँग ५७ रन तथा सन्नी पटेलसँग २६ रनको साझेदारी गरे। रित गौतमले रन आउट हुनुअघि १२ रन बनाएका थिए।
सुरुवाती २ विकेट मात्र १६ रनको योगफलमा गुमाएको अत्तरियाको लागि दिपेन्द्र ऐरीको ब्याटिंग महत्त्वपूर्ण रह्यो। कोल्सावाला १ रन र सुबेन्दु पाण्डे १२ रनमा आउट भए। सन्दिप जोरा २ रन र भुवन कार्की खाताबिहिन भए ।
सन्नी पटेलले पनि पछिल्लो खेलको प्रदर्शन दोहोर्याउन नसक्दा १४ बलमा १२ रन मात्र बनाउन सके। जितेन्द्र ठकुरी ३ रन र रामनरेश गिरी गोल्डेन डक हुँदा कमल सिंह ऐरी २ रन र दिपेन्द्र रावत शून्यमा अविजित रहे।
बलिंगतर्फ ललितसिंह भण्डारीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। यस्तै बिक्रम सोबले ३ ओभरमा ११ रन खर्चेर जयकिशन कोल्सवाला र सुबेन्दु पाण्डेलाई आउट गरे।
अहिले च्यालेन्जर्सको पारी सुरु भएको छ । रुपन्देही च्यालेन्जर्सले १३ ओभरको अन्त्यसम्म ६ विकेट गुमाउदै ४० रन जोडेको छ । अब चमत्कारिक सुधार हुन नसके यो खेलको नतिजा सीवाईसी अत्तरियालाई सुम्पन उ बाध्य हुनेछ ।
च्यालेन्जर्सले अहिलेसम्म बसन्त रेग्मी, भीम सार्की, सन्दीप सुनार, पुनित मेहरा,बाबर ह्यात, प्रदीप सिंह ऐरीलाई गुमाएको छ ।



















