धनगढी(कैलाली), २ फागुन । धनगढी प्रिमियर लिग.डीपीएल) क्रिकेटको तेस्रो संस्करणको चौथो दिनको पहिलो खेलमा सिवाइसी अत्तरीयाले रुपन्देही च्यालेञ्जर्सलाई ३९ रनले पराजित गरेको छ ।
धनगढी स्थित फाप्ला मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अत्तरीयाले २० ओभरमा नौ विकेट गुमाउँदे एक सय २१ रन बनायो ।
सुरुवात राम्रो गर्न नसकेपनि अत्तरीयाका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले कप्तानी पारी खेले । जारी प्रतियोगितामा अर्धसतक बनाउने तेस्रो खेलाडी बने । १६ रनमा दुई विकेट गमाएको अत्तरियाको पारीलाई ऐरीले उकासेका थिए ।
उसका ओभर जयकिशन कोल्सावाल एक रनमा आउट भए भने सुविन्धु पाण्डे १२ रनमा आउट भएका थिए । त्यसपछि रित गौतमले ऐरीसँग मिलेर ५७ रनको साझेदारी गरे । रित १२ रनमा आउट हुँदा अत्तरीयाको स्कोर ७३ रन थियो । त्यसपछि सन्दिप जोरा मात्र दुई रनमा आउट भए भने दिपेन्द्र ऐरी ६७ रनमा पेभेलियन फर्किदा अत्तरीयाले एक सय सात रनमा ५ विकेट खेर फाल्यो । तर त्यसपछि भने उसका कुनैपनि खेलाडीले राम्रो साझेदारी भएन ।
भुवन कार्कीले खाता खोल्न सकेनन् भने जितेन्द्रसिंह ठकुरीले ३ रन बनाए । यस्तै सन्नी पटेलले १२ रन जोडे ।
बलिङमा रुपन्देहीका ललित भण्डारी र विक्रम सोबले दुई दुई विकेट लिए ।
१ सय २२ रनको लक्ष्य पाएको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै ८२ रनमा अलआउट भयो । अत्तरीयाको बलिङको अगाडि कमजोर सुरुवात गरेको रुपन्देहीले ४७ रन बनाउदा आठ विकेट गुमाइसकेको थियो ।
रुपन्देही च्यालेन्जर्सका ओपनर प्रदीप ऐरीले १४ रन बनाए भने सन्दीप सुनारले १५ रनको योगदान गरे । यस्तै विनोद भण्डारीले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक जुटाउन सकेनन् ।
च्यालेन्जर्सकाबाबर हायात र पुनीत मेहराले खाता खोल्न सकेनन् भने भिम शार्की, बसन्त रेग्मी मात्र एक एक रनमा आउट भए । यसतै कृष्ण कार्की दुई रनमा पेभेलियन फर्किए । उसका विक्रम सोब १४ रनमा बाहिरीए ।
रुपन्देहीलाई कम स्कोरमा रोक्न सन्नी पटेल, भुवन कार्की र दिपेन्द्र रावतले दुई दुई विकेट लिए ।
यो खेलको नतिजासंगै सीवाईसी अत्तरियाले दुई खेलमा विजय हासिल गरेको छ भने रुपन्देही च्यालेन्जर्सले पहिलो हार खेपेको छ ।



















