भुवनेश्वर(उडिसा,भारत),३ फागुन । भारतको उडिसामा सञ्चालन भइरहेको हिरो कप महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाली टोली म्यानमारसंग १ का विरुद्ध ३ गोलले पराजित भएको छ।
लिग चरणमापनि नेपाल म्यानमारसंग ० का विरुद्ध ३ गोलले पराजित भएको थियो।
म्यानमारसंग लिग चरणको खेल हारपछि निकै राम्रो पुनरागमन गर्दै नेपालले भारत र इरानलाई पराजित गरेर फाइनलमा पुगेको थियो।
जसका कारण लिग चरणमा भोगेको हारको बदला लिंदै नेपालले उपाधी जित्न सक्छ भन्ने आशा कतिपयले गरेको देखिन्थे।
म्यानमार फिफा वरीयतामा ४४ औं स्थानमा छ भने नेपाल १०८ औ स्थानमा।
यसअघि ओलम्पिक अन्तर्गतको एसिया छनोटमा नेपालले म्यानमारसँग १-१ गोलको बराबरी खेलेको थियो ।
अग्रता

अग्रपंक्तिकी खेलाडी सावित्रा भण्डारी प्रतियोगिताको उच्च गोलकर्ताको पुरस्कार जितिन्।
म्यानमारले खेलको ३५ औं मिनेटमा अग्रता बनाएको थियो। यी यी ओले उक्त गोल गरेकी हुन्।
तर मध्यान्तर अगाडि नै नेपालले गोल फर्काएर खेललाई १ -१ गोलको प्रतिस्पर्धात्मक स्थितिमा राख्यो।
मध्यान्तर हुनै लाग्दाको इन्ज्युरी समयमा मञ्जली योञ्जनले बराबरी गोल गरेकी हुन्।
तर नेपाली पोष्टमा निरन्तर दवाव दिइरहेको म्यानमारले मध्यान्तरपछि पुन: अग्रता लियो।
५३ औं मिनेटमा वीन थिइङगी टुनले गोल गरिन्।
त्यसको १० मिनेटपछि ६३ औं मिनेटमा यी यी ओले नेपाली पोष्टमा गोल थपिन्।
खेलमा फर्किने नेपाली खेलाडीहरुको प्रयास भने सफल हुन सकेन।
अर्को महिना नेपालको विराटनगरमा हुने महिला साफ च्याम्पियनसिपको तयारीको निम्ति भन्दै नेपालले यो प्रतियोगितामा सहभागिता जनाएको थियो।


















