धनगढी(कैलाली), ६ फागुन । धनगढी प्रिमियर लिगको तेस्रो संस्करणमा घरेलु टिम धनगढी स्टार्स कुनै पनि खेल नजतिकन लिग चरणबाटै बाहिरिएको छ । सोमबार भएको लिगको अन्तिम खेलमा धनगढी स्टार्स रुपन्देही च्यालेञ्जर्ससँग ३९ रनले पराजित भयो ।
हुस्सु र खराब मौसमको कारण १५ ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले ८ विकेट गुमाउँदै १ सय ६ रन जोडेको थियो ।
खाता खोल्ने वित्तिकै बनाउदा पहिलो विकेट गुमाएको रुपन्देहीकालागि सुमित महर्जनले ३३, विनोद भण्डारीले २४ तथा बाबर हायातले १९ रन बनाउदा बाँकि खेलाडीले राम्रो खेल्न सकेनन् । चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।
बलिङमा धनगढीका पवन सराफ, सोमपाल कामी र विपीन खत्रीले दुई दुई विकेट लिए ।
१ सय ७ रनको लक्ष्या पाएको धनगढी १३ ओभर ५ बलमा सबै विकेट गुमाउदै ६७ रनमा अलआउट भयो ।
१५ रन हुँदा पहिलो विकेट गुमाएको धनगढीले १९ रनमा दोस्रो विकेट खेर फाल्यो । धनगढीको पारीलाई सम्हालन आएका सोमपाल कामी ११ रनमा आउट भए भने रोहन मुस्तफा दुई रनमा पेभेलियन फर्किए ।
यस्तै सुनील धमलापनि मात्र चार रनमा आउट हुँदा उसले २० रनमा तेस्रो विकेट गुमायो । त्यसपछि ३९ रन हुँदा धनगढीको चौथो विकेट झ्यो । सन्दिप रजाइली मात्र १० रनमा आउट भए । त्यसपछि उसकालागि पवन सराफले १५ रन रनमा आउट हुँदा उसको अवस्था ५२ रनमा सात विकेट थियो । उसका राजु रिजाल ५, हरी चौहान मात्र एक, अमिर हायात आठ र बिपीन खत्रीले खाता खोल्न सकेनन् । अन्तत धनगढी मात्र ६७ रनमा अलआउट भयो ।
बलिङमा रुपन्देहीका ललित भण्डारीले तीन विकेट लिए भने विक्रम सोबले दुई विकेट हात पारे ।
यो खेलको परिणामसंगै धनगढी स्टार्सको डीपीएल यात्रा सकिएको छ भने रुपन्देही च्यालेन्जर्स प्लेअफमा पुग्ने सफलता पाएको छ ।








