Prakash Adhikari February 24, 2019

रियाद(साउदी अरेविया),१२ फागुन(बीबीसी) । साउदी अरेबियाकी राजकुमारी रिमा बिन्त बन्दर अल-साउद अमेरिकाका लागि साउदी राजदूत हुने भएकी छन्।

उनी साउदी अरेबियाबाट राजदूतको जिम्मेवारी पाउने पहिलो महिला बन्नेछिन्।

शनिवार उनको नियुक्तिको खबर शाही आदेशमार्फत् सार्वजनिक गरिएको हो।

राजकुमारी रिमाले आफ्नो बाल्यकालको केही समय वाशिङ्टन डिसीमै बिताएकी थिइन्।

आलोचना

साउदी पत्रकार जमाल खशोग्जीको हत्यालाई लिएर अन्तर्राष्ट्रिय रूपमा उठिरहेको आवाजलाई मत्थर पार्न कोशिश गरिरहँदाको कठिन समयमा उनले यो भूमिका लिँदैछिन्।

खशोग्जी हत्याबारे विवादास्पद विवरण दिँदै आएको साउदी अरेबियाले अन्तत: खशोग्जी गत वर्ष इस्तानबुलस्थित वाणिज्य दूतावासमा प्रवेश गरेपछि उनको हत्या भएको भनी स्वीकार गरेको थियो।

हत्या हुनुअघि पत्रकार खशोग्जी वाशिङ्टन पोष्ट पत्रिकाका लागि स्तम्भकार थिए र त्यहाँ उनले साउदी सरकारको आलोचना गरेर लेख्ने गर्थे।

उक्त हत्यामा युवराज मोहम्मद बिन सलमानको कुनै किसिमको संलग्नता थियो भन्ने विषयमा साउदी अरेबियाले अस्वीकार गर्दै आएको छ।

राष्ट्रपति ट्रम्प र मोहम्मद बिन सलमान
अमेरिकी गुप्तचर समुदायले चाहिँ साउदी युवराजको संलग्नता रहेको भन्नेमा शङ्का व्यक्त गरेको थियो।

अमेरिकी सांसदहरूले उक्त विषयमा थप अनुसन्धानका लागि ह्वाइट हाउसलाई दबाव दिन प्रयास गरेका छन्।

‘बाबुकै बाटोमा’
साउदी राजकुमारी रिमाले आफ्ना भाइ युवराज खालिद बिन सलमानले निर्वाह गर्दै आएको राजदूतको भूमिका अब आफूले निभाउन लागेकी हुन्।

युवराज खालिद भने देशको उपरक्षामन्त्रीमा नियुक्त भएका छन्।

राजकुमारी रिमाले अमेरिकाका लागि साउदी राजदूतको भूमिका निर्वाह गरेर आफ्ना बुवा बन्दर बिन सुल्तान अल साउदकै पदचाप पच्छाउन लागेकी छन्।

उनका बुवा सन् १९८३ देखि २००५ सम्म अमेरिकाका लागि राजदूत थिए। उनी राजदूत भएका कारण रिमाले आफ्नो हुर्किँदो उमेर अमेरिकामै बिताइन्।

उनले सङ्ग्रहालयसम्बन्धी विषयमा स्नातक पनि जर्ज वाशिङ्टन विश्वविद्यालयबाटै गरेकी हुन्।

सन् २००५ मा रियाद फर्किएपछि राजकुमारी रिमाले सरकारी र निजी दुवै क्षेत्रमा काम गरिन्।

Share Now

Leave a comment.