
इस्लामावाद(पाकिस्तान), १६ फागुन(बीबीसी) । भारतीय हवाई फौजका पाइलट अभिनन्दन वर्तमानलाई पक्राउ गरिएको विषयमा नाटकीय नयाँ विवरणहरू आएका छन्।
होरान गाउँका मानिसहरूले ती पाइलटलाई पक्राउ गर्नुअघि ढुंगा हानेको प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएका छन्।
बुधबार पाकिस्तान र भारतका युद्धविमानहरूको लडाइ भएपछि पाकिस्तान प्रशासित कश्मीरमा गोली हानेर विमानलाई खसालिएको थियो।
पाकिस्तानले पाइलटलाई शुक्रवार रिहा गर्ने जनाएको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले उक्त निर्णय संसदमा भाषण गरेपछि सार्वजनिक गरेका हुन्।
उनले संसदमा युद्धलाई मत्थर पार्नतर्फ पाकिस्तान केन्द्रित भएको बताएका थिए।
कसरी खस्यो विमान?
यो महिनाको सुरुमा भारतीय सुरक्षा फौजमाथि हमला भएपछि भारतले मंगलवार लडाकु शिविरहरूमा हानेको थियो।
पाकिस्तानले भने बुधवार भारतले गरेको हवाई हमलाको प्रतिरोध गर्नुको विकल्प आफूसँग नभएको जनाएको छ।
होरान गाउँका प्रमुखले बुधवारको नाटकीय हमलाबारे बीबीसीसँगको अन्तर्वार्तामा बोलेका छन्।
“मेरो उद्देश्य पाइलटलाई जिवितै पक्राउ गर्नुथियो। मैले उनको प्यारासुटमा भारतको झण्डा देखेर उनी भारतीय हुन् भन्ने थाहा पाएको थिएँ,” मोहम्मद रजाक चौधरीले भने।
५८ वर्षीया चौधरीले आफूले एमआइजी-२१ लडाकु विमानमा बन्दुक लागेको र जमिनमा खस्दै गर्दा बुधबार बिहान देखेको बताएका छन्।
उनले अरू गाउँले जस्तै आफू पनि उक्त क्षेत्रमा हतारिएर पुगेको बताए।
“मलाई डर लागेको थियो या त उसले हामीलाई नोक्सान पुर्याउला वा गाउँलेले उसलाई नोक्सान पुर्याउलान्,” चौधरीले भने।
चौधरी पाकिस्तानका प्रधानमन्त्री इमराज खानको पीटिआई पार्टीसँग आवद्ध छन्।
लखेटे गाउँलेले
उनले आफू उक्त क्षेत्रमा पुग्दा पाइलटले केही गाउँलेहरूलाई आफू भारतीय भूमिमा अवतरण भएको हो भनी सोधेका थिए।
र, गाउँलेहरूमध्ये एकजना बालकले ‘हो’ भनी छिट्टै जवाफ दिएका थिए।
“ती पाइलटले आफ्नो प्यारासुट खोले र राष्ट्रियप्रेमका नाराहरू उचाले तर उनको नजिकै रहेका एकजना बालकले ‘पाकिस्तान अमर रहोस्’ भनेका थिए। त्यही बेला पाइलटले आफ्नो बन्दुक झिके र तर्साउनका लागि हावामा बन्दुक पड्काए।”
तर त्यसले वरपर रहेका मानिसहरूलाई आक्रामक बनाएको चौधरीले बताए।
उनका अनुसार ती मानिसहरूले वरपरका ढुङ्गा उचाले र हाने।
त्यसपछि उनी हावामा बन्दुक पड्काउँदै भागेको चौधरीले बताए।
“केटाहरूले एउटा खोल्सामा उनी नखस्दासम्म पच्छाए र हतियार भएका एकजना मेरा भतिजले उनलाई खुट्टामा गोली हाने,” चौधरीले भने।
“मेरा एकजना भतिजले उनलाई आफ्नो बन्दुक राख्न भने र उनले त्यसै गरे। त्यसपछि अर्को कसैले उनलाई समाते र उनीसँग यदि कुनै अरू हतियार थियो भने त्यसको प्रयोगलाई पनि रोके।”
त्यसपछि ती पाइलटले आफ्नो खल्तीबाट केही कागजहरू झिकेर त्यसलाई नष्ट गर्न आफ्नो मुखमा हालेका थिए। तर गाउँलेहरूले उनीबाट केही कागजहरू थुत्न सके र पछि उनीहरूले ती कागज सेनालाई दिए।
“हाम्रा केटाहरू धेरै रिसाएका थिए र उनलाई झापड र मुक्का हान्न नजिक जान खोजेका थिए। तर केहीले भने त्यसरी आक्रामक रुपमा प्रस्तुत हुनेहरूलाई रोक्न कोशिश गरेका थिए। मैले पनि सेनाका अधिकारीहरू नआउँदासम्म ती पाइलटलाई नकुट्न उनीहरूलाई भनेँ।”
बुधवार विहान विवादास्पद कश्मीरमा भएको लडाइपछि भारतले सुरुमा पाकिस्तानले आफूले एकजना पाइलटलाई पक्राउ गरेको दाबी गरेको भनाइसँग बाझ्ने गरी आफ्ना सबै पाइलटहरू आफूसँगै रहेको जनाएको थियो।
तर पाकिस्तानका सूचना मन्त्रीले आँखामा पट्टी लगाएका र अनुहारमा रगत देखिएका पाइलटको भिडिओ सार्वजनिक गरेका थिए। पछि उनले उक्त भिडिओ हटाए।
त्यसपछिको अर्को भिडिओ सामग्रीमा उक्त समूहका कमाण्डर अभिनन्दनले चिया पिउँदै गरेको देख्न सकिन्थ्यो।
उनले आफूलाई पाकिस्तानी अधिकारीहरूले राम्रो व्यवहार गरिरहेको बताएका थिए।
उनलाई पक्राउ गरिएको विषय भारतका लागि एउटा ठूलो धक्का भएको रुपमा हेरिएको छ।
संवाददाताहरूले भनेका छन्, पाकिस्तानमाथि कूटनीतिक दबाब निरन्तर रुपमा आइरहँदा ती पाइलटलाई छिट्टै भारतीय हिरासतमा लैजान दिइने अनुमान गरिएको छ।
बिहीवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई देशलाई शान्ती कायम गर्न आह्वान गर्ने पहिलो विश्व नेता बनेका थिए।
भारत र पाकिस्तान दुवैले आफूले युद्ध नचाहेको बताएका छन्।
अभिनन्दन वर्तमान को हुन्?
भारतले आफ्नो वायुसेनाका पाइलट अभिनन्दनलाई सुरक्षित फिर्ता गर्न पाकिस्तानालाई आग्रह गरेको छ।
ती पाइलट भारतीय वायु विङ कमान्डर अभिनन्दन वर्तमान हुन्। उनले बुधवार बिहान लडाकु विमान मिग २१ उडाएका थिए।
भारतले पनि आफ्नो वायुसेनाले पाकिस्तानको लडाकु विमान एफ-१६ खसालेको दाबी गरेको छ।
तर पाकिस्तानले त्यो कुरा अस्वीकार गरेको छ।
अभिनन्दन अवस्था
अभिनन्दनले बुधवार बिहान उडाएको मिग २१ विमान पाकिस्तानी वायुसेनाले खसालिदियो र उनलाई आफ्नो नियन्त्रणका लियो।
पाकिस्तानी सेनाले अभिनन्दन आफूसँग सकुशल रहेको बताएको छ। उसले अभिनन्दनको एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेको छ।
पाकिस्तानबाट पहिले सार्वजनिक गरिएको भिडिओमा अभिनन्दनको अनुहारमा रगत पोतिएको र उनी घाइते अवस्थामा देखिन्छन्।
एउटा भिडिओमा अभिनन्दनलाई केही मानिसले पिटिरहेको देखिन्छ। अर्को भिडिओमा अभिनन्दनको आँखामा पट्टी बाँधिएको छ।
त्यसमा उनले भनेका छन्, “मेरो नाम विङ कमान्डर अभिनन्दन हो। मेरो सेवा नम्बर २७९८१ हो। म विमान चालक र हिन्दू हुँ।”
अर्को भिडिओ पनि सार्वजनिक भएको छ। जसमा अभिनन्दनले चिया वा कफी पिइरहेको देखिन्छ।
त्यसमा कसैले प्रश्न सोधिरहेको र उनले उत्तर दिइरहेका छन्। अभिनन्दनले त्यस भिडिओमा आफूसँग निकै राम्रो व्यवहार भइरहेको र यदि भारत फर्किए भने पनि त्यही कुरा भन्ने बताएका छन्।
तीव्र प्रतिक्रिया
त्यस भिडिओमा अभिनन्दनले आफूलाई दक्षिण भारतको बासिन्दा भनेका छन्।
आफ्नो वैवाहिक स्थितिबारे सोध्दा उनले आफू विवाहित भएको बताएका छन्।
PM Modi must suspend his political activities until #WingCommanderAbhinandan is returned safely. It can’t be business as usual with him cross crossing the country at tax payer expense making political speeches while our pilot is a Pakistani captive.
— Omar Abdullah (@OmarAbdullah) February 27, 2019
अभिनन्दनका बुवा पनि वायुसेनामै थिए। भाइ पनि वायुसेवामै छन्।
अभिनन्दनले सन् २००४ मा वायुसेवामा सेवा थालेका हुन्।
उनी पाकिस्तानको कब्जामा परेको समाचार आएपछि भारतीय प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रिया व्यक्त गरेका छन्।
कांग्रेस प्रमुख राहुल गान्धीले अभिनन्दन सुरक्षित फिर्ता हुने आशा व्यक्त गरेका छन्।
🇮🇳 I’m sorry to hear that one of our brave IAF pilots is missing. I hope he will return home soon, unharmed. We stand by our armed forces in these difficult times. 🇮🇳
— Rahul Gandhi (@RahulGandhi) February 27, 2019
जम्मू-कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन स्वदेश नआएसम्मका निम्ति सबै राजनीतिक कार्यक्रम रद्द गर्न आग्रह गरेका छन्।